करेसावारी पबद्र्धन गर्न नलगाड नगरपालिकाले किसानहरुलाई तालिम दिनुको साथै प्रविधि हस्तान्तरण गरेको छ । कृषि शाखाकोको आयोजनामा नलगाड नगरपालिकाले किसानहरुलाई तालिम दिनुका साथै प्रविधि हस्तान्तरण गरेको हो ।
नगरपालिकाको वडा नम्बर १ र ७ का ३० जना किसानलाई करेसाबारी सम्बन्धिको तालिम दिनुको साथै प्रविधि हस्तान्तरण गरिएको नगर कृषि शाखाका प्रमुख बालकृष्ण आचार्यले जानकारी दिए । भौतिक दुरी कायम गरेर संचालन गरिएको तालिम तथा प्रविधि हस्तारण कार्यक्रममा प्रति किसानलाई एक सय लिटरको ड्रम, गार्डेन पाइप, स्प्रीङकलर, हजारी, नर्सरी प्लास्टिक, मेटासिट, बनस्पतिजन्य बिषादी, जैविक बिषादी, टमाटर, करेला, लौका, चिचिन्डा, बोडी, रायो भिन्डी जस्ता तरकारीजन्य बिऊ विजनको सेट सहितका विभिन्न सामाग्रीहरु वितरण गरिएको शाखा प्रमुख आचार्यले बताए ।
आर्थिक रुपमा बिपन्न किसानहरुलाई छनोट गरी तालिममा सहभागी गराउनुको साथै प्रविधी हस्तान्तरण गरिएको छ । उक्त करेसाबारी सम्बन्धिको तालिमले किसानहरुलाई घर–घरमै करेसाबारी निर्माण गर्नुको साथै दैनिक भान्सामा तरकारी पकाउने र नियमित खाने बानीको बिकास हुने नगर प्रमुख टेकबहादुर रावलले भनाई राखेका थिए । करेसाबारीको मिश्रित तरकारी छाकै पिच्छे खाने बानीले शरिरलाई चाहिने पोषणतत्व प्राप्त हुने जानकारी दिदै नगर प्रमुख रावलले मानव शरिरभित्रको पोषणतत्वले नै विभिन्न रोगसंग लड्ने क्षमता पैदा गर्ने भनाई राखेका थिए । नगर प्रमुख रावलले ब्यबसायिक रुपमा करेसाबारी गर्न सकेमा न्युन आयश्रोत भएका किसानहरुले आयआर्जन गर्नुको साथै स्वरोजगार बन्न सकिने भनाई राखेका थिए ।
नेपाललाई कृषिप्रधान देश भनेर विश्व सामु चिनाईएता पनि खाना नपाउने देशका नागरिकको सुचिमा नेपाल छ नगर प्रमुख रावलले भने–‘देशको भबिष्यलाई काँधमा बोकेका युवा शक्ति नै कृषि उत्पादन र कृषि पेशाबाट बिमुख हुनु बिडम्बना हो ।’ नगरपालिकाले कृषि क्षेत्रको लगानीलाई प्राथमिकता दिएको बताउदै प्रमुख रावलले त्यसको परिणाम नलगाड नगरपालिकाले बर्षेणी पाँच सय टन लसुन चितवन, काठमाडौं लगाएतका ठाउँमा निर्यात गर्ने गरेको भनाई राखेका थिए ।
स्याउ, आँप, सुन्तला, केरा, ओखर, कागती, कीवि, अलैंची, टिमुर लगायतका फलफुल जातका बिरुवाहरु ब्यापक रुपमा बितरण गरेको जानकारी दिदै प्रमुख रावलले समय मिलेसम्म उक्त बिरुवाहरुको आफैले अनुगमन गर्ने बताए । कार्यक्रमको उद्देश्य अनुरुप बितरण गरिएका सामाग्रीहरु प्रयोग नभए नगरपालिकाले फिर्ता लिने प्रमुख रावलले भनाई राखेका थिए ।
नलगाड नगरपालिकालाई कृषि विकास, पर्यटन र सुशासनको हिसाबले नमुना बनाउन सकिने प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर सिंहले भनाई राखेका थिए । समृद्ध र सफा नगर, दिगो विकास र सुशासनको लहर भन्ने नारालाई कार्यान्वयन गर्न नलगाड नगरपालिकाले आर्थिक समृद्धिलाई जोड्न कृषिको क्षेत्रलाई प्राथमिकतामा राखेको भनाई राखेका थिए ।
नगरपालिकाले हस्तान्तरण गरेका कृषि प्रविधिहरुलाई कृषि उत्पादनमै लगाएर सहि सदुपयोग गर्नुको साथै आफ्नौ पौरख मिसाएर लाभ हासिल गर्ने कृषक धनकला चनाराले भनाई राखेकी थिईन ।
तालिमको पहिलो दिन सैद्धान्तिक तथा ब्यबहारिक ज्ञानलाई प्रयोगात्मक शैलीमा सिकाईएको थियो । मंगलबार देखि संचालन गरिएको तालिम तीन दिनसम्म संचालन हुने भएको छ । ‘गरिबसँग नलगाड सिपमुलक कार्यक्रम’ अन्तगरगत संचालन गरिएको करेसाबारी सम्बन्धिको तालिम तथा प्रविधि हस्तान्तरणले किसानहरुको घर–घरमा करेसाबारी प्रबद्र्धन हुने विश्वास राखिएको छ । कोभिड–१९ को बढ्दो संक्रमणलाई रोकथाम, नियन्त्रण तथा उपचारलाई सहज बनाउन गरिएको निषेधाज्ञाको बेला संचालन गरिएको तालिमा स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पुरा गरिएको बताईएको छ ।