नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा जाजरकोटले बारेकोट र शिवालय गाउँपालिकालाई १–१ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । तिब्र रुपमा फैलिएको दोस्रो लहरको कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण तथा संक्रमितहरुको उपचारलाई सहज बनाउन रेडक्रस जिल्ला शाखा जाजरकोटले बारेकोट र शिवालय गाउँपालिकालाई १–१ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको हो ।
नेपाल रेक्रस सोसाईटी जिल्ला शाखा जाजरकोटको कार्यालयबाटै बुधबार बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर शाहलाई आफुले १ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको नेपाल रेडक्रस जिल्ला शाखा जाजरकोटका सभापति हरि बहादुर बस्नेतले जानकारी दिए । सभापनि बस्नेतले दिएको जानकारी अनुसार शिवालय गाउँपालिकालाई आगामी सुक्रबार १ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
चाईनीज रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा जाजरकोटले गाउँपालिकालाई दिएको अक्सिजन कन्सन्ट्रेटर बुझ्दै बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर शाहले विश्व मानव जातिलाई नै चुनौती दिई रहेको कोरोना भाईसरसंग लड्नका लागि अक्सिजन कन्सन्ट्रेटर शक्तिशाली हतियार भएको भनाई राखेका थिए । कोरोना भाइरसको संक्रमणले विश्वमै स्वास्थ्य संकट पैदा गरेको धारणा राख्दै अध्यक्ष शाहले जटिल अबस्थामा गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर दिएर सहयोग गर्ने चाईनीज तथा नेपाल रेडक्रस सोसाईटीलाई धन्यवाद दिएका थिए ।
चाईनीज रेडक्रसको आर्थिक सहयोगमा आएका सर्जिकल मास्कलाई नेपाल रेडक्रस जिल्ला शाखा जाजरकोटले एक हजार पिसका दरले जिल्लामा रहेका १० वटा उपशाखालाई वितरण गरेको सभापति बस्नेतले जानकारी दिएका छन् । त्यसैगरी जिल्ला शाखा, जाजरकोटले जिल्ला प्रशासन कार्यालयलाई ३ हजार, सशस्त्र प्रहरी बल आश्रित गुल्म जाजरकोटलाई २ हजार, नेपाली सेनाको चन्दननाथ गण मालिका व्यारेकलाई १५ सय, नेपाल खाद्य संस्थान, खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय, जाजरकोटलाई १५ सय र जिल्ला अदालत जाजरकोटलाई २०० पिस सर्जिकल मास्क हस्तान्तरण गरिएको सभापति बस्नेतले बताएका छन् ।
लाखौं रुपैयाको मुल्यमा खरिद गरेर बारेकोट र शिवालय गाउँपालिकालाई हस्तान्तरण गरिएको अक्सिजन कन्सन्ट्रेटरले हामी वरपर रहेको हावालाई फिल्टर गरेर त्यसबाट शुद्ध अक्सिजन बिरामीसम्म पुर्याउने एक उपकरण भएको बिज्ञहरुले बताएका छन् । बिज्ञकानुसार अक्सिजन कन्सन्ट्रेटर यस्तो मेडिकल डिभाइस हो, जसले हाम्रो आसपासको हावालाई तान्छ र त्यसलाई छानेर शुद्ध अक्सिजन मात्र दिन्छ । यसबाट बिरामीलाई थप अक्सिजन प्राप्त हुन्छ । हावामा भएका बिभिन्न ग्यासमध्ये अक्सिजन छुट्याएर बिरामीलाई ९५ प्रतिशतसम्म शुद्ध अक्सिजन दिने मेडिकल डिभाइसलाई अक्सिजन कन्सन्ट्रेटर भन्ने गरिएको छ ।