Hamro Sanchar

सुन्तलाको समय र मानिस

प्रकाशित : २०८१/८/१४ गते

–कृष्ण बहादुर गिरी

आज यो लेख मार्फत नेपालको राष्ट्रिय फल सुन्तला र जसको संरक्षक प्राणी मानिस वीचको सम्बन्धलाई चर्चा गर्ने प्रयत्न गरेको छु । यति बेला सुन्तला छानी, छानी खाने र पाउने समय भएकाले पनि चर्चा गर्न उपयुक्त ठानि केहि प्रसंग जोड्न पुगेँ । सुन्तला अन्य फलफूल जस्तो वन जंगलमा आफै उम्रने र फल दिने बिरुवा हैन जस्तो लाग्छ । जंगलमा कतै देखिएको पनि छैन, यो मानिसकै मिहिनेत र हेरचाहबाट फैलिने र फल दिने भएकाले मानिससँग सम्बन्धित फल हो भन्ने निष्कर्षमा पुगेको छु ।

नेपाल सरकार मन्त्री परिषदको मिति २०८० चैत्र ३० गतेको निर्णय अनुसार सुन्तलालाई राष्ट्रिय फल घोषणा गरिएको छ । यो फल ब्यक्तिको रोग प्रतिरोधि क्षमता बढाउन होस, शरिरमा भिटामिन सी को आपूर्ति गर्न होस या त खाध्य संकट टार्नका लागि नै किन नहोस जस्ता यावत कार्यमा मद्त गर्ने, स्वस्थता तथा बृद्धिका लागि उपयोगि हुने भएकाले सुन्तलाको संरक्षण र संम्बर्द्धन एवं ब्यवसायिक क्षेत्रमा सुधार गर्न हौसला मिलोस भन्ने आसयका साथ चर्चा गरिएको छ । हमेशा प्रयोगमा आउने रसिलो, गुलियो र देख्दैमा जिब्रोमा र्याल चुहुन खोज्ने यो फलले समुदायमा राम्रै प्रभाव पारेको छ । दुई चार पैसा कमाउन, साथीभाइ, इष्टमित्रको सर स्वागत गर्न, पुजाआजा गर्न तथा घरमा रमणिय वातावरण देखाउन यो बिरुवा र यसबाट प्राप्त फल अति नै उपयोगि मानिन्छ । यति बेला त झन मानिसहरु यो बिरुवाको नजिक जाने, सेल्फी लिने, रमाउने, खाने, परिपाटीले मनोरन्जनको साधन बन्न गएको छ ।

नेपालका मुख्यगरी पहाडी जिल्लाहरुमा सुन्तला खेती हुने र यो समयमा सुन्तलाले ठूलो बजार लिने तथा आय आर्जनमा केहि सहयोग गर्ने भएकाले यसको उत्पादन क्षमता बढाउन, उन्नत तरिकाले खेती गर्न, आवश्यकता अनुसार उपभोग गर्न सक्ने वातावरण निर्माणका लागि उपयोगि होस भन्ने आसयले मलाई लेख्न उत्साहित गरेको छ ।

यस सम्बन्धि केहि तथ्यहरु हेर्ने हो भने देशका करिब ५६ जिल्लामा सुन्तलाको खेती गरिदो रहेछ । यसले नेपालको कुल ग्रार्हस्थ उत्पादनको ०.९६ प्रतिशत हिस्सा योगट्ने र त्यो हिस्सा भनेको आँप भन्दा थोरै र प्याज भन्दा धेरै हुने रहेछ । आ. व. २०७८।०७९ मा त देशभर १ लाख ८५ हजार ३४६ मेट्रिक टनसम्म सुन्तला उत्पादन हुन पुगेछ । यो एउटा रैथाने फल हो । देशको आर्थिक विकासमा सहयोगि र अधिकांस भु–भागमा फल्ने भएकाले यसको जगेर्ना, प्रचार प्रसार गर्न जो कोहि सचेत नागरिकहरु लाग्नु पर्ने हुन्छ । करिब दुई सय प्रजातिका फलफूल उत्पादन हुने संभावना भएको हाम्रो जस्तो मुलुकमा फलफूललाई ब्यवसायिक क्षेत्रमा जोड्न सकियो भने देशको आय स्रोतमा बृद्धि हुने र नागरिकको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार हुनेमा कुनै सन्देह छैन । तसर्थ आय स्रोत बढाउने देशमै बसेर केही गरु भन्नेका लागि सुन्तला खेती एक अवसर पनि हो । यी नै कर्मले रोजगारी सिर्जना हुने, उद्ययमि र परिश्रमि नागरिक तयार हुनुका साथै समग्र राष्ट्र निर्माणमा मद्धत पुग्ने भएकाले सुन्तला ब्यवसाय संभावनाको क्षेत्र बन्न पुगेको छ ।

