
जाजरकोट
बुढानीलकण्ठ नगरपालिका हात्तिगौडा काठमाडौंका प्रमुख मिठाराम अधिकारी, उप–प्रमुख अनिता लामा र नगर शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख ललित विक्रम सिंह जाजरकोट आइपुगेका छन् । अन्तरपालिका शैक्षिक साँझेदारीमा कार्यक्रम संचालन गर्न बुढानीकण्ठ नगरपालिकाका प्रमुख, उप–प्रमुख सहित नगर शिक्षा महाशाखा प्रमुख जाजरकोट पुगेका हुन् ।
भेरी नगरपालिकाको सभाहलमा बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर अन्तरपालिका शैक्षिक अनुभव आदान प्रदान गरिएको थियो । “अन्तरपालिका सहकार्य, शैक्षिक सुधारका लागि अपरिहार्य” को मान्यतामा रहेर आयोजना गरिएको शैक्षिक अनुभव आदान प्रदान कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारी र भेरी नगरपालिकाका उप–प्रमुख सिता जैसी, छेडागाड नगरपालिकाका उप–प्रमुख चन्द्र बहादुर थापा, कुशे गाउँपालिकाका उपाध्यक्ष देविका सिंह, बारेकोट गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा कार्यरत कर्मचारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
भुकम्प प्रभावित क्षेत्र र नेपाल सरकारले निर्धारण गरेका पिछडिएको क्षेत्रका नगर तथा गाउँपालिकासंग अन्तरपालिका शैक्षिक साँझेदारीमा कार्यक्रम संचालन गर्न बुढानीकण्ठ नगरपालिकाले साँझेदारी सम्झौता गरेको बुढानीकण्ठ नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख ललित विक्रम सिंहले जानकारी दिए । दुइ शैक्षिक सत्रसम्म संचालन गरिने कार्यक्रमको मुख्य उदेश्य साँझेदारीमा सम्झौता गरेका पालिकाका विद्यार्थीहरुको नतिजामा बृद्धि गर्न, शिक्षकहरुको पेशागत क्षमता विकास गर्न, विद्यार्थीहरुको शिक्षण सिकाइको मुल्याङ्कणमा नविनतम अभ्यास अबलम्बन गर्न, एकीकृत शैक्षिक क्यालेण्डर र टिचर डायरी कार्यान्वयन गर्न, शैक्षिक केवाइसी अपडेट गर्नु, विद्यार्थी स्टेशनरी सहयोग लगाएतका सिर्जनात्मक कार्यक्रममा अनुभव आदान प्रदान गर्नु रहेको महाशाखा प्रमुख सिंहले बताए ।
बुढानीलकण्ठ नगरपालिकाले हाल देशका २१ वटा स्थानीय तहहरुसंग अन्तरपालिका शैक्षिक साँझेदारीमा कार्यक्रममा सहकार्य गरिरहेको महाशाखा प्रमुख सिंहले जानकारी दिए । उपत्यका भन्दा बारिका स्थानीय तहहरुसंग अनुभव आदान प्रदान गर्न बुढानीलकण्ठ नगरपालिकाले जाजरकोट जिल्लाको भेरी र छेडागाड नगरपालिका, कुशे र बारेकोट गाउँपालिका, डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका र शे–फोक्सुण्डो गाउँपालिकासंग साँझेदारी सम्झौता गरेको बुढानीलकण्ठ नगरपालिकाका उप–प्रमुख अनिता लामाले जानकारी दिइन् । बुढानीलकण्ठ नगरपालिकामा अस्थायी बसोबास गर्ने नागरिकहरु ५ लाख भन्दा बढि रहेको जानकारी दिदै उप–प्रमुख लामाले राजनीतिक विचार, आस्था, संगठन र भोटर लिष्टका आधारमा विभेद गर्न नमिल्ने क्षेत्र भनेकै शिक्षा क्षेत्र भएको भनाइ राखेकी थिइन् ।
सघन शिक्षण सिकाइलाइ वृद्धि गर्न बुढानीलकण्ठ नगरपालिकाले विद्यालयमा खानेपानी, खेलमैदान, भौतिकपूर्वाधार सुधार गर्नुको साथै बालविकास केन्द्रका शिक्षकको तलव बृद्धि, किचेन टिचर, बिषयगत शिक्षक, खाजा व्यवस्थापनमा जोड दिदै आएको उप–प्रमुख लामाले बताइन् । विद्यालय खाजा व्यवस्थापनमा नगरपालिकाले बार्षिक ८ करोड बजेट खर्च गर्ने गरेको उप–प्रमुख लामाले बताइन् ।
एसइइ परीक्षामा चार जिपिए ल्याउने विद्यालयलाइ नगरपालिकाले ५ लाख, विद्यार्थीलाइ एक लाख नगद पुरस्कार दिने व्यवस्था गरेको बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले बताए । बुढानीलकण्ठ नगरपालिकामा ७७ जिल्लाका नागरिकहरुको बसोबास रहेको जानकारी दिदै नगर प्रमुख अधिकारीले अन्तरपालिका शैक्षिक साँझेदारीमा कार्यक्रम संचालन गर्न आबश्यक रहेको बताए । बुढानीलकण्ठ नगरपालिकाले मेयर छात्रबृत्ति, गृहणी शिक्षा, निशुल्क पाठ्यक्रम जस्ता कार्यक्रमबाट शैक्षिक सुधार गर्न सफल भएको प्रमुख अधिकारीले बताए । शैक्षिक सुधार बीना सामाजिक परिवर्तन सम्भव नहुने बताउदै नगर प्रमुख अधिकारीले बुढानीलकण्ठ नगरपालिकाले शैक्षिक विकासको एजेण्डालाइ पहिलो प्राथमिकतामा राखेको भनाइ राखेका थिए ।
भेरी नगरपालिकाका उप–प्रमुख सिता जैसी, छेडागाड नगरपालिकाका उप–प्रमुख चन्द्र बहादुर थापा, कुशे गाउँपालिकाका उपाध्यक्ष देविका सिंह, बारेकोट गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा कार्यरत कर्मचारीले आ–आफ्नो पालिकाले शैक्षिक बिकासको लागि गरेको अभ्यासलाइ सुनाएका थिए । त्यसैगरी बुढानीलकण्ठ नगरपालिकाले जाजरकोटको भेरी, छेडागाड नगरपालिका, बारेकोट र कुशे गाउँपालिकालाइ विद्यालय झौला, कापि, कलम, क्यालेण्डर, सफलताका कथा, कक्षा ५ र ८ को शिक्षण सिकाइ उपलब्धी, कार्यमुलक अनुसन्धान प्रतिवेदन, शैक्षिक दर्पण–२०८१ लगाएतका सामाग्रीहरु हस्तान्तरण गरेको थियो ।