शिवालय गाउँपालिकामा केन्द्रिय विद्युत लाइन प्रसारण भएको भएको छ । सवै वडाहरुमा ट्रान्समिटर जडान भएपछि गाउँपालिकामा केन्द्रिय विद्युत लाईन प्रसारण भएको हो ।
प्रसारण भएको केन्द्रिय विद्युत लाइनबाट आगामी चैत महिना भित्रै गाउँपालिकाका सबै घरधुरीमा लाइन वितरण गरिसक्ने लक्ष्य रहेको नेपाल विद्युत प्राधिकरण जाजरकोट वितरण केन्द्रले जनाएको छ । शिवालय वितरण शाखा ईन्चार्ज आनन्दकिशोर शाहले दिएको जानकारी अनुसार शिवालय गाउँपालिका–१ का ७० प्रतिशत घरधुरीमा गत बर्षनै लाइन वितरण भैसकेको छ । केही दिन अगाडी वडा नं. २ को नेपामा ५० केभीको ट्रान्समिटर जडान गरी ४०० घरधुरीमा लाइन वितरण गरिएको छ ।
नेपामा जडान गरिएको उक्त ट्रान्समिटरमा बत्ति बालेर शिवालय गाउँपालिकाका अध्यक्ष शेर बहादुर शाहीले उद्घाटन गरेका थिए । सल्लाको द्यालो बालेर बस्नुपर्ने जमाना पनि रहेको स्मरण गर्दै गाउँपालिकाका अध्यक्ष शाहीले मट्टितेलको टुक्की बाल्नुपर्ने, घरमा पैसा हुनेले सोलार जडान गरेर बत्ति बाल्ने, नहुनेले अध्यारोमा बस्नुपर्ने अबस्थाको अन्त्य भएको भनाई राखेका थिए ।
त्यसैगरी वडा नं. ९ मा ५० केभीको ट्रान्समिटर जडान गरी ३०० घरधुरीमा लाईन वितरण गरिएको छ । वडा नं. ८ मा केही दिन भित्रै १५ केभीको ट्रान्समिटर जडान गरी लाईन वितरण गरिने तयारी भईरहेको शिवालय वितरण शाखाका मिटर रिडर केशव दर्लामीले जानकारी दिएका छन् । दर्लामीले दिएको जानकारी अनुसार वडा नं. ४ र ६ बाहेकका सबै वडामा केन्द्रिय विद्युत लाईन प्रसारण हुनुको साथै लाईन वितरणको काम भईरहेको छ ।