News Portal

जाजरकोटमा मातृ तथा पेरीनेटल मृत्युको निगरानी तथा प्रतिकार्यका लागि अभिमुखीकरण

डिजिटल संचार संवाददाता२०८१ पौष २५
२८३ पटक

जाजरकोट
जाजरकोटमा मातृ तथा पेरीनेटल मृत्युको निगरानी तथा प्रतिकार्यका लागि अभिमुखीकरण कार्यक्रम संचालन गरिएको छ । सामुदायिक स्तरको मातृ तथा पेरीनेटल मृत्युको निगरानी तथा प्रतिकार्य गर्न स्वास्थ्य सेवा कार्यालय, जाजरकोटको आयोजनामा अभिमुखीकरण कार्यक्रम संचालन गरिएको हो ।

युनिसेफको आर्थिक, प्रदेश अस्पताल कालागाउँ सुर्खेतको प्राविधिक सहयोगमा स्वास्थ्य सेवा कार्यालयले उक्त अभिमुखीकरण कार्यक्रम संचालन गरेको हो । जाजरकोट जिल्लाका सात वटै स्थानीय तहका स्वास्थ्य संस्था र स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीहरु सहभागी रहेको अभिमुखीकरण कार्यक्रमको सहजीकरण प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा कार्यरत डा. ललित जंग शाही, बरिष्ठ नर्सिङ्ग अधिकृत दिपा भट्टराइ, युनिसेफमा कार्यरत महालक्ष्मी प्रजापतिले सहजीकरण गरिरहेको स्वास्थ्य सेवा कार्यालय, जाजरकोटका फोकल पर्सन मोनिला कुमालले जानकारी दिएकी छन् । बिहिबारदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रम सुक्रबारसम्म संचालन गरिने फोकल पर्सन कुमालले बताएकी छन् ।

गर्भवति महिलाहरुको लागि पेरीनेटल अबधिनै सबैभन्दा सम्बेदनशिल अबधि भएको बताउदै युनिसेफमा कार्यरत महालक्ष्मी प्रजापतिले हरेक मृत्युको गणना गर्नुपर्ने मातृ तथा पेरीनेटल मृत्युको निगरानी तथा प्रतिकार्य कार्यक्रमले मान्यता राख्दै आएको बताइन् । गर्भावस्थाको अन्तिम समयनै पेरीनेटल समय भएको बताउदै प्रजापतिले मातृ तथा पेरीनेटल मृत्युको निगरानी तथा प्रतिकार्य समिति मार्फत सामुदायिक स्तरका शिशु र आमाको स्वास्थ्य अबस्थाको निगरानी, अबस्था विश्लेषण र स्वास्थ्य प्रणालीलाइ कार्यान्वयन गर्नु नै कार्यक्रमको मुख्य उदेश्य रहेको बताइन् । देशका ११० वटा अस्पतालमा कार्यक्रम संचालन भएतापनि सामुदायिक स्तरमा कार्यक्रम संचालनमा आउन नसकेको प्रजापतिले भनाइ राखेकी थिइन् । अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशमा मातृ मृत्यु दर बढि भएको जानकारी दिदै प्रजापतिले मातृ तथा शिशु मृत्यु दर घटाउन कार्यक्रम कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेकी थिइन् । जाजरकोट जिल्लामा गत बर्ष घरमै सुत्केरी हुनेको संख्या ७०० रहेको जानकारी दिदै प्रजापतिले सामुदायिक स्तरमा संचालन गरिने मातृ तथा पेरीनेटल मृत्युको निगरानी तथा प्रतिकार्य कार्यक्रमले घरमै सुत्केरी हुनेको संख्यालाइ घटाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेकी थिइन् ।

स्वास्थ्य सेवा कार्यालयका व्यवस्थापक डा. सुनिल पुनको अध्यक्षतामा संचालन गरिएको अभिमुखीकरण कार्यक्रमको उद्घाट सत्रले जिल्ला समन्वय समिति, जाजरकोटका प्रमुख काली बहादुर खत्रीको अध्यक्षतामा पाँच सदस्य जिल्ला स्तरीय मातृ तथा पेरीनेटल मृत्युको निगरानी तथा प्रतिकार्य समिति गठन गरेको मोनिला कुमालले जानकारी दिएकी छन् । उक्त कार्यक्रमको उद्घाटन सत्रका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख काली बहादुर खत्री, भेरी नगरपालिकाका उपप्रमुख सिता जैसी, वडा नं. ३ का वडा अध्यक्ष लिला बहादुर शाह र पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटका अध्यक्ष छवी पन्तले अभिमुखीकरण कार्यक्रम सफलताको शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन जैया खड्काले गरेकी थिइन भने, कार्यक्रमको औचित्यता मोनिला कुमालले प्रकाश पारेकी थिइन् ।

प्रतिकृया दिनुहोस्