जाजरकोट
जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ । वान हार्ट वल्र्डवाईड र पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटको समन्वयमा जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सोमबार सम्पन्न भएको हो ।
प्रमुख जिल्ला अधिकारी मेख बहादुर मग्रातीको कार्यकक्षमा बैठक सम्पन्न भएको थियो । जिल्ला समन्वय समिति, जाजरकोटका प्रमुख काली बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको जिल्ला परियोजना सल्लाहकार समितिको बैठकमा वान हार्ट वल्र्डवाईड र पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटले संचालन गरेको “मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको सुदृढीकरण” परियोजनाले जिल्लाका सात वटै पालिकामा संचालन गरेका कृयाकलापहरुको जानकारी गराइएको थियो । सुत्केरी महिला, नवजात शिशु, गर्भवति महिला, किशोरकिशोरी, महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका, स्वास्थ्य सेवा प्रदायक, स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समिति र पालिकाहरुको स्वास्थ्य शाखामा कार्यरत कर्मचारीका क्षेत्रमा काम गर्दै आएको परियोजनाले जिल्लाका ४० वटा बर्थिङ्ग सेन्टरमा काम गरिरहेको परियोजना संयोजक सुरेन्द्र सोपकोटाले जानकारी दिएका थिए । जिल्लाका ६ वटा बर्थिङ्गसेन्टरमा परियोजना पुग्न बाँकी रहेको जानकारी दिदै परियोजना संयोजक सापकोटाले जाजरकोट जिल्लामा घरमै सुत्केरी हुने महिलाहरुको संख्या ५०० भन्दा बढि रहेको जानकारी दिएका थिए । घरमै सुत्केरी हुनेको संख्यालाइ सुन्यमा झार्न चुनौति रहेको परियोजना संयोजक सोपकाेटाले भनाइ राखेका थिए ।
बैठकमा ह्याण्डी क्याप इन्टरनेशनल र पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटले नलगाड र भेरी नगरपालिकामा संचालन गरेको अपाङ्गता भएका र संकटासन्न व्यक्तिहरुको प्राथमिक स्वास्थ्य–पुनस्र्थापना तथा आर्थिक–सामाजिक सेवाहरुमा पहुँच बृद्धि परियोजनाले संचालन गरेका कृयाकलापहरुको जानकारी गराएको थियो । परियोजनाले संचालन गरेका कृयाकलापहरुको विस्तृत जानकारी परियोजजना संयोजक बीर बहादुर विकले गरेका थिए ।
परियोजनाले संचालन गरेका कृयाकलापहरुका विषयमा जिज्ञासा एवं प्रतिकृयात्मक भनाइ जिल्ला समन्वय समितिका प्रमुख काली बहादुर खत्री, जिल्ला अस्पतालमा कार्यरत डा.अखिलेस झाँ र मोनिला कुमालले राखेका थिए । बैठकमा प्रजिअ मंग्राती, जिल्ला प्रहरी कार्यालय प्रमुख बसन्त कुमार शर्मा, सशस्त्र प्रहरी नायव उपरिक्षक लाल बहादुर चन्द, अनुसन्धान प्रमुख चिरन्जिवी बुढा, गै.स.स. महासंघ जाजरकोट अध्यक्ष सहदेव वस्नेत, जिल्ला स्वास्थ्य कार्यालयका डा. अकिलेश झा, मोनिला कुमाल, भेरी नगरपालिकामा कार्यरत यज्ञ गौतम, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय प्रमुख तथा प्रतिनिधिहरु सहभागी भएका थिए ।