Hamro Sanchar

लिस्नेगौडी धाराखर्क खानेपानी तथा सरसफाई योजनाको सार्वजनिक जनलेखा परीक्षण

प्रकाशित : २०८१/५/६ गते

जाजरकोट
भेरी नगरपालिका–८ को लिस्नेगौडी धाराखर्क खानेपानी तथा सरसफाई योजनाको सार्वजनिक जनलेखा परीक्षण गरिएको छ । योजनाको निर्माण कार्य सम्पन्न भएपश्चात सार्वजनिक जनलेखा परीक्षण गरिएको हो ।

भेरी नगरपालिका, हेल्भेटास नेपाल एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रमको आर्थिक तथा पहाडी क्षेत्र विकास अभियान, जाजरकोटको प्राविधिक सहयोगमा निर्माण कार्य सम्पन्न भएको लिस्नेगौडी धाराखर्क खानेपानी तथा सरसफाई योजनाको सार्वजनिक जनलेखा परीक्षण गत साउन ३१ ग्ते सम्पन्न गरिएको योजना निर्माण समितिका अध्यक्ष कृष्ण खत्रीले जानकारी दिएका छन् ।

उक्त सार्वजनिक जनलेखा परीक्षण कार्यक्रममा सचिव प्रसाद शाहीले योजनाको आर्थिक तथा प्राविधिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सचिव शाहीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा ७ लाख ९३ हजार २९६ रुपैया ९४ पैसाको उपभोक्ताले जनश्रमदान गरेको उल्लेख गरेका थिए । त्यसैगरी हेल्भेटास नेपाल एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम र भेरी नगरपालिकाको संयुक्त बजेट २० लाख ३२ हजार ३७८ रुपैया ८८ पैसा रहेको सचिव शाहीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रस्तुत आर्थिक प्रतिवेदनमा भेरी नगरपालिकाको ७ लाख ६१ हजार ८८७ रुपैया ४२ पैसा, एकीकृत जलस्रो व्यवस्थापन कार्यक्रमको १२ लाख ७० हजार ५०० रुपैया ४७ पैसा, हेल्भेटास नेपालको नगद ६ लाख ३८ हजार ५२४ रुपैया ७५ पैसा, ६ लाख ३१ हजार ९७५ रुपैया ७२ पैसा गरी जम्मा २८ लाख २५ हजार ६८४ रुपैया ३२ पैसामा उक्त आयोजनाको निर्माण कार्य सम्पन्न भएको उल्लेख गरिएको छ ।

उक्त बजेटबाट १ हजार ६२० मिटर ट्रान्समिसन, १ हजार ८४० मिटर डिस्ट्रिव्युसन, ३ हजार ४८० मिटर प्राइभेट लाइन विस्तार गर्नुको साथै २ वटा फेरोसिमेन्ट टंकी, ८ वटा एफआरसी, ३५ वटा नीजि धारा, १ वटा विद्यालय धारा, १ वटा एस.भि.सी., ३ ठाउँमा तारजाली लगाउने काम सम्पन्न भएको सचिव शाहीले प्रस्तुत गरेको प्राविधिक प्रतिवेदनमा उल्लेख गरेका थिए ।

त्यसैगरी सरसफाइ तर्फ ३५ वटा चाङ्ग, ३५ वटा फोहर खाडल निर्माण गर्नुको साथै ३५ वटा घरमा फिल्टर जडान गरिएको प्रस्तुत प्राविधिक प्रतिवेदनमा उल्लेख गरिएको छ । दुइ पटक घर तथा जनभेटघाट गरेको निर्माण समितिले ३५ हजारको आयोजना मर्मत कोष स्थापना गरेको छ ।

निर्माण समितिका अध्यक्ष कृष्ण खत्रीको अध्यक्षतामा सम्पन्न भएको सार्वजनिक जनलेखा परीक्षण कार्यक्रमका प्रमुख अतिथि वडा नं. ८ का वडा अध्यक्ष बीर बहादुर शाही, विशेष अथिति भेरी नगरपालिकाको न्यायीक समितिका सदस्य गौरी बहादुर कार्की, पहाडी क्षेत्र विकास अभियान, जाजरकोटका अध्यक्ष प्रदीप जंग शाह, एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रमका जाजरकोट संयोजक लोक बोहराले कार्यक्रममा आ–आफ्नो भनाइ राखेका थिए ।

ज्ञानकुञ्ज आधारभुत विद्यालयको प्राङ्गणमा सम्पन्न भएको सार्वजनिक जनलेखा परीक्षण कार्यक्रमा वडा सचिव, वडा सदस्यहरु, महिला, बालबालिका तथा जेष्ठ नागरिक सहित आयोजनाका उपभोक्ताहरु सहभागी भएका थिए । कार्यक्रममा सहभागीहरुले आ–आफ्ना जिज्ञासा राखेका थिए भने, निर्माण समितिका अध्यक्ष लगाएतका पदाधिकारीहरुले जिज्ञासाको जवाफ तथा उत्तर दिएका थिए । कार्यक्रममा आयोजना सम्पन्न गर्न योगदान गर्ने व्यक्ति तथा संस्थाहरुलाइ प्रसंशा पत्र प्रदान गरेर सम्मान गरिएको थियो ।


Tagged
प्रतिकृया दिनुहोस्