Hamro Sanchar

बालबालिका केन्द्रित सार्वजनिक बजेट बिश्लेषण तथा बजेट पैरवी सम्बन्धि अभिमुखीकरण सम्पन्न

डिजिटल संचार संवाददाता प्रकाशित : २०७९/८/१९ गते
जाजरकोट

भेरी नगरपालिकामा बालबालिका केन्द्रित सार्वजनिक बजेट बिश्लेषण तथा बजेट पैरबी सम्बन्धि अभिमुखीकरण सम्पन्न भएको छ । नगरपालिकाका जनप्रतिनीधि, कर्मचारी र सरोकारवालाहरुलाई सोमबार बालबालिका केन्द्रित सार्वजनिक बजेट बिश्लेषण तथा बजेट पैरबी सम्बन्धि अभिमुखीकरण गरिएको हो ।

भेरी नगरपालिका, सेभ द चिल्ड्रेन र पहाडी क्षेत्र विकास अभियान जाजरकोटको संयुक्त आयोजनामा आयोजित अभिमुखीकरण कार्यक्रमले नगरपालिकाको आगामी बजेट तर्जुमामा बालबालिका केन्द्रित गर्न सहयोग पुग्ने अपेक्षा राखिएको छ । अभिमुखीकरण कार्यक्रमका सहजकर्ता तथा नागरिक समाज जाजरकोटका संयोजक राजेन्द्र विक्रम शाहले मानव जीवनको कोखशास्त्र देखि जीवन प्रयत्नसम्मका विषयमा छलफल चलाएका थिए ।

बाल अधिकारका चार पिल्लरका सिद्धान्तका रुपमा बाल अधिकारका राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानुनहरुले गरेको व्यवस्थाका विषयमा सहजकर्ता शाहले चर्चा गरेका थिए । बालबालिका केन्द्रित सार्वजनिक बजेट बिश्लेषणले २०८१ सालमा भेरी नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्न बनाईएका नीति तथा रणनीतिलाई मद्दत पुग्ने शाहले विश्वास व्यक्त गरेका थिए ।

उक्त अभिमुखीकरण कार्यक्रम जनप्रतिनीधि र कर्मचारीहरुलाई जानकारीमुलक सन्देश दिन आयोजना गरिएको सेभ द चिल्ड्रेन र पहाडी क्षेत्र विकास अभियानका प्रतिनीधिले भनाई राखेका थिए । अभिमुखीकरण पश्चात तत्कालै सेभ द चिल्ड्रेन र पहाडी क्षेत्र विकास अभियानले भेरी नगरपालिकाका विषयगत र आन्तरिक शाखाहरुसंगको सहकार्यमा निश्चित सुचकहरुमा रहेर बालबालिका केन्द्रित सार्वजनिक बजेट बिश्लेषण गर्ने कार्यक्रम रहेको जानकारी दिएका थिए ।

बालमैत्री नगरपालिका घोषणा अभियानलाई अगाडी बढाई रहेको भेरी नगरपालिकाका लागि उक्त कार्यक्रम निकै महत्वपूर्ण कार्यक्रम रहेको भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकास घर्तीले भनाई राखेका थिए । नगर प्रमुखको अध्यक्षतामा आयोजित कार्यक्रममा आफ्नो भनाई राख्दै घर्तीले बालबालिका केन्द्रित सार्वजनिक बजेट बिश्लेषणले आगामी बर्षको बजेट तर्जुमा गर्दा बालबालिका, महिला, दलित, अपाङ्गता र जेष्ठ नागरिकमैत्री बनाउन मद्दत पुग्ने भनाई राखेका थिए ।

प्रतिकृया दिनुहोस्