News Portal

जाजरकोटका १५ हजार किशोरीलाइ पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपिभी खोप लगाउने तयारी

डिजिटल संचार संवाददाता२०८१ माघ १५
१४८ पटक

जाजरकोट
जाजरकोटका पन्ध्र हजार किशोरीलाइ पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाउने तयारी गरिएको छ । राष्ट्रिय खोप अभियान–२०८१ अन्तरगत जाजरकोटका पन्ध्र हजार किशोरीलाइ पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाउने तयारी गरिएको हो ।

सात वटा स्थानीय तह र ७७ वटा वडा रहेको जाजरकोट जिल्लामा यही माघ २२ गतेदेखि आगामी फागुन ६ गतेसम्म पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान संचालन गरिने स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ । ६ कक्षादेखि १० कक्षासम्म अध्ययनरत १३ हजार २६५ र स्कुल भन्दा बाहिर रहेका १० देखि १४ बर्ष उम्मेर समुहका १ हजार ७३५ गरी जम्मा १५ हजार किशोरीलाइ खोप लगाउने तयारी गरिएको स्वास्थ्य सेवा कार्यालय, जाजरकोटका खोप फोकल पर्सन शान्त बहादुर बुढाथोकीले जानकारी दिए ।

बुढाथोकीले दिएको जानकारी अनुसार भेरी नगरपालिकामा माघ २२ गते, नलगाड नगरपालिका र शिवाालय गाउँपालिकामा माघ २३ गते, बारेकोट गाउँपालिका र जुनीचाँदे गाउँपालिकामा माघ २५ गते, छेडागाड नगरपालिका र कुशे गाउँपालिकामा माघ २७ गतेदेखि एचपिभी खोप अभियान संचालन गर्ने तयारी गरिएको छ । जिल्लाका सबै पालिका र वडामा खोप अभियान संचालन गर्न १३० जना स्वास्थ्यकर्मी र ५३२ जना स्वयमसेवक परिचालन गर्ने तयारी गरिएको खोप फोकल पर्सन बुढाथोकीले जानकारी दिए ।

पाठेघरको मुखको क्यान्सर निवारण गर्न एचपिभी विरुद्धको राष्ट्रिय खोप अभियान संचालन गरिएको हो । विश्व स्वास्थ्य संगठन (ध्ज्इ) का अनुसार पाठेघरको मुखको क्यान्सर हुनुको मुख्य कारण ह्युमन प्यापिलोमा भाइरस (ज्एख्) संक्रमण हो । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार पाठेघरको मुखको क्यान्सरनै महिलाहरुमा हुने क्यान्सरहरूको प्रमुख कारणहरू मध्ये एक भएको स्वास्थ्य सेवा कार्यालय, जाजरकोटका परिवार नियोजन निरिक्षक प्रेम न्यौपानेले जानकारी दिए ।

पाठेघरको मुखको क्यान्सर संक्रमित हुने विश्वमा प्रतिबर्ष झण्डै ६ लाख महिलाहरुको संख्या रहेको निरिक्षक न्यौपानेले बताएका थिए । प्रतिबर्ष पाठेघरको मुखको क्यान्सरले विश्वमा ३ लाख ४० हजार महिलाको मृत्यु हुने गरेको उनले बताए । पाठेघरको मुखको क्यान्सरलाइ निवारण नगर्ने हो भने विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्म विश्वमा प्रतिबर्ष संक्रमित हुने महिलाको संख्या ७ लाख पुग्ने अनुमान गरेको छ न्यौपानेले भने, ‘नेपालमा पाठेघरको मुखको क्यान्सरबाट प्रतिबर्ष २ हजार १६९ जना महिला संक्रमित हुने गरेका छन् भने, प्रतिबर्ष १ हजार ३१३ जनाको मृत्यु हुने गरेको छ ।’

उक्त एचपिभी खोप कक्षा ६ देखि कक्षा १० सम्म विद्यालयमा अध्ययनरत किशोरीहरुलाइ लगाउने कार्यक्रम रहेको भने, विद्यालय भन्दा बाहिर रहेका १० देखि १४ बर्षसम्मका किशोरीहरुलाइ यो खोप लगाउने तयारी गरिएको छ । ९० प्रतिशत किशोरीलाइ यो खोप लगाउने राष्ट्रिय खोप अभियानले लक्ष्य राखेको छ ।

एचपिभी विरुद्धको खोप सतप्रतिसत प्रभावकारी रहेको विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको छ । यस बर्ष राष्ट्रिय खोप अभियानका रुपमा संचालन गरिएको एचपिभी खोप अर्को बर्षदेखि नियमित खोपका रुपमा संचालन गरिने भएको छ । अर्को बर्षदेखि कक्षा ६ मा अध्ययनरत र विद्यालय भन्दा बाहिर रहेका १० बर्षका किशोरीहरुलाइ मात्र यो खोप संचालन गरिने बताइएको छ । जीवनमा एक पटक लगाए पुग्ने एचपिभी खोप यस बर्ष विश्वका ९८ देशमा अभियानका रुपमा खोप संचालन भइरहेको बताइएको छ ।

जिल्ला समन्वय समितिका उपप्रमुख दल बहादुर सिंहको अध्यक्षतामा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमको सहजीकरण परिवार नियोजन निरिक्षक प्रेम न्यौपाने र खोप फोकल पर्सन शान्त बहादुर बुढाथोकीले गरेका थिए भने, कार्यक्रम संचालन सिनियर अनमी जया खड्काले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्