आज : २०८१ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

भरपर्दो टेलिफोन सेवा नहुदा जिल्लामा कारोना संक्रमणको रिपोर्ट संकलन गर्न कठिनाई

जाजरकोट जिल्लामा कोरोना संक्रमितको संख्या २४१

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/१/२२ गते

कोभिड–१९ को नयाँ भेरिएन्ट सहितको दोस्रो लहर चलेपछि जिल्लामा संक्रमित विरामीहरुको संख्या दैनिक तीन दर्जन भन्दा बढि बिरामीहरु थपिन थालेका छन् । सिमित साधन स्रोत र जनशक्तिका आधारमा गरिएको पहिचानबाट दैनिक तीन दर्जन भन्दा बढि बिरामीहरुको संख्या थपिन थालेको हो ।

विश्वलाई प्रभावित बनाई रहेको कोरोना भाइरसको सन्त्रासले जिल्ला नै भयबित भएको छ । तिव्र गतिमा फैलिदै गएको कोरोना भाईरसको संक्रमणलाई रोकथाम, नियन्त्रण तथा उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई दैनिक रिर्पोटिङ्ग गर्न पनि कठिनाई भईरहेको छ । जिल्लामा भरपर्दो टेलिफोन सेवा नहुदा कोरोना भाईरसको संक्रमणलाई रोकथाम, नियन्त्रण तथा उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र नेपाल प्रहरीलाई दैनिक रिर्पोटिङ्ग गर्न कठिनाई भएको हो ।

नेपाल टेलिकमले दिदै आएको नमस्ते र स्काई सेवा जिल्ला सदरमुकाम खलंगा भित्रै प्रभावकारी हुन नसकेकोमा प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटा पनि सहमत छन् । आफ्नो निबास मै नेपाल टेलिकमको नमस्तेले काम नगर्ने प्रजिअ देवकोटाले बताए । निबासमा हुदा टेलिफोन गर्न कोठा भन्दा बाहिर आउनुपर्ने अबस्था रहेको प्रजिअ देवकोटाको भनाई रहेको छ ।

जिल्ला सदरमुकाको तल्लो थाप्ले, जिल्ला अस्पताल रहेको स्थानतिर नेपाल टेलिकमको नमस्ते सेवाले काम नगरेको स्वास्थ्य सेवा कार्यालयमा कार्यरत कर्मचारीहरुको भनाई रहेको छ । फोन गर्न र ईन्टरनेट सेवा संचालन गर्नका लागि आफुहरुले एनसेलको सीम प्रयोग गर्ने गरेको स्वास्थ्य सेवा कार्यालयका कर्मचारीहरुले बताउने गरेका छन् । एनसेलले पनि जिल्ला सदरमुकाम र नलगाडको वडा नं. १ बाहेक अन्य ठाउँमा सेवा बिस्तार गर्न सकेको छैन ।

नेपाल सरकारले “हात–हातमा मोवाईल र घर–घरमा ईन्टरनेट” को संचार नीति अघि सारेको समय झण्डै १४ बर्ष पुरा हुन थालेको छ । तर, जाजरकोट जिल्लाको अबस्था गाउँमा कुनै मान्छे म¥यो भने, कसैको बिबाह र सामाजिक कामको लागि खबर गर्नु प¥यो भने, जानकारी दिनलाई बाजा बजाउनु पर्ने, घर–घरमै पुगेर कटुवाले खबर गर्नुपर्ने अबस्था अझै कायमै छ । कर्णाली प्रदेशलाई डिजिटल प्रदेश घोषणा गर्ने नीति तथा कार्यक्रम कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको पनि तीन बर्ष पुरा भईसकेको छ तर, जाजरकोटमा ईन्टरनेटको त कुरै छोडौं, भरपर्दो टेलफोन सेवा संचालन हुन सकिरहेको छैन । भौगलिक रुपमा विकट, छितरिएको बासोबास गर्दै आएका जाजरकोटका नागरिकहरुले महामारीको बेलामा म बिरामी परे भनेर आफन्त र नजिकको साथि भाईलाई सहज तरिकाले फोन गर्न सक्ने बाताबरण बन्न सकेको छैन ।

शिवालय, जुनीचाँदे र बारेकोट गाउँपालिकामा गत चैत महिनामा नेपाल टेलिकमका तीन वटा टावर जडान भएएका थिए । टु जी र फोर जी सेवा संचालन गर्नेगरी तीन ठाउँमा टावर जडान भएपछि त्यहाँका जनप्रतिनीधि र सर्वसाधारण नागरिकहरु खुशीले गदगद भएका थिए । टावर जडानको सबै काम सम्पन्न भएपछि फोटो खिचेर फेसबुकको वालमा नसजाउने र खुशी व्यक्त नगर्ने कोही पनि थिएन । तर, अहिले उक्त टाउरका नेटवर्कले काम नगरेपछि जिल्लाका सबै पालिकाहरुबाट कोभिड–१९ को दैनिक रिर्पोट संकलन गर्न कठिनाई भईरहेको स्वास्थ्य सेवा कार्यालय, जाजरकोटका महामारी फोकलपर्सन कृष्ण कृसीले बताए ।

