Hamro Sanchar

जीप दुर्घटनाका १२ जना मृतकप्रति श्रद्धान्जली व्यक्त गर्दै छेडागाड–५ ले निकाल्यो शोक वक्तव्य

सडक दुर्घटनाको रोकथाम, गाडी चेकजाँच गर्न स्थानीय प्रशासनसंग माग

डिजिटल संचार संवाददाता प्रकाशित : २०७९/८/२७ गते

जीप दुर्घटनामा ज्यान गुमाएका १२ जनाप्रति छेडागाड नगरपालिकाको – ५ नम्बर वडाले शोक बक्तव्य जारी गरेको छ । मंगलबार एक शोक बक्तव्य जारी गर्दै ५ नम्बर वडाले जीप दुर्घटनामा परी ज्यान गुमाउने १२ जनाप्रति श्रद्धान्जली अर्पण गरेको छ ।

वडा अध्यक्ष पूर्ण बहादुर शाहीद्धारा जारी गरिएको शोक वक्तव्यमा भनिएको छ–‘कहाली लाग्दो दुर्घटनाबाट १२ जनाको असामयिक निधनले स्तब्ध र भावविव्हल बनाएको छ । यस दुखद दुर्घटनाबाट ज्यान गुमाउने सवै मृतआत्माहरुको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति गहिरो सम्वेदना प्रकट गर्दछौं ।’

‘आगामी दिनमा यस प्रकारका सडक दुर्घटनाको रोकथाम गर्न गाडीको चेकजाँच लगाएत अन्य आबश्यक सुरक्षा सर्तकता अबलम्बन गर्ने व्यवस्था गर्न स्थानीय प्रशासनसंग जोडदार माग गर्दछौं ।’ जारी गरिएको शोक बक्तव्यमा भनिएको छ ।

सोमबार छेडागाड नगरपालिका–४ र ५ को सिमाना स्थित भीरबाटीमा सोमबार कर्णाली प्रदेश ०२००१ च ०४२९ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको थियो । बिरामी बोकेर उपचारको लागि थलह स्थित नगर अस्पताल तर्फ जादै गर्दा उक्त जीप भीरबाटीमा दुर्घटनामा परेको हो । उक्त जीप सडकबाट झण्डै २०० मिटर तल खसेको थियो । उक्त दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा छेडागाड नगरपालिका–५ का जैकुरा वुढा, नैनसरा अधिकारी, राम बहादुर बुढा, निशा अधिकारी, दिपक अधिकारी, देवीसरा बुढा, अमर अधिकारी र जयमान अधिकारी रहेका छन भने, छेडागाड–६ का बीर बहादुर खत्री रहेका छन् । त्यसैगरी गाडी चालक दैलेख भगवतिमाई गाउँपालिका–२ का मान बहादुर रावत, सोही गाउँपालिका–३ का बीरेन्द्र केसी र अमर बहादुर खड्का सहित १२ जनाले उक्त दुर्घटनाबाट ज्यान गुमाएका छन् । १२ जना मध्ये ९ जनाको घटना स्थलमै मृत्यु भएको थियो भने, उपचारका लागि नेपालगञ्ज, सुर्खेत तर्फ लिदै गर्दा बाटोमा ३ जनाले ज्यान गुमाएका थिए ।

प्रतिकृया दिनुहोस्