जाजरकोट
नेपाल स्वयंसेवी रक्तदाता समाज, जाजरकोटले रक्तसंचार केन्द्र (ब्लड बैंक) स्थापनाको अभियान संचालन गरिरहेको छ । ब्लडको अभावमा गाइनो तथा सर्जन सम्बन्धिका माइनर अप्रेशनका लागि जिल्ला भन्दा बाहिर रिफर गर्नुपर्ने अबस्थाको अन्त्य गर्न नेपाल स्वयंसेवी रक्तदाता समाज, जाजरकोटले रक्तसंचार केन्द्र (ब्लड बैंक) स्थापनाको अभियान संचालन गरेको हो ।
जाजरकोट जिल्ला अस्पताल ५० शैयाको स्तर उन्नती भएपछि गाइनो तथा सर्जन सम्बन्धीका माइनर अप्रेशनको सेवा दिदै आएको छ । अप्रेशन सेवालाइ प्रभावकारी बनाउन रक्तसंचार केन्द्र (ब्लड बैंक) को अनिवार्य आबश्यकता रहेको जाजरकोट जिल्ला अस्पतालमा कार्यरत एमडिजीपि डा. दयाराम यादवले बताए । गत बैसाख महिनामा १३ जना, जेठ महिनामा १० जनाको गाइनो अप्रेशन गरेको जानकारी दिदै डा. यादवले अक्सिजन सिलिण्डर नहुदा ४२ हप्ताको एक सुत्केरी महिलालाइ जिल्ला भन्दा बाहिर रिफर गर्नु परेको बताए । जिल्ला अस्पतालमा रहेको अक्सिजन प्लाण्टको पुर्जामा खराबी आएपछि त्यसको मर्मत गर्र्ने मिश्र्त्री सुर्खेतबाट बोलाएका थियौं, मिश्र्त्री समयमै नआएको हुनाले अक्सिजन सिलिण्डर खाली हुन पुगे डा. यादवले भने,–‘सर्जरीका विरामीहरुको लागि अक्सिजन मात्र नभएर ३० मिनेट भित्रै ग्रुप समुह मिल्ने रगत चाहिन्छ ।’ एक पोकामा ३२० एमएल रगत हुने जानकारी दिदै डा. यादवले जाजरकोट जिल्ला अस्पपतालमा प्रतिमहिना ८ देखि १० पोका रगतको आबश्यकता पर्ने बताए ।
५० शैयाको जाजरकोट जिल्ला अस्पतालको भौतिक संरचना निकै राम्रो भएको बताउदै डा. अखिलेस झाले भौतिक संरचना अनुसारको स्वास्थ्य सेवा दिनका लागि जाजरकोटमा रक्तसंचार केन्द्र (ब्लड बैंक) को आबश्यक रहेको बताए । जाजरकोट जिल्ला अस्पतालबाट दिइने दन्त सेवा, नेत्र सेवा, टेलि मेडिशन सेवा उत्कृष्ट रहेको बताउदै डा. झाले गाइनो सर्जरी सेवालाइ प्रभावकारी र गुणस्तरीय बनाउन रक्तसंचार केन्द्र (ब्लड बैंक) को आबश्यक रहेको बताए ।
जिल्लामा रक्त संचार केन्द्र (ब्लड बैंक) स्थापना गर्न चाहिने भौतिक संरचना, आबश्यक जनशक्ति, उपकरणको व्यवस्थापन गर्न आफुहरुले जिल्ला अस्पताल, नेपाल रेडक्रस सोसाइटी, जिल्लाका सात वटै स्थानीय तह र अन्य सरोकारवालाहरुसंग समन्वय तथा सहकार्य गरेर अगाडी बढ्ने नेपाल स्वयंसेवी रक्तदाता समाज, जाजरकोट अध्यक्ष प्रेम वलीको भनाइ रहेको छ । रक्तसंचार केन्द्र (ब्लड बैंक) स्थापना गर्न लाग्ने लागत जुटाउन नेपाल स्वयंसेवी रक्तदाता समाज, जाजरकोटको नामबाट बैंक खाता खोलेर आर्थिक अभियान संचालन गरेको अध्यक्ष वलीले बताए । अभियान संचालन गरेको ४ दिनमा एक लाख १३ हजार ८०० रुपैया आर्थिक सहयोग हुटेको वलीले बताए । आफुले संचालन गरेको अभियानमा सबैले साथ दिन वलीले अपिल गरेका छन् ।
