
जाजरकोट
नेकपा (माओवादी केन्द्र) निकट जनक्रान्तिका महान सहिद परिवार समाज नेपालले जाजरकोट जिल्लाका स्थानीय तहहरुमा ज्ञापन–पत्र बुझाएको छ । सहिद परिवारका विभिन्न मागहरु राखेर सहिद परिवार समाजले जाजरकोटका स्थानीय तहहरुमा आइतबार ज्ञापन–पत्र बुझाएको हो ।
सहिद तथा बेपत्ता परिवारलाई स्थानीय तहले रोजगारीको व्यवस्था गर्नुपर्ने, सन्ततिलाइ निशुल्क शिक्षाको ग्यारेण्टी गर्नुपर्ने, परिवारका सबै सदस्यहरुको स्थानीय तहले स्वास्थ्य बीमा गर्नुपर्ने माग राखेर जनक्रान्तिका महान सहिद परिवार समाज नेपालले जाजरकोट जिल्लाको भेरी, नलगाड र छेडागाड नगरपालिका, बारेकोट, कुशे र शिवालय गाउँपालिकामा एकसाथ ज्ञापन–पत्र बुझाएको जनक्रान्तिका महान सहिद परिवार समाज नेपाल कर्णाली प्रदेशका उपाध्यक्ष विनोद रावलले जानकारी दिए । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा यही जेठ २८ गते ज्ञापन–पत्र बुझाउने कार्यक्रम तय गरिएको उपाध्यक्ष रावलले बताए ।
उपाध्यक्ष रावलले दिएको जानकारी अनुसार प्रेम विश्वकर्माको नेतृत्वमा भेरी नगरपालिकामा, खिम बहादुर विकको नेतृत्वमा नलगाड नगरपालिकामा, बीर बहादुर रोकायको नेतृत्वमा छेडागाड नगरपालिकामा सहिद परिवार समाज नेपालले ज्ञापन–पत्र बुझाएको छ । त्यसैगरी ईन्द्र बहादुर सिंहको नेतृत्वमा बारेकोट गाउँपालिकामा, भगवान घर्ती मगरको नेतृत्वमा कुशे गाउँपालिकामा र बल बहादुर बुढाको नेतृत्वमा सहिद परिवार समाज नेपालले ज्ञापन–पत्र बुझाएको छ ।
सहिद परिवार समाज नेपालले बुझाएको ज्ञापन–पत्रलाइ बुझ्दै जिल्लाका सबै स्थानीय तहका जनप्रतिनीधि र कर्मचारीहरुले सहिद परिवारका जायज मागहरुलाइ आगामी आर्थिक बर्षदेखि कार्यान्वयनमा ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
















