आज : २०८१ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

जाजरकोटमा सोमबार २ जना कोरोना मुक्त, १२ जनालाई पुष्टी, संक्रमितको संख्या पुग्यो २०९

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/१/२१ गते
जाजरकोट

जाजरकोट जिल्लाका बिभिन्न ठाउँमा सोमबार गरिएको परिक्षणबाट १२ जनालाई कोरोना पुष्टी भएको छ भने, २ जना कोरोना मुक्त भएका छन् । कोरोना भाइरसको दोस्रो लहर चले पश्चात जिल्लामा संक्रमितहरुको संख्या २ सय ९ जना पुगेको छ भने, कोरोना मुक्त हुनेको संख्या तीन पुगेको छ ।

भेरी नगरपालिकाको स्वास्थ्य शाखाले सोमबार जिल्ला सदरमुकामको शान्तिचौतारामा २६ जनालाई गरिएको परिक्षणबाट ७ जनालाई कोरोना पुष्टी भएको नगर स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्य सहायक यज्ञ गौतमले जानकारी दिएका छन् । गौतमले दिएको जानकारी अनुसार कोरोना संक्रमित २ जनालाई सोमबार गरिएको परिक्षणबाट कोरोना मुक्त पुष्टी भएको छ । त्यसैगरी जुनीचाँदे गाउँपालिकामा सोमबार २२ जनालाई गरिएको परिक्षणबाट २ जना पुरुषलाई कोरोना पुष्टी भएको पत्रकार रेशम खड्काले जानकारी दिएका छन् । पत्रकार खड्काले दिएको जानकारी अनुसार कोरोना पुष्टी भएका २ जनामध्ये १ जना स्वास्थ्यकर्मी र एक जना कार्यालयका कर्मचारी रहेका छन् ।

त्यसैगरी बारेकोट गाउँपालिकाको लिम्सामा सोमबार ३ जनालाई गरिएको परिक्षणबाट २ जनालाई कोरोना पुष्टी भएको प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा कार्यरत अनमी कल्पना रोकाय (घर्ती) ले जानकारी दिएकी छन् । त्यसैगरी छेडागाड नगरपालिकाको मनघाटमा सोमबार १ जनालाई गरिएको परिक्षणबाट १ जनालाई नै कोरोना पुष्टी भएको छेडागाड नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत झलक खत्रीले जानकारी दिएका छन् । जिल्लाका विभिन्न ठाउँमा ५२ जनालाई गरिएको परिक्षणबाट १२ जनालाई कोरोना पुष्टी भएको छ भने, यो भन्दा अगाडी एक जना र सोमबार २ जनागरी जिल्लामा तीन कोरोना मुक्त भएका छन् ।

भेरी नगरपालिकाको स्वास्थ्य शाखाले रानागाउँमा स्थापना गरेको १४ वेडको आईशोलेसनमा ९ जना बिरामीलाई राखेर उपचार गरिरहेको छ भने, तल्लो थाप्लेमा रहेको शिक्षा श्रोत केन्द्रको भबनमा स्थापना गरिएको १४ बेडको आइशोलेसन बेडमा २ जना बिरामीलाई राखेर उपचार गरिरहेको स्वास्थ्य शाखाका यज्ञ गौतमले जानकारी दिएका छन् । बिरामीहरुको अबस्था हेरेर नगरपालिकाले स्थापना गरेको आइशोलेसनमा राखेर उपचार गर्ने, जटिल प्रकृतिका विरामीहरुलाई अस्पतालको आइशोलेसनमा राखेर उपचार गर्ने व्यवस्था गरिएको पनि गौतमले जानकारी दिएका छन् ।

कोरोना पष्टी भएका तर, सामान्य अबस्थाका बिरामीहरुलाई होम आइशोलेसनमा राखेर उपचार गर्ने नगर स्वास्थ्य शाखाले व्यवस्था गरेको गौतमले बताएका छन् । नगरपालिका भित्र रहेका ६ वटा स्वास्थ्य चौकी र १३ वटै सामुदायिक स्वास्थ्य केन्द्रमा नगर स्वास्थ्य शाखाले आधारभुत औषधीको व्यवस्था गर्नुको साथै बिरामीहरुलाई उपचार गर्ने जनशक्तिको व्यवस्थापन गरिएको गौतमले जानकारी दिएका छन् । होम आइशोलेसनमा राखिएका अधिकांश संक्रमित विरामीहरुको स्वास्थ्य सुधार उन्मुख रहेको गौतमले जानकारी दिएका छन् । दैनिक संक्रमितहरुको संख्या बढ्दै गएपनि कोरोना मुक्त हुने विरामीहरुको संख्या पनि दैनिक रुपमा बढ्दै जानेमा विश्वास पैदा भएको गौतमले बताएका छन् ।

अस्पतालको आइशोलेसनमा ७ जना बिरामीलाई राखेर उपचार भईरहेको जिल्ला अस्पताल जाजरकोटले जनाएको छ । भेरी नगर स्वास्थ्य शाखाले मंगलबार कुदु र फेरामा कोरोना परिक्षण गर्ने कार्यक्रम राखेको जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्