Hamro Sanchar

बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय उद्घाटन

डिजिटल संचार संवाददाता प्रकाशित : २०८०/४/३ गते
गोरखा

बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय बुधबार उद्घाटन गरिएको छ । गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ घ्याल्चोकस्थित सिउरेनटारमा बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय उद्घाटन गरिएको हो । बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालयको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले गरेका हुन् ।

बुढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण प्रक्रियालाई छिट्टै अगाडी बढाईने प्रधानमन्त्री दाहालले बताएका थिए । बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले केही समयभित्रै आयोजना निर्माणका लागि शिलान्यास गर्ने भनाई राखेका थिए ।

‘निर्माण प्रक्रियाका लागि शिलान्यास गर्न म आफैं आउने कमिटमेन्ट गरेको छु, हरहालतमा निर्माण प्रक्रियामा जान्छ,’ उनले भने, ‘पहिलेजस्तो उद्घाटन शिलान्यास हुने तर काम नहुने भन्ने चिन्ता थियो हिजो उर्जा मन्त्रालयमा पर्याप्त छलफल गरेका छौं, यही पटक निर्माण प्रक्रियाको शिलान्यास र प्रक्रिया अघि बढ्छ भन्ने विश्वासका साथ उपस्थिति भएको छु ।’

‘फिल्ड कार्यालय उद्घाटनका लागि मात्र आएको होइन, आवश्यक पर्ने सबै गृहकार्य गरेर यो परियोजना अघि बढाउने संकल्प उर्जा मन्त्रालयको मात्र नभएर अर्थदेखि अन्य समन्वय र सहकार्य आवश्यक पर्ने कार्यालयसहित आएका छौं ।’

बुढीगण्डकी जलविद्युत् आयोजना महँगो भए पनि बहुउद्देश्यीय परियोजना भएकाले अन्य उद्देश्यबाट नाफामूलक परियोजना बन्ने प्रधानमन्त्री दाहालले भनाई राखेका थिए । ‘विद्युत् उत्पादनको कुरामात्र होइन, पर्यटन, सिँचाइ जस्ता तमाम विषयलाई जोड्दा बहुउद्देश्यीय दीर्घकालीन महत्वको हुन सक्छ, यही निष्कर्षका साथ उपस्थिति भएका छौं,’ प्रधानमन्त्री दहालले भनेका थिए ।

फिल्ड कार्यालय उद्घाटन कार्यक्रममा बुढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय गौरवको आयोजना भएको बताउदै उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेतले यसको निर्माण कार्यलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेको बताएका थिए ।


Tagged
प्रतिकृया दिनुहोस्