News Portal

नलगाडको रैथाने बालीको खरिद तथा विक्रि गर्ने जिम्मा लियो खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले

डिजिटल संचार संवाददाता२०८१ पौष २५
१३४ पटक

जाजरकोट
नलगाड नगरपालिकामा उत्पादन भएका रैथाने बालीहरुको खरिद तथा विक्रि गर्ने जिम्मा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले लिएको छ । नगरपालिकासंग दुइ पक्षीय सम्झौता गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले नलगाड नगरपालिकाको रैथाने बालीको खरिद तथा विक्रि गर्ने जिम्मा लिएको हो ।

रैथाने बालीको खरिद तथा विक्रि गर्न नलगाड नगरपालिकाले बिहिबार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रधान कार्यालय, काठमाडौंसंग सम्झौता गरेको छ । दुइ पक्षीय सम्झौता पत्रमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रधान कार्यालय, काठमाडौंको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले हस्ताक्षर गरेका छन् भने, नगरपालिकाको तर्फबाट नगरप्रमुख डम्बर बहादुर रावतले हस्ताक्षर गरेका छन् । दुइ पक्षीय सम्झौता पत्रको साक्षीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रधान कार्यालय, काठमाडौंका विभागीय प्रवन्धक भेषनाथ न्यौपाने र माननीय शक्ति बहादुर बस्नेतका स्वकीय सचिव देवराज बोहराले हस्ताक्षर गरेका छन् ।

खाद्य संकटग्रस्त क्षेत्र तथा विपन्न जनताको खाद्य सुरक्षाको सुनिश्चिततामा योगदान गर्नुको साथै प्रतिष्पर्धात्मक वातावरणमा गुणस्तरीय खाद्यान्न आपुर्तिको बजार सुनिश्चित गर्न उक्त दुइ पक्षीय सम्झौताले महत्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ । चिनो, कागुनो, भटमास, कोदो, फापर, मार्सी चामल लगाएतका रैथाने बालीको खरिद तथा विक्रि गर्ने जिम्मा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले लिएपछि नलगाड नगरपालिकाका नागरिकहरुले रैथाने बाली प्रवद्र्धनमा जोड दिने विश्वास गरिएको छ ।

रैथाने बालीको खरिद तथा विक्रि गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाइ आबश्यक पर्ने गोदाम घर, विद्युत, खानेपानी र बिक्री कक्षको व्यवस्थापन गर्ने जिम्मा नलगाड नगरपालिकाले लिएको छ ।

 

उक्त दुइ पक्षीय सम्झौता गर्न नलगाड नगरपालिकाका नगर प्रमुख डम्बर बहादुर रावतसंगै कर्णाली प्रदेशका पुर्व जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंह पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रधान कार्यालयमा पुगेका थिए ।

प्रतिकृया दिनुहोस्