यसैसँग सम्बन्धित एउटा प्रसंग छ । विश्व विजय गर्ने अभियान बोकेका फ्रान्सेली सम्राट नेपोलियन बोनापार्टले भनेका थिए–“मलाई असल आमा देउ म तिमीलाई असल राष्ट्र दिनेछु ।” भनाइको मतलव असल राष्ट्र हुनका लागि एउटी असल आमाको जसरी योग्दान हुन सक्दछ । त्यसरी नै असल, स्वस्थ र तन्दुरुष्त आमा बन्नका लागि असल खानपान, सरल जिवनशैली र सहज वातावरणको त्यतिकै योग्दान हुन सक्छ । त्यसैले आमालाई असल वातावरण दिन हाम्रा आँगन पिठाराहरु सुन्तला जस्तै रसिला, रंगिन र हरित गुणले युक्त फलफुलका बगैंचा जस्ता हुनुपर्छ । राज्यले आमाका लागि सकरात्मक सोच, सन्तुष्टि तथा सकृय वातावरण सिर्जना गर्न सक्यो भने मात्रै राष्ट्र अघि बढ्न सक्छ । स्वस्थ आमाले स्वस्थ सन्तान दिन सक्ने र स्वस्थ सन्तान नै स्वस्थ नागरिक हुने र स्वस्थ नागरिकले असल राष्ट्र निर्माणमा सहयोग गर्ने भएकाले यस्ता कर्ममा हामीले जोड दिनु पर्नेछ । अझै भनौं भने, हेरे देखिने, बोले सुनिने, खोजे भेटिने गुण भएको स्थानीय सरकारले त झन आमालाई असल वातावरण दिनका लागि कुनै कसर बाँकी राख्नु हुदैन ।

प्रकृतिले पनि हामीलाई फलफूल तथा अन्नपात अलि बढी पाउने समय यहि सिजनलाई बनाइ दिएको छ । सायद धेरै जसो नेपालीको जन्म मिति हेर्ने हो भने, यो ऋतुमा धेरैको जन्म भएको हुनुपर्छ । किन कि यो समय अन्नपात, फलफूल पाउने र जिउनका लागि सजिलो हुने समय भएर जन्म दर बढि भएको हुनुपर्छ । अनि प्रकृतिले पनि यस्तै जुराइ दिएको छ । प्राचिन कालमा हाम्रा पुर्खाहरु यस्तै फलफूल र कन्दमूलको सहायताबाटै जिएका थिए । तिनका सन्तान, दरसन्तान हामीलाई पनि त्यस्तै गरी फलफूल तथा रसिलो र रंगिन वातावरण प्रतिको मोह नहुने कुरा नै भएन ! उहिलेको त्यहि रंगिन वातावरणलाई जोगाउन, आफ्नो माटो र मातृभूमिलाई रक्षा गर्न हाम्रा पूर्खाहरु प्राण दिन तयार भए तर झुकेनन् । त्यस्तै यो आधुनिक समयका हामी सचेत नागरिकहरुले पनि तीनै पुर्खाले गरेको योग्दान जस्तै गरेर आफ्नी आमा, मातृभूमि, माटो र माटो माथिको उपजको रक्षा गर्न आवश्यक्ता पर्दा ’तरवार होस या कलम’ चलाउनु पछि पर्नु हुदैन ।

अहिले देशमा देखिएको युवा पलायन, बेरोजगारी र गरिबीलाई हामीले बिकराल समस्याका रुपमा भनेका छौं । देशमा बहुदलिय ब्यवस्थाको पुनःस्थापनाको समयमा २०४६ साल तिर देशको ४२ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको तथ्यले देखाउछ भने अहिले आएर मुलुकमा नेपाल जीवन स्तर सर्वेक्षण कार्यक्रम २०७९।०८० ले सार्वजनिक गरेको तथ्याँक अनुसार २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको विवरण सार्वजनिक भएको छ । यो तथ्यको आधारमा देशमा गरिबीको संख्या घट्दै गएको त देखियो तर कारण के होला ? भनेर खोजि गर्दै गर्दा यस्तै उपज, उत्पादन र ब्यवसायले संभव भएको भनेर अनुमान गर्न सकिन्छ । अझै पनि देखिएको यो गरिबीको अवस्थालाई कृषि उपज तथा उत्पादनको सहयोगबाट नै न्यूनिकरण गर्न सकिने छ । त्यसैले हामीले यस्ता फलफुलको प्रबर्द्धन र उत्पादन कार्यमा जोड दिन आवश्यक छ ।

