Hamro Sanchar

घुम्ती व्यापारमा व्यस्त छन् दृष्टी सम्बन्धि अपाङ्गता भएका व्यक्ति

प्रकाशित : २०८१/४/६ गते

जाजरकोट
भेरी नगरपालिका–११ धुल्यौटाकी सिता विक पूर्ण दृष्टीविहिन अपाङ्गता हुन् । २२ बर्षकी सिता चाउचाउ, विष्कुट, चक्लेट, कापी, कलम, मोवाइलको रिचार्ज कार्ड, अगरबत्ति, साबुन, सेम्पो लगाएतका सामानहरु लिएर सबैको घरदैलोमा धाउने गरेकी छन् । झोलामा सामान बोकेर सेतो छडिको सहायताले सिता अरुको घरदैलोमा पुग्ने गरेकी छन् । दिनभरको घुम्ती व्यापारबाट आएको नाफाबाट सिताले आफ्नो जीवन निर्वाह गर्ने गरेकी छन् ।

सिता जस्तै भेरी नगरपालिका–११ का निम बहादुर विक, खिमा महतारा, सितला वर, तुल्सी खत्री पनि पूर्ण दृष्टीविहिन हुन् । उनीहरुले पनि सिता जस्तै सेतो छडिको सहायतामा झोलामा सामान बोकेर घुम्ती व्यापार गर्न दिनभर गाउँ चहार्ने गरेका छन् । साँझ परेपछि उनीहरु घर फर्किने गरेका छन् ।

यिनीहरु जस्तै भेरी नगरपालिका–६ की निर्मला हमाल, पिउकली विक, धनसरी विक, पवित्रा पुन, कृष्ण विक पनि घुम्ती व्यापार गर्ने दृष्टीविहिन अपाङ्गता भएका व्यक्ति हुन् । दिभर गरेको व्यापारबाट भएको नाफाले जीवन धान्नुको साथै आफ्ना परिवारका सदस्यहरुलाइ सहयोग गर्दै आएका छन् ।

 

भेरी नगरपालिका–३ की सर्मिला नेपाली, सुस्मा विक, रञ्जना विक, मधे खडका, मोति विक पनि पूर्ण दृष्टीविहिन अपाङ्गता भएका व्यक्ति हुन् । यिनीहरुले पनि दैनिक घुम्ती व्यापार गरेर जीवन निर्वाह गर्ने गरेका छन् ।

दृष्टी सम्बन्धिका अपाङ्गता भएका उक्त व्यक्तिहरुलाइ दृष्टीविहिनहरुको समावेसीकरण र सशक्तिकरण परियोजनाले आर्थिक सहयोग गरेपछि घुम्ती व्यापारमा गर्न थालेका हुन् । गत बर्षको भदौ महिनादेखि भेरी नगरपालिकाका १५ जना दृष्टी सम्बन्धि अपाङ्गता भएका व्यक्तिलाइ परियोजनाले दुइ लाख सहयोग गरेपछि उनीहरु घुम्ती व्यापारमा लागेको परियोजनाको सामाजिक परिचालक झरना रानाले जानकारी दिइन । दृष्टी सम्बन्धि अपाङ्गता भएका बालक–बालिका नवीन नेपाली, ललिता नेपाली र टेक बहादुर शाहीलाइ परियोजनाले सुर्खेत जिल्ला, सिम्ता गाउँपालिकाको राकममा रहेको स्कुलमा पढ्न पठाएको सामाजिक परिचालक रानाले बताइन् ।

सन् २०२२ देखि संचालित समावेसीकरण र सशक्तिकरण परियोजनाले भेरी नगरपालिकाका ४५ जना दृष्टी सम्बन्धिका अपाङ्गता भएका व्यक्तिहरुलाइ सेतो छडि वितरण गर्नुको साथै हिडाइ तथा डुलाइ सम्बन्धिको तालिम दिएको परियोजना सल्लाहकार खेमराज शर्माले जानकारी दिए । परियोजनाले हालसम्म भेरी नगरपालिकामा २४ लाख बजेट खर्च गरिसकेको शर्माले जानकारी दिएका थिए । भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकास घर्तीको अध्यक्षतामा सम्पन्न स्थानीय परियोजना सल्लाहकार समितिको बैठकमा शर्माले दृष्टीविहिनहरुका लागि नेपालको संविधान, ऐन तथा कानुनले गरेको व्यवस्थाका बिषयमा जानकारी गराएका थिए ।

नेपाल नेत्रहीन संघद्धारा संचालित दृष्टीविहिनहरुको समावेसीकरण र सशक्तिकरण परियोजनाले दृष्टीविहिनहरुको पक्षमा विभिन्न कार्यक्रम संचालन गर्दै आएको नेपाल नेत्रहीन संघका महासचिव सिशिर खनालले जानकारी दिए । २०४९ सालमा स्थापना भएको नेपाल नेत्रहीन संघले दृष्टीविहीनहरुका लागि हाल देशका ७ वटै प्रदेशका ५६ वटा जिल्लामा काम गरिरहेको महासचिव खनालले बताए । नेपाल नेत्रहीन संघले दृष्टीविहिनहरुको पक्षमा बहस तथा पैरवी गर्नुको साथै उनीहरुको क्षमता विकास, आयआर्जन तथा स्वरोजगारमुलक काममा जोड दिदै आएको महासचिव खनालले भनाइ राखेका थिए ।


Tagged
प्रतिकृया दिनुहोस्