News Portal

सुरक्षित वैदेशिक रोजगारीका लागि भेरी नगरपालिकामा अन्तरक्रिया तथा अभिमुखीकरण

३१ पटक

जाजरकोट
सुरक्षित वैदेशिक रोजगारीका लागि आवश्यक सावधानी र सीप सम्बन्धी जानकारी दिन भेरी नगरपालिकाले अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । वैदेशिक रोजगारमा जाने इच्छुक युवा तथा सरोकारवालाहरूको सहभागीतामा अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने कानुनी प्रक्रिया, जोखिम न्यूनिकरणका उपाय, काम खोजीमा जाने मुलुकको अवस्थाबारे जानकारी राख्नुपर्ने, पूर्वतयारीका रूपमा सिक्नुपर्ने सीप र सूचना पहुँचबारे विस्तारमा चर्चा गरिएको थियो ।

कार्यक्रममा रोजगार संयोजक भरत शर्मा र आप्रवासी स्रोत केन्द्रका संयोजक प्रवीण विकले सहजीकरण गरेका थिए । विदेश जानुअघि युवा युवाले अनिवार्य सीप सिक्नुको साथै वैधानिक बाटो अपनाउन र अनिश्चित सपना देखाएर मानव तस्करीका दलालहरूको प्रभावबाट सजग रहनुपर्ने विषयमा सहजकर्ताले चर्चा गरेका थिए ।

सुरक्षित आप्रवासनको प्रवद्र्धन र वैदेशिक रोजगारीसम्बन्धी जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राखेर भेरी नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । वैदेशिक रोजगारीमा जाने युवाको क्षमता अभिवृद्धि र अधिकार संरक्षणका लागि स्थानीय तहहरुले सचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएका छन् ।

सुरक्षित वैदेशिक रोजगारका लागि भेरी नगरपालिकाले जिल्ला प्रशासन कार्यालयमा सुरक्षित आप्रवासन सेवा सुरु गरेको छ । जसबाट जिल्लाका अन्य स्थानीय तहका नागरिकहरु पनि सेवा लिइ रहेका छन् ।

अन्तरक्रिया कार्यक्रममा रोजगार सेवा केन्द्रका प्रतिनिधिहरू, महिला तथा युवा अगुवा, वडास्तरीय जनप्रतिनिधि, पत्रकार तथा सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी भएका थिए ।

 

प्रतिकृया दिनुहोस्