News Portal

जाजरकोट अस्पतालमा सफल अप्रेशन भएपछि सार्की परिवारमा खुशी

डिजिटल संचार संवाददाता२०८१ चैत्र २६
६०५ पटक

जाजरकोट
जाजरकोट जिल्ला अस्पतालमा भाँचिएको हातको सफल अप्रेशन भएपछि कुशे–७ समाइलाका एक सार्की परिवारमा खुशी छाएको छ । जिल्ला अस्पतालमै भएको सफल अप्रेशनले कमजोर आर्थिक अवस्थाका सार्की परिवारमा खुशीको मुस्कान देखा परेको हो ।

दुइ हप्ता पहिलादेखि जनरल सर्जन विशेषज्ञ सेवा सुरु भएको जाजरकोट जिल्ला अस्पतालमा बुधबार बिहान ६ बजे कुशे गाउँपालिका–७ समाइलाका ७ बर्षिय नरजीत सार्कीको दाँया हातको अफल अप्रेशन भएको एनेस्थेसिया महेश केसीले जानकारी दिए । नरजीतको दाँया हातको दुबै हड्डी भाँचिएका थिए एनेस्थेसिया केसीले भने–‘उनको हातमा रड राखिदिएका छौं, हड्डी लागि सकेपछि हामीले रड निकालि दिन्छौं ।’

घरमा पशुचौपायका नाममा ३ वटा गाइ र एक भैसी मात्र भएका नरजीत यही चैत २५ गते गाइ चराउन जंगलमा गएका थिए । गाइ फर्काउने क्रममा कुनासारा भीरबाट लोटेर नरजीतको दाँया हात भाँचिएको थियो । ७ बर्षिय छोराको हात भाँचिएपछि सामान्य खेतिपाति र निकालोको चोया चेत्रो गरेर जीवन निर्वाह गर्दै आएका लाल बहादुर सार्कीलाइ छोराको उपचार कसरी गर्ने होला ? भन्ने चिन्ताले सताइ राखेको थियो । दुइ छोरी, तीन छोरा गरि ५ सन्तानका पिता लाल बहादुर कान्छो छोराको उपचारमा लाग्ने पैसा जुटाउन विभिन्न समुह, सहकारीमा धाएका थिए । गाउँकै हुनेखानेसंग सरसापट गरि १० हजार जुटाएर उपचारको लागि नरजीतसंग जेठो छोरा वीरेन्द्र सार्कीलाइ खलंगा पठाएका थिए । खलंगा उपचार सम्भव नभए सुर्खेत कालागाउँ अस्पतालमा लैजानु म गाउँमा पैसा खोजी गरेर पठाउदै गरौला भनेर लाल बहादुरले छोरा वीरेन्द्रलाइ सुजाएका थिए ।

लाल बहादुरकै अनुरोधमा जेठी छोरी भगवति सार्कीका श्रीमान राम बहादुर नेपाली १५ हजार पैसा जुटाएर बारेकोट गाउँपालिका–७ स्यालाबाट खलंगा आइ पुगेका थिए । जाजरकोट जिल्ला अस्पतालमा सामान्य चेकजाँच गराएर नरजीतलाइ सुर्खेत लैजाने सोच बनाएका वीरेन्द्र र राम बहादुरसंग जिल्ला अस्पतालमा कार्यरत एनेस्थेसिया केसीको भेट भएको थियो । एनेस्थेसिया केसीसंग भेट भए पश्चात वीरेन्द्र र राम बहादुर नरजीतको अप्रेशन जिल्ला अस्पतालमै गर्ने निर्णयमा पुगेका थिए । विशेषज्ञ चिकित्सक डा. सुनिल पुनले नरजीतको दाँया हातको सफल शल्यक्रिया गरेका थिए । हातको अप्रेशन जिल्लामै सफल भएपछि सुर्खेतमा लाग्ने अप्रेशन शुल्क, औषधी, यातायात तथा बास खर्च कटौती भएको भन्दै नरजीतिको घरपरिवारले खुशी व्यक्त गरेका छन् । १५ हजार अप्रेशन शुल्कलाइ घटाएर अस्पतालले १२ हजार मात्र लिएको जानकारी दिदै राम बहादुरले अन्य औषधी खर्च १०–१२ हजार गरेर जम्मा २५ हजारमा अप्रेशन पुरा भएको जानकारी दिए ।

जनरल सर्जन विशेषज्ञ सेवा अन्तरगत हर्निया, हाइड्रोसिल, एपेण्डीसाइटिस, पित्तथैलीको अप्रेशन गर्नुको साथै मानव शरिरका विभिन्न भागमा पलाएका गाँठागुँठी तथा मासुका ठल्लाहरुको अप्रेशन गरिने स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त व्यवस्थापक डा. सुनिल पुनले जानकारी दिए । जिल्ला अस्पतालमा जनरल सर्जन विशेषज्ञ सेवा सुचारु भएपश्चात भाँचिएको हात अप्रेशन गर्नुको साथै पिसाव बन्द भएको १६ महिनाको बच्चाको लिङ्ग अप्रेशन, हात, खुट्टाका विभिन्न भाँगमा पलाएका मासुको डल्लाहरुको सफल अप्रेशन, रगत जमेको टाउँकोको अप्रेशन जिल्ला अस्पतालमै गरिसकेको एनेस्थेसिया केसीले जानकारी दिए ।

सिमित साधन स्रोतका बाबजुद अप्रेशन सेवालाइ सफल गर्नु महत्वपूर्ण भएको एनेस्थेसिया केसीले बताए । विकसित मुलुक र ठुला अस्पतालहरुको लागि उक्त अप्रेशन सानो भएता पनि जाजरकोट जिल्लाका लागि निकै महत्वपूर्ण र ठुलो अप्रेशन भएको एनेस्थेसिया केसीले दावी गरेका छन् ।

प्रतिकृया दिनुहोस्