जिल्लामा निषेधाज्ञाको समय ९ दिन थप भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाद्धारा शुक्रबार जारी गरिएको आदेशले जाजरकोटमा निषेधाज्ञाको समय ९ दिन थप भएको हो ।
प्रजिअ देवकोटाले ९ दिनको समय थप गरेर जिल्लामा शुक्रबार निषेधाज्ञाको पाँचौं आदेश जारी गरेका छन् । नियन्त्रणमा आउन नसकेर अझै तिब्र रुपमा संक्रमण बढ्दै गैरहेको विश्वब्यापी कोभिड–१९ लाई नियन्त्रण तथा रोकथाम गर्न यहि जेठ २२ गते राति १२ बजेदेखि ३१ गते राति १२ बजेसम्मको लागि प्रजिअ देवकोटाले निषेधाज्ञाको समय थप गरेका हुन् ।
गत बैशाख १८ गते शनिवार राति १२ बजे देखि बैशाख २५ गते राति १२ बजेसम्म पहिलो निषेधाज्ञा जारी गरेका प्रजिअ देकोटाले दोस्रो पटक जेठ १ गते राति १२ बजेसम्म निषेधाज्ञाको आदेश जारी गरेका थिए । तेस्रो पटक यही जेठ १५ गते राति १२ बजेसम्मका लागि जारी गरिएको निशेषधाज्ञालाई प्रजिअ देवकोटाले यहि जेठ २२ गते राति १२ बजेसम्मका लागि चौथो पटक निषेधाज्ञाको आदेश जारी गरेका थिए । प्रजिअ देवकोटाले यहि जेठ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञाको पाँचौं आदेश जारी गरेका छन् ।
शुक्रवार बसेको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले जेठ ३१ गते राति १२ बजेसम्म लागु हुने गरि निषेधाज्ञाको समय थप गर्न प्रजिअ देवकोटालाई सिफारिस गरेको थियो । कोभिड–१९ संक्रमणको साङ्गलोलाई तोड्न, संक्रमणको जोखिम नियन्त्रण, रोकथाम तथा उपचारका लागि संक्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ३ बमोजिम निषेधाज्ञाको समय प्रजिअ देवकोटाले थप गरेका हुन ।
बंैक तथा वित्तिय सेवा, सवारी साधन, पसल, ब्यवसाय संचालन र आवश्यक काम बाहेक हिडडुलमा समेत निषेध गर्ने गरि आदेश जारी गरिएको प्रजिअ देवकोटाले जानकारी दिएका छन् । विवाह, बर्तबन्ध, मत्यु संस्कार लगायतका सामाजिक कार्यमा १० जना भन्दा बढी जम्मा हुन नपाइने जारी आदेशमा उल्लेख गरिएको छ ।
औषधी, तरकारी, खाद्य, दुध र ग्याँसका पसल भने, विहान ६ बजे देखि ९ बजेसम्म संचालन गर्न पाईने जारी आदेशमा उल्लेख गरिएको छ । साथै एटिएम सेवा र एम्बुलेन्स लगायतका सेवा भने, सुचारु हुनेछन् । सरकारी कर्मचारीले पोशाक सहित कम्तिमा एक चौथाइ उपस्थित हुने गरि आलोपालो गरेर कार्यालय खोल्नु पर्ने जारी आदेशमा उल्लेख गरिएको छ । सुचना विभागले जारी गरेको प्रेस पास वा सम्बन्धित मिडियाको परिचय पत्रका आधारमा पत्रकारले रिपोटिङ्ग गर्न पाईने व्यवस्था गरिएको छ ।