नेपालका प्राय जिल्लामा नेपाल रेडक्रस सोसाइटीले रक्तसंचार केन्द्र (ब्लड बैंक) संचालन गर्दै आएको जानकारी दिदै नेपाल रेडक्रस सोसाइटी जाजरकोट सभापति हरि बहादुर बस्नेतले जाजरकोटमा रक्त संचार केन्द्र संचालनको लागि केही बर्ष पहिला पनि पहल गरिएको जानकारी दिए । रक्तसंचार केन्द्र स्थापना तथा संचालन सम्बन्धि नेपाल सरकारले जारी गरेको कार्यविधिमा केही बर्ष पहिला रक्तसंचार केन्द्र संचालनको लागि नेपाल रेडक्रस सोसाइटीलाइ मात्र अनुमति दिएको भएता पनि अहिले नेपाल रेडक्रस सोसाइटीसंगै सम्बन्धित अस्पतालले पनि संचालन गर्न पाउने व्यवस्था गरेको सभापनि बस्नेतले बताए । रक्तसंचार केन्द्र संचालन गर्नका लागि डाक्टरको नेतृत्वमा ल्याप टेक्निसेन र सहायक टेक्निेसेन गरी तीन जनाको दरबन्दी हुनुपर्ने कार्यविधिमा व्यवस्था गरेको सभापति बस्नेतले बताए ।
केही बर्ष पहिला भेरी नगरपालिकाको आर्थिक सहयोगमा एकजना टेक्निसेनको व्यवस्था गरेर नेपाल रेडक्रस सोसाइटीले व्याग पोलोथिन, औषधिको व्यवस्था गरेर नेपाल स्वयंसेवी रक्तदाता समाज मार्फत रक्तदाताहरुको रगत जम्मा गर्ने गरेको सभापति बस्नेतले जानकारी दिए । एक बर्षसम्म संचालन गरिएको कार्यक्रमबाट ३६ जना विरामीले सेवा लिएको जानकारी दिदै सभापति बस्नेतले रक्तदाताहरुले निशुल्क रगत दान गर्छन तर, रक्तसंचार केन्द्रले शुल्क उठाउँछ भन्ने भाष्य स्थापित भएको हुदा रक्तसंचार केन्द्र संचालनमा चुनौति थपिएको बताए । रक्तसंचार केन्द्र (ब्लड बैंक) स्थापनाका लागि नेपाल स्वयंसेवी रक्तदाता समाज, जाजरकोटले अगाडी बढाएको अभियानमा नेपाल रेडक्रस सोसाइटीको पूर्ण साथ रहेको बताउदै सभापति बस्नेतले नेपाल स्वयंसेवी रक्तदाता समाज, जाजरकोटले संचालन गरेको अभियानमा आफुपनि लाग्ने बताए ।
जिल्लामा रक्तसंचार केन्द्र (ब्लड बैंक) स्थापना गर्न नेपाल स्वयंसेवी रक्तदाता समाज, जाजरकोट अध्यक्ष प्रेम वली, उपाध्यक्ष प्रतिक परियार, सचिव प्रेम विश्वकर्मा, कोषाध्यक्ष जुनुमाया परियार लगाएत ११ सदस्य समितिनै सक्रिय रुपमा लागि परेको छ । उक्त अभियानलाइ पत्रकार काली बहादुर नेपालीले पनि साथ दिएका छन् ।
नेपाल स्वयंसेवी रक्तदाता समाज, जाजरकोट अध्यक्ष वली जाजरकोट जिल्ला अस्पतालमा कार्यरत कर्मचारी पनि हुन् । रगतको अभावमा उपचार पाउन नसकेका विरामी र अस्पतालको वेडमा छटपटाइ रहेका विरामीहरुको अबस्थालाइ नजिकबाट देखेका र बुझेका अध्यक्ष वलीले जाजरकोट जिल्ला अस्पतालमा १६ पटक, रुकुमपश्चिमको चौरजहारी स्थित सामुदायिक अस्पतालमा ६ पटक, सुर्खेत कालागाउँ स्थित प्रदेश अस्पतालमा २ पटक र नेपालगञ्ज स्थित भेरी अस्पतालमा २ पटक गरी जम्मा २६ पटक रगत दान गरि सकेका छन् । अबको केही दिनपछि अर्को पटक रगत दान गर्न सकिने वलीले बताएका छन् ।
रक्तसंचार केन्द्र (ब्लड बैंक) संचालन गर्न पहिलो पटक १५ देखि २० लाख लागत लाग्न सक्ने अनुमान गरिएता पनि अभियान्ता तथा नेपाल स्वयंसेवी रक्तदाता समाज, जाजरकोट अध्यक्ष वलीले ५ देखि ८ लाख जम्मा भएमा रक्तसंचार केन्द्र संचालनमा ल्याउने सोचमा रहेको बताएका छन् ।