News Portal

भेरी नगरपालिकाद्धारा स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक

५१३ पटक

भेरी नगरपालिकाले तीन वटा स्वास्थ्य संस्थामा गरेको सामाजिक परीक्षणको नतिजा सार्वजनिक गरेको छ । आईतबार सरोकारवालाहरुको आम भेलामा नगरपालिकाको स्वास्थ्य शाखाले सामाजिक परीक्षणको नतिजा सार्वजनिक गरेको हो ।

भेलामा स्वास्थ्यको लागि सक्षम प्रणालीको आर्थिक तथा प्राविधिक सहयोगमा भेरी नगरपालिकाको कुदु, पुन्म र जगतिपुर स्वास्थ्य चौकीमा गरिएको सामाजिक परीक्षणको नतिजालाई सार्वजनिकीकरण गरिएको थियो । नगरपालिका भित्र उत्कृष्ट, मध्यम र कम्जोर अबस्थामा रहेका स्वास्थ्य चौकीमा सामाजिक परीक्षण गरिएको भेरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खिम पुनले जानकारी दिए । सामाजिक परीक्षणको नतिजालाई सार्वजनिक गर्न आयोजना गरिएको भेलाको उदेश्य प्रकाश पार्दै शाखा प्रमुख पुनले सामाजिक परीक्षणको नतिजालाई सार्वजनिकीरण गर्न उक्त भेलाको आयोजना गरिएको बताएका थिए । भेलामा उपलब्ध स्वास्थ्य सेवाहरु सर्वसाधारणको पहुँच, सेवाको गुणस्तर, प्रभावकारीता र स्वास्थ्य संस्थाको जवाफदेहिताकोबारेमा सहभागीहरुको राय, सुझाव र प्रतिक्रियाहरु संकलन गर्नुको साथै भेलामा उठेका सवालहरुको सम्बोधनको लागि कार्ययोजना निर्माण गर्न भेलाको आयोजना गरिएको शाखा प्रमुख पुनले भनाई राखेका थिए ।

स्वास्थ्य क्षेत्रबाट प्रदान गरिएका सेवाहरू तथा क्रियाकलापकाबारेमा जानकारी गराई पारदर्शिता कायम गर्न, समावेशी सहभागितामा आम नागरिकको अधिकार, जिम्मेवारी र अपनत्वको भावना विकास गर्न, स्वास्थ्य सेवा प्रदायकलाई आम नागरिक (समावेशी) प्रति जवाफदेही बनाई अपेक्षित उपलब्धिहरू हासिल गर्न, आम नागरिक र स्वास्थ्य संस्थाहरू बीच खुला रूपमा संवाद गर्ने परिपाटीको विकास गर्न र सामाजिक परीक्षणबाट स्वास्थ्य कार्यक्रम संचालन तथा स्वास्थ्य सेवा प्रवाहमा निरन्तर सुधार गर्ने उदेश्यले स्वास्थ्य संस्थाहरुको सामाजिक परीक्षण गरिएको सहजकर्ता बिष्णु पराजुलीले भनाई राखेका थिए । कुदु, पुन्म र जगतिपुर स्वास्थ्य चौकीमा सामाजिक परीक्षण गर्दा नगरपालिकाको स्वास्थ्य शाखा र सुशासन समितिसंग समन्वय गर्नुको साथै स्वास्थ्य संस्थाको छनौट गरिएको सहजकर्ता पराजुलीले बताए । सामाजिक परीक्षणमा समुदायका व्यक्तिहरुसंग छलफल, प्रसुति सेवा पाएका आमाहरुसंग कुराकानी, स्वास्थ्य संस्थाको अवलोकण, महिला स्वास्थ्य स्वयंसेविकाहरुसंग कुराकानी गर्नुको साथै स्वास्थ्यकर्मिहरुसंग अन्तरक्रिया गरिएको सहजकर्ता पराजुलीले भनाई राखेका थिए ।

सामाजिक परीक्षणमा स्वास्थ्य क्षेत्रमा पहुँच एवं उपयोग, स्वास्थ्य सेवाको गुणस्तर, औजार, उपकरण, भौतिक पूर्वाधार, स्वास्थ्य संस्थाको आम्दानी र खर्चको अवस्था, स्वास्थ्य संस्थाको पारदर्शिता एवं जवाफदेहिता, स्वास्थ्य सेवाबारे जानकारी, स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिको भूमिका र देखिएका मुख्य सवालहरु जस्ता क्षेत्रलाई समेटिएको सहजकर्ता पराजुलीको भनाई रहेको थियो ।

