
जाजरकोट
मलस्याँप्रोको लखेटाइबाट गाउँमा पुगेको रेडपाण्डाको उद्धार गरी प्राकृतिक बास स्थानमा छोडिएको छ । बारेकोट गाउँपालिका–८ कोल्लेनी डाँडागाउँ सामुदायिक वनबाट मलस्याँप्रोको लखेटाइबाट सनिबार गाउँमा पुगेको रेडपाण्डालाइ उद्धार गरी प्राकृतिक बास स्थानमा छोडिएको हो ।
मलस्याँप्रोले जंगलबाट लखेटेर कोल्लेनी गाउँमा पुगेको रेडपाण्डालाइ घरपालुवा कुकुरले लखेटेका थिए । कुकुरको लेखेटाइबाट बच्न रेडपाण्डा कोल्लेनी गाउँ नजिकै रहेको नुनाल जंगलमा रहेको ढुङ्काको दुलोमा पसेर जोगिएको थियो । दुलाबाट झिकेर स्थानीय हरिश कुमाइले रेडपाण्डालाइ उद्धार गरेर डोकोले छोपेर सुरक्षित गरेका थिए । रेडपाण्डाले कुमाइको हात टोकेको थियो । रेविज भ्याक्सिन लगाउन लाग्ने खर्च कुमाइले कोल्लेनी डाँडागाउँ सामुदायिक वन उपभोक्त समुहका अध्यक्ष मान बहादुर सिंहबाट चार हजार रुपैया लिने सहमति भएको जैविक विविधता संरक्षक तथा वन्यजन्तु खोजकर्ता गोविन्द बहादुर सिंहले जानकारी दिए ।
डोकोले छोपेर राखिएको रेडपाण्डाको सुरक्षित उद्धार गरी प्राकृतिक बास स्थानमा छोड्नका लागि स्थानीय लाल बहादुर बुढाले जैविक विविधता संरक्षक तथा वन्यजन्तु खोजकर्ता गोविन्द बहादुर सिंहलाइ फोन गरेर बोलाएका थिए । लाल बहादुरको अनुरोधमा कोल्लेनी पुगेका गोविन्द बहादुर सिंहले इलाका वन सव डिभिजन कार्यालय बारेकोटमा कार्यरत रेन्जर जनक बुढा, कोल्लेनी डाँडागाउँ सामुदायिक वन उपभोक्त समुहका अध्यक्ष मान बहादुर सिंह, प्रहरी चौकी सेपुखोलाका इन्चार्ज लगाएतका प्रहरी टोलीलाइ खबर गरेर बोलाएका थिए । सरोकारवाला सबैको उपस्थितिमा सनिबारनै मुजुल्का गरेर रेडपाण्डालाइ प्राकृतिक बास स्थानमा छोडिएको थियो ।
जैविक विविधता संरक्षक तथा वन्यजन्तु खोजकर्ता गोविन्द बहादुर सिंहकानुसार हालसम्म जाजरकोटमा २४ प्रजातिका वन्यजन्तुहरुको उद्धार सहित उपचार गरी प्राकृतिक बास स्थानमा छोडिएको छ ।