News Portal

भुकम्प प्रतिरोध नमुना घर लाभग्राहीलाइ हस्तान्तण

डिजिटल संचार संवाददाता२०८१ माघ ३
४१३ पटक

जाजकोट
जाजरकोट र रुकुमपश्चिमका भुकम्प पीडितलाइ नमुना घर हस्तान्तरण गरिएको छ । औपचारिक कार्यक्रमको आयोजना गरेर भुकम्प प्रतिरोध नमुना घर लाभग्राहीहरुलाइ हस्तान्तरण गरिएको हो ।

रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१३ र १४ मा ६ वटा नमुना घर सोमबार लाभ ग्राहीलाइ हस्तान्तरण गरिएको थियो भने, जाजरकोटको भेरी नगरपालिका–१, ३ र ४ का ८ वटा नमुना घर बुधबार लाभग्राहीलाइ हस्तान्तरण गरिएको थियो ।

सिआरएस नेपालको आर्थिक सहयोगमा कारितास नेपालद्धारा संचालित ‘जाजरकोट भुकम्प पुनर्लाभ परियोजना (JERP–II)’ ले जाजरकोट र रुकुमपश्चिमा १४ वटा भुकम्प प्रतिरोध नमुना घर निर्माण गरेको थियो । परियोजनाले निर्माण गरेका बैकले दुई कोठे घर भुकम्प प्रतिरोधी मात्र नभएर परम्परागत रिथितिथि र संस्कार सहितका भएको कारितास नेपालका प्रदेश व्यवस्थापक जनक शर्माले बताए । प्रत्येक घरमा छुट्टै भान्सा कोठा, सौचालय निर्माण गरिएको प्रदेश व्यवस्थापक शर्माले भनाइ राखेका थिए । ढुङ्गा, माटोको गारोवाला भुकम्प प्रतिरोध नमुना घरमा कतिपयमा सिमेन्टको गारो, कतिपयमा चुनामिश्रित सुधारिएको माटो प्रयोग गरिएको छ प्रदेश व्यवस्थापक शर्माले भने– ‘चुनामिश्रित सुधारिएको माटो प्रविधिबाट निर्माण गरिएका घरहरु आगो र पानीबाट सुरक्षित छ, त्यसमा खरानी, माटो, बालुवा, पराल लगाएतका स्थानीय स्रोतहरुको प्रयोग गरिएको छ ।’

रुकुमपश्चिम आठबिसकोट नगरपालिका–१३ र १४ मा १२० वटा सुधारिएको बाख्राको खोर निर्माण गरेको परियोजनाले जाजरकोट भेरी नगरपालिका–१, ३ र ४ मा १८० वटा सुधारिएको बाख्राको खोर निर्माण गरेको छ । त्यसैगरी परियोजनाले खानेपानी, सिंचाइ लगाएतका योजनाहरु निर्माण गरेको छ ।

गत बर्षको जाजरकोट भुकम्पले नागरिकको जनजीवनलाई अस्तव्यवस्त बनाएको आठबीसकोट नगरपालिकाका उपप्रमुख धन कुमारी शाहीले भनाइ राखेकी थिइन् । गाउँका सुत्केरी तथा गर्भवति महिला, दीर्घ रोगी, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुले अहिले पनि टीनको अस्थायी आबासमा कष्टकर जीवन विताइ रहेको वताउदै उपप्रमुख शाहीले भोगी रहेको दैनिकीलाइ देखेर जनताकै बीचमा बसेर दुखमा एकाकार हुन मन लाग्छ तर, कामको जिम्मेवारीले जनताको घरमा एक रात पनि विताउन पाएकी छैन उनले भनिन् ।

भुकम्पले अस्तव्यस्त भएको जनताको जीवनस्तरलाइ सुधार गर्न नगरपालिकाले चारैतिर हारगुहार गरेको बताउदै उपप्रमुख शाहीले खोज, उद्धार, उपचार, राहत वितरणदेखि, अस्थायी आबास निर्माण तथा पुनर्लाभसंगै भुकम्प प्रतिरोध नमुना घर निर्माण, सुधारिएका बाख्राको खोर निर्माण, सिकर्मी तथा डकर्मी तालिम संचालनसंगै खानेपानी, सिंचाइ जस्ता योजना निर्माणमा नगरपालिकालाइ साथ दिदै आएका सिआरएस नेपाल, कारितास नेपाल लगाएतका संघ, संस्थालाइ धन्यवाद दिएकी थिइन् । नेपाल सरकारद्धारा पुनर्निर्माणको कार्यविधि पास भइसकेको बताउदै उपप्रमुख शाहीले पुनर्निर्माणसम्म नगरपालिकालाइ साथ दिन सिआरएस, कारितास लगाएतका संघ, संस्थालाइ आग्रह गरेकी थिइन् ।

