नेपाल शिक्षक महासंघ, जाजरकोटले शुक्रबार शिक्षा बिकास तथा समन्वय इकाईको कार्यालयमा धर्ना दिएको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार नेपाल शिक्षक महासंघ, जाजरकोटले शिक्षा बिकास तथा समन्वय इकाईको कार्यालयमा धर्ना दिएको हो ।
शिक्षा बिकास तथा समन्वय इकाई कार्यालय, जाजरकोटमा १० बजेदेखि १ बजेसम्म ३ घण्टा धर्ना दिएको नेपाल शिक्षक महासंघ, जाजरकोटका सह–अध्यक्ष तिलक खत्रीले जानकारी दिएका छन । “अधिकार र कर्तव्यका लागि शिक्षक एकता ।” भन्ने मुल नारा सहित गरिएको धर्ना कार्यक्रममा शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख रमेश मल्ल मार्फत शैक्षिक विकासमा सरकारले ध्यान जोड दिर्नुपर्ने बिषयका साथै शिक्षकहरुको पेशागत अधिकार सहितका ३४ बुँदे माग पत्र नेपाल सरकारलाई बुझाएको सह–अध्यक्ष खत्रीले बताए ।
नेपाल शिक्षक महासंघले राखेका शिक्षा क्षेत्रमा सरकारले लगानी गर्नुपर्ने बजेटको प्रतिशत, संविधानले गरेको व्यवस्था अनुसार सरकारले दिनुपर्ने निशुल्क शिक्षाको व्यवस्था, शिक्षा ऐन, कोभिड–१९ बिरुद्धको खोप सुनिश्चिता, शिक्षक तथा कर्मचारीलाई अतिरिक्त भत्ताको व्यवस्था लगाएतका ३४ बुँदे मागहरु सतप्रतिशत सहि भएको बताउदै इकाई प्रमुख मल्लले मागहरु पुरा गराउनका लागि माथिल्लो निकायमा पहल गर्ने भनाई राखेका थिए ।
सह–अध्यक्ष खत्रीको नेतृत्वमा गरिएको धर्ना तथा माग पत्र बुझाउने कार्यक्रममा जिल्लाका सात वटै पालिकाबाट नेपाल शिक्षक महासंघका प्रतिनीधिहरुको सहभागिता रहेको थियो । कोरोना संक्रमणको प्रभावले उक्त कार्यक्रममा उल्लेखिय सहभागिता जनाउन नसकेता पनि २३ जना शिक्षक सहभागी भएको सह–अध्यक्ष खत्रीले जानकारी दिएका छन् ।