News Portal

जाजरकोटमा सहिद विदुर स्मृति दोस्रो यू–१९ भलिबल कप सम्पन्न

डिजिटल संचार संवाददाता२०८१ चैत्र २७
९१ पटक

जाजरकोट
लागुऔषध दुव्र्यसन नियन्त्रण तथा रोकथामका लागि खेलकुद कार्यक्रम अन्तरगत जाजरकोट जिल्लामा सुरु भएको सहिद विदुर स्मृति यू–१९ भलिबल कप सम्पन्न भएको छ । यही चैत्र २४ गते देखि जिल्लाको त्रिभुवन माध्यामिक विद्यालयको प्राङ्गण थाप्लेमा सुरु भएको भलिबल खेल चार दिन सञ्चालन भएको थियो ।

जनयुद्धका सहिद कर्ण बहादुर विक (विदुर) को स्मृतिमा सञ्चालन हुने यस प्रतियोगिता यस वर्ष पनि सञ्चालन गरिएको हो । खेलमा १९ वर्ष मुनिका खेलाडीहरुले मात्र सहभागिता हुन पाउने व्यवस्था गरिएको थियो । उक्त प्रतियोगिताको आयोजना सहिद स्मृति युवा क्लवले गरेको थियो भने, भेरी नगरपालिका प्रतियोगिताको मुख्य प्रायोजक थियो । ज्योति विकास बैंकको सह प्रायोजन र अन्य विभिन्न निकाय र व्यक्तिहरुको सहयोगमा प्रतियोगिता सञ्चालन भएको थियो ।

भेरी नगरपालिकाको मुख्य प्रायोजनमा सञ्चालन भएको कार्यक्रमले खेलाडी उत्पादन गर्नुका साथै लागुऔषध दुव्र्यसन रोकथाम तथा नियन्त्रणको मुद्धा अगाडी सारेको थियो । लागुऔषध दुव्र्यसनीको कुलतमा जानी नजानी फसेको युवा पुस्तामा सचेतना पैदा गर्न उक्त प्रतियोगिताको आयोजना गरिएको थियो । चेतनाको कमि, शिक्षाको अभाव, बेरोजगारको चपेटाका कारण कुलतमा फसेका युवाहरु प्रतियोगिता मार्फत सचेत गराउने प्रयास गरिएको थियो । खेलकुदको माध्यमबाट चेतना फैलाउन उक्त प्रतियोगिता हरेक बर्ष आयोजना गरिएको क्लबका अध्यक्ष प्रेम बहादुर विकले बताए । अध्यक्ष विकका अनुसार क्लबले चालेको यो अभियान केही हदसम्म सफल भएको छ । जिल्लामा खेलाडी उत्पादन गर्न यो प्रतियोगिताले महत्वपूर्ण भुमिका निर्वाह गरेको अध्यक्ष विकले बताए ।

प्रतियोगितामा भेरी नगरपालिकाबाट ७, नलगाडबाट ३ र छेडागाडबाट १ गरी ११ टिम सहभागिता भएका थिए । उक्त टीम मध्ये प्रथम स्थान भेरी नगरपालिका वडा नं १ को टिम वाइएपिले हासिल गरेको थियो । त्यस्तै दृतिय र तृतिय स्थान क्रमश नलगाड ७ को बगरभिल्ला होटेलको टिम र भेरी नगरपालिका वडा नं २ को टिमले हासिल गरेको थियो । साथै प्रथम, दृतिय र तृतिय स्थान हासिल गर्ने क्रमश ५० हजार, ३५ हजार र २५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

त्यस्तै प्रतियोगितामा भेरी नगरपालिका वडा नं २ का हरिस शाही उत्कृष्ट खेलाडी छनौट भएका थिए । उत्कृष्ट डिफेन्डरमा भेरी १ का सन्दिप विक छनौट भएका थिए । उत्कृष्ट कोचमा वाइएपिका अशोक सिंह, उत्कृष्ट ब्लकर बगर भिल्लाका कमल परियार, उत्कृष्ट सेटर बगर भिल्लाकै दिपक शाही र उत्कृष्ट स्पाइकरमा वाइएपिका बिमल विक छनौट भएका थिए । साथै उदयमान खेलाडीको रुपमा वाइएपिकै खडक राना भएको रेफ्री संयोजक बिवश बिक्रम शाहले बताए । शाहका अनुसार कपको दोस्रो संकरण पनि सफलता पुर्वक सम्पन्न भएको बताए ।

प्रतियोगिता सफल बनाउन रेफ्री संयोजक बिवश बिक्रम शाह, मनोज शाह, निरज राना, भक्त शाह र प्रनिल चन्दको महत्वपूर्ण भुमिका रहेको बताउदै क्लबका अध्यक्ष विकले रेफ्री टीमलाई धन्यवाद व्यक्त गरेका थिए ।

सहिद विदुर स्मृति पुरस्कारबाट सम्मानित
जाजरकोटमा लामो समयदेखि व्यवसाय गरेका, राजनितिक क्षेत्रमा प्रभाव जमाएका, शिक्षा, स्वास्थ्य, खेलकुद लगायत अन्य क्षेत्रमा योगदान पु¥याएका ४० वर्ष मुनिका पत्रकार, कुषक, व्यवसायी र समाजसेवी लगायतका प्रभावशाली व्यक्तिहरुलाई विदुर पुरस्कार प्रदान गरेर सम्मान गरिएको थियो । युवाहरुलाई प्रोत्सहान गर्न र अन्य युवाहरुलाई प्रेरणा प्रदान गर्ने उदेश्य राखेर उक्त पुरस्कार प्रदान गर्न सुरु गरिएको सहिद स्मृति युवा क्लवका अध्यक्ष विकले बताए ।

यस वर्ष उक्त पुरस्कारबाट ५ जनालाई सम्मान गरिएको छ । जसमा जनप्रतिनिधिको क्षेत्रबाट भेरी नगरपालिकाकी उप–प्रमुख सिता जैसी, पत्रकार जुनिचादे–४ का रेशम खड्का, युवा व्यवसायी भेरी नगरपालिका–४ का भिम बहादुर कार्की, युवा व्यवसायी कुशे गाउपालिका–४ का खिम बहादुर सिंह र कृषक नलगाड नगरपालिका–१० का मोतिराम रावतलाई सम्मान गरिएको थियो ।

आफ्नो पेशामा उनीहरुले गरेको योगदानको कदर गर्दै विदुर स्मृति पुरस्कारबाट सम्मान गरिएको अध्यक्ष विकले बताए । समापन कार्यक्रममा जिल्ला समन्वय समिति जाजरकोटका उप–प्रमुख दल बहादुर सिंह लगायत अन्य सरोकारवाला व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्