सामाजिक परीक्षण गर्दा तीन वटै स्वास्थ्य चौकीमा देखिएका मुख्य सवालहरुमा स्वास्थ्य चौकीमा स्तनपान कक्ष नभएको, ४ पटक गर्भजाँच गर्नेको संख्या कमि रहेको, संस्थागत सुत्केरी प्रोत्सान रकम समयमै उपलब्ध हुन नसकेको सहजकर्ता पराजुलीले जानकारी दिए । उनले दिएको जानकारी अनुसार तीन वटै स्वास्थ्य चौकीमा नागरिक बडापत्र व्यवस्थापन हुन सकेको छैन । शौचालयमा स्यानिटरी प्याड राख्नका लागि ढकनी सहितको बाल्टिनको व्यवस्थापन हुन सकेको छैन । समयमै औषधि उपलब्ध हुन सकेको छैन भने, स्वास्थ्य संस्थामा प्रयाप्त स्टेचरको व्यवस्था हुन सकेको छैन । निशुल्क पाईने औषधिहरुको लिष्ट नेपाली भाषामा लेखिएको छैन भने, महिला–पूरुषको लागि छुट्टाछुट्टै शौचालयको व्यवस्था भएको छैन । नर्सिङ स्टाफको लागि क्वाटरको व्यवस्थापन भएको छैन भने, व्यवस्थापन समितिको बैठक नियमित रुपमा बस्न सकेको छैन । तीन वटै स्वास्थ्य संस्थामा जाने आउने बाटो व्यवस्थित हुन सकेको छैन । सेवाग्राहीहरुको लागि प्रतिक्षालयको व्यवस्था हुन सकेको छैन । तीन वटै स्वास्थ्य चौकीको लेखा परीक्षण भएको छैन ।

सामाजिक परीक्षणको नतिजा सार्वजनिक गर्न आयोजना गरिएको उक्त भेलाले तीन वटै स्वास्थ्य चौकीमा देखिएका मुख्य सावलहरुको समाधान गर्न बार्षिक कार्ययोजना तर्जुमा गरिएको नगर स्वास्थ्य शाखा प्रमुख पुनले जानकारी दिएका छन् । भेलाद्धारा तर्जुमा गरिएको बार्षिक कार्ययोजनामा पहिचान गरिएका मुख्य सवालहरुको समाधान गर्न विभिन्न कृयाकलाप छनौट गर्नुको साथै उक्त कृयाकलाप सम्पन्न गर्नुपर्ने समयअवधि, जिम्मेवार निकाय तथा व्यक्ति, कार्यसम्पादनको अपेक्षित उपलब्धी, अनुगमन गर्ने निकाय तथा व्यक्ति र स्रोत उपलब्ध गराउने सहयोगी निकायको ठोस गरिएको नगर स्वास्थ्य शाखा प्रमुख पुनले जानकारी दिएका छन् ।

तीन वटा स्वास्थ्य चौकीमा गरिएको सामाजिक परीक्षणको सार्वजनिकीकरणमा उठेका सवालहरुलाई सम्बन्धित स्वास्थ्य चौकीमा मात्र नभएर नगरपालिकाका सबै स्वास्थ्य चौकीमा समाधान गरिने भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकाश घर्तीले भनाई राखेका थिए । भेलाद्धारा तर्जुमा गरिएको कार्ययोजनालाई कार्यान्वयन गर्न नगरपालिकाले कुनै पनि कन्जुस्याई नगर्ने भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्तीले भनाई राखेका थिए । तर्जुमा गरिएको कार्ययोजना कार्यान्वयन गर्न १५ दिनको समयअवधि भित्रै नगरपालिकाको कार्यालयमा सम्पर्क गर्न स्वास्थ्य चौकीका ईन्चार्जलाई प्रशासकीय अधिकृत घर्तीले सुजाएका थिए ।

भेरी नगरपालिकाका तीन वटा स्वास्थ्य चौकीको सामाजिक परीक्षणमा आर्थिक तथा प्राविधिक सहयोग गरेको स्वास्थ्यका लागि सक्षम प्रणाली स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा संचालित ५ बर्षे कार्यक्रम हो । परियोजनाले आफ्नो उदेश्य पुरा गर्न मातृ, नवशिशु तथा बाल स्वास्थ्य, परिवार नियोजनको पहुँच विस्तार गर्नुको साथै गुणस्तरमा जोड दिदै आएको छ । परियोजनाले तथ्याङ्कमा आधारित कार्ययोजना तर्जुमा, विकेन्द्रिकृत स्वास्थ्य सेवामा सुशासन ल्याई समानुपातिक सेवाको उपयोग र गुणस्तरीय एवं उत्तरदायि सेवा प्रणालीको विकास गर्न सहयोग गर्ने स्वास्थ्यका लागि सक्षम प्रणालीका प्राविधिक अधिकृत तेतन केसीले जानकारी दिएका छन् । कर्णाली प्रदेशका ७९, लुम्बिनी प्रदेशका बाँके, बर्दिया र दाङका २६ गरी १०५ वटा स्थानीय तहमा सवास्थ्यका लागि सक्षम प्रणालीले कार्यक्रम संचालन गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्