नेपाल टेलिकम जाजरकोट शाखा प्रमुख गोपेन्द्रलाई उदृत गर्दै प्रजिअ देवकोटाले जिल्लामा हाल जुन सामर्थेमा संचालनमा रहेको टेलिफोन सेवालाई अबको ५ दिनभित्रै सोही सामर्थे अनुसारको टेलिफोन सेवा बिस्तार गरिने बताए । शाखा प्रमुख गोपेन्द्रको मोबाइल नम्बर ९८५८०२४९९९ मा हामीले टेलिफोन सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

जिल्लाका विभिन्न ठाउँमा हाल संचालनमा रहेका सबै साईटहरु संचालनमा रहेको नेपाल टेलिकम, जाजरकोटमा प्राविधिक प्रमुख शिव खनालले जानकारी दिए । उनले दिएको जानकारी अनुसार दुई दिनदेखि मच्छाईनाको सल्लीभीरमा रहेको टावरमा खराबी आएको तर, आजनै त्यसलाई सुधार गरि संचालनमा ल्याईने प्राविधिक प्रमुख खनालले बताए । रुकुमको घेत्मामा रहेको टावरमा आएको खराबीले बारेकोटको नायकबाडामा रहेको टावरले काम नगरेको बताउदै खनालले घेत्माको टावरमा फेर्नुपर्ने सामान भोलीनै फेरेर नायकबाडाको टावरलाई संचालनमा ल्याउने विश्वास दिलाए । कुशे गाउँपालिका–८ लाँताचुलीमा रहेको स्काई टावरमा लामो समय देखि खराबी आएर संचालनमा आउन नसकेको प्राविधिक प्रमुख खनालले स्वीकार गरेका छन् । उक्त स्काई टावरमा नमस्तेको सामान जडान गरेर सेवा संचालन गर्नमा आफुहरु लागि परेको तर, कोभिड–१९ को प्रभावले ढिलाई हुन गएको खनालले बताए । ढिमेमा नमस्तेको फोर जी टावर बनिसकेको र केही सामान आउन बाँकी रहेको जानकारी दिदै प्राविधिक प्रमुख खनालले केही दिनमै सामान ल्याउनुको साथै जडान गरेर फोर जी सेवा संचालन गरिने बताए ।

जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ४१
कोभिड–१९ को नयाँ भेरिएन्ट सहितको दोस्रो लहरमा जाजरकोट जिल्लामा संक्रमितको संख्या २ सय ४१ पुगेको छ । मंगलबार जिल्ला अस्पताल, भेरी नगरपालिका र कुशे गाउँपालिकामा गरिएको परिक्षणबाट ३२ जनालाई कोरोना पुष्टी भएपछि जिल्लामा संक्रमितको संख्या २ सय ४१ पुगेको हो । १ सय ३० जनालाई गरिएको परिक्षणबाट मंगलबार ३२ जनालाई कोरोना पुष्टी भएको थियो ।

जिल्लाभरी ७ सय ६९ जनालाई गरिएको परिक्षणबाट २ सय ४१ जनालाई कोरोना पुष्टी भएको महामारी फोकलपर्सन खत्रीले जानकारी दिएका छन् । खत्रीले दिएको जानकारी अनुसार मंगलबार जिल्ला अस्पतालमा २१ जनालाई गरिएको परिक्षबाट ९ जनालाई कोरोना पुष्टी भएको छ भने, भेरी नगरपालिकाको कुदु र फेरामा ६० जनालाई गरिएको परिक्षणबाट २१ जनालाई कोरोना पुष्टी भएको छ । त्यसैगरी कुशे गाउँपालिकाको थर्पुभार्मामा मंगलबार ४९ जनामा गरिएको परिक्षणबाट २ जनालाई कोरोना पुष्टी भएको छ ।

जिल्लामा संक्रमितहरुको संख्या २ सय ४१ पुगेको छ भने, कोरोना सन्चो भएकाको संख्या तीन जना रहेको छ । सक्रिय संक्रमितको संख्या जिल्लामा २ सय ३८ रहेको छ । भेरी नगरपालिकामा परिक्षण गरिएका ३५ प्रतिशत बिरामीहरुलाई कोराना पुष्टी भएको नगर स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्