एक बर्षको समयमा भुकम्पीय विपद व्यवस्थापनमा साढी पाँच करोड भन्दा बढि बजेट खर्च गरेर नगरपालिकालाइ सहयोग गरेकोमा भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकास घर्तीले खुशी व्यक्त गरेका थिए । साढी पाँच करोड बजेट वित्तिय समानिकरण तर्फको नगरपालिकाको बार्षिक बजेट बराबर भएको बताउदै नगर प्रमुख घर्तीले सिआरएस नेपाल, कारितास नेपाल, युवा जागरण विकास केन्द्र नेपाल (यार्सन) हार्दिक धन्यवाद दिएका थिए । भुकम्पीय विपद व्यवस्थापनमा नगरपालिकालाइ साथ दिएका सबै संघ, संस्थालाइ धन्यवाद दिदै नगर प्रमुख घर्तीले पुनर्निर्माणमा पनि साथ दिन अपिल गरेका थिए । पुनर्निर्माणको काम सुरुवात हुनु पहिलेनै ८ लाख ५० हजारदेखि ९ लाख ५० हजार मुल्य बराबरका भुकम्प प्रतिरोध स्थायी घर पाउने लाभग्राहीलाइ नगरप्रमुख घर्तीले धन्यवाद दिएका थिए । साथै नगरप्रमुख घर्तीले पुनर्निर्माणमा नगरपालिकालाइ साथ दिन सम्पूूर्ण विकास साँझेदारहरुलाइ अपिल गरेका थिए ।

जाजरकोट भुकम्प पुनर्लाभ परियोजना मार्फत खर्च गरिएको सबै पैसा कुनै पनि सरकारको पैसा नभएर अमेरिकी जनताले उठाएर पठाएको पैसा भएको सिआरएस नेपालका परियोजना व्यवस्थापक विकास पौडेलले जानकारी दिएका थिए । सिआरएस नेपालले मात्र परियोजना सफल बनाउन नसक्ने बताउदै व्यवस्थापक पौडेलले परियोजना कार्यान्वयनमा साथ दिने कारितास नेपाल, युवा जागरण विकास केन्द्र नेपाल (यार्सन), स्थानीय तह र लाभग्राही सबैलाइ धन्यवाद दिएका थिए ।

कारितासले विश्वका १६८ वटा देशमा काम गरिरहेको बताउदै कारितास नेपालका कन्ट्री डाइरेक्टर दुर्गा श्रेष्ठले जाजरकोट भुकम्प पुनर्लाभ परियोजना संचालनका लागि आर्थिक सहयोग गर्ने सिआरएस नेपाल, परियोजना कार्यान्वयनमा सहयोग गर्ने युवा जागरण विकास केन्द्र नेपाल (यार्सन), स्थानीय तह, लाभग्राही सबैलाइ धन्यवाद दिएकी थिइन् ।

आठकिसकोट नगरपालिका–१३ का वडा अध्यक्ष टेक बहादुर थापा र भेरी नगरपालिका–४ का वडा अध्यक्ष बशन्त प्रसाद शर्माको अध्यक्षतामा दुइ छुट्टा छुट्टै स्थानमा नमुना घर हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो । नमुना घर हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख काली बहादुर खत्री, प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्राती, भेरी नगरपालिका–३ का वडा अध्यक्ष लिला बहादुर शाह, आठबिसकोट नगरपालिका–१४ का वडा अध्यक्ष हुकुम बहादुर पुन, गैर सरकारी संस्था महासंघ जाजरकोट अध्यक्ष सहदेव बस्नेत, रुकुमपश्चिम अध्यक्ष भीमराज वली, युवा जागरण विकास केन्द्र नेपाल (यार्सन) का अध्यक्ष अमर सिंह राठौंर, नेपाल पत्रकार महासंघ रुकुमपश्चिमका प्रतिनीधि राजु लामिछानेले शुभकामना मन्तव्य राखेका थिए ।

 

प्रतिकृया दिनुहोस्