भेरी नगरपालिकामा सोमबार ८ जनालाई कोरोना पुष्टि भएको छ । एन्टीजेन बिधीबाट गरिएको परीक्षणबाट ८ जनालाई कोरोना पुष्टि भएको हो ।
एन्टीजेन विधिबाट सोमबार ३५ जनालाई गरिएको परीक्षणबाट ८ जनालाई कोरोना पुष्टि भएको नगर स्वास्थ्य शाखा सह–संयोजक निशा थापा केसीले जानकारी दिएकी छन् । सह–संयोजक केसीले दिएको जानकारी अनुसार सोमबार भेरी नगरपालिकामा ३९ जना सक्रिय संक्रमितहरुले स्वास्थ्यकर्मीहरुको निगरानीमा होम आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् ।
नयाँ भेरियन्ट सहितको कोभिड–१९ को दोस्रो लहरमा पिसीआर र एन्टीजेन बिधिबार १ हजार ३३५ जनामा गरिएको परीक्षणबाट ५६५ जनालाई कोरोना पुष्टि भएको भेरी नगरपालिकाले सोमबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणमा उल्लेख गरिएको छ । कोरोना पुष्टि भएका ५६५ जना मध्ये हालसम्म ५२० जनाले कोरोना जितेर डिस्चार्ज भएको दैनिक प्रतिवेदन विवरणले देखाएको छ । दैनिक प्रतिवेदन विवरणका अनुसार थप उपचारका लागि नगरपालिकाले हालसम्म ५ जनालाई रिफर गरेको छ भने, ३ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।
पिसीआर बिधिबाट ५९८ जनालाई गरिएको परीक्षणबाट ३३३ जनालाई कोरोना पुष्टि भएको थियो भने, ७३७ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट २३२ जनालाई कोरोना पुष्टि भएको थियो ।