राष्ट्रको ‍औषत गरिबीसँग प्रदेश गरिबीको तुलना गर्दा, कर्णाली र मधेश प्रदेशको गरिबी संख्या बढी छ । अब हामीले यी प्रदेशबाट गरिबी घटाउनु छ । यो पंक्तिकार कर्णालीको एक बिकट जिल्ला जाजरकोट र उक्त जिल्लाको बिकट गाउँपालिका कुशेमा कर्म क्षेत्रका हिसावले जोडिएको हुँदा यो क्षेत्रमा प्राप्त तथा प्रकृतिबाट निःशुल्क प्रद्त्त यस्ता अवस्थाहरुको खोजि तथा अनुसन्धान र प्रबर्द्धन गर्नु आफ्नो धर्म ठानी बेला मौकामा लेख्न र बोल्न उभिने गरेको छ । अहिले यो मौसमले दिएको उपज तथा उत्पादनबाट प्रेरित भइ समय, सन्दर्भले सुन्तलाको यतिको चर्चा गर्ने बनाएको हो । यो चर्चाले यस क्षेत्रलाई माया गर्ने, उत्थानको पक्षमा उभिने जो कोहिलाई सहयोग नै गर्नेछ ।

फलफुल र पशुपालनका लागि अत्यन्त संभावना भएको यो क्षेत्र अर्थात कुशेलाई नेपाल सरकारले २०७३ सालमा सुन्तोला जोन भनेर घोषणा गरेको हो । यद्यपि सुन्तला उत्पादनका हिसावले कर्णाली प्रदेशमा दैलेख, जाजरकोट र सल्यान जिल्लाहरु अन्य जिल्लाको तुलनामा अगाडि भए पनि ब्यवसायिक रुपमा ब्यापकता आउन सकेको छैन । अझै पनि इन्डियाको सुन्तला यहि प्रदेशका मुख्य बजारमा छ्याप छ्याप्ति देख्न पाइन्छ । तर पछिल्लो समयमा यी जिल्लाहरुमा व्यवसायिक खेती गर्ने ब्यक्तिहरु भने बढ्न थालेका छन । कुशे गाउँपालिलाई सुन्तला जोन घोषणा गरिएको परिप्रेक्षमा यो सिजनमा यसको यतिको चर्चा गरियो भने न्याय नै हुनुपर्छ । गाउँपालिका भित्र सुन्तलाका लागि प्रमुख पकेट क्षेत्र मानिने दम्दाला, ढिमे, पिउसे, तर्पेना, नारे, जिन्ताला, पैंक र तम्तिगाउँमा अहिले जताततै लटरम्म परि फलेका सुन्तलाहरु हजारी फुले झैं फलिरहेका छन । यी क्षेत्रमा ब्यवसायिक मानिसहरु पनि थुप्रै छन । बार्षिक करोडको हिसावमा कारोबार हुने हुँदा यसबाट आर्थिक लाभ पनि राम्रै भएको देखिन्छ ।

एउटा खुसीको कुरा के छ भने यस क्षेत्रमा बसोबास गर्ने सबै जनप्रतिनिधि, सबै शिक्षक र सबै कर्मचारीको घरमा सकभर सुन्तला, नभए किवी, माल्टा मध्य कुनै न कुनै एक जातको फलफुलको बिरुवा अवश्य देख्न पाइन्छ । अपबादमा कसैको नहोला धेरै जसोको घरमा छ । हुन त कोहि अल्छि मानिसहरु छन जो बाथरुममा पानी बोक्दैनन् तीनले बगैंचामा के पानी बोक्थे ? बिरुवा उमार्न तथा फलाउन त बाथरुममा पानी बोके झै गरी आवश्यक्ता अनुसार पटक पटक बोके पो त फल देख्न सकिन्छ । मिहिनेतबाट मात्रै त फल प्राप्त हुने हो ।

म त सुन्तलालाई सहजै सबै काममा प्रयोगमा आउने फल मान्दछु । सबैको पहुँचमा हुने, सस्तो जस्तै लाग्ने यो फल जनप्रतिनिधि वा पार्टी नेतृत्व खुसी पार्न होस, हाकिमलाई पट्याउन होस, कर्मचारीबाट काम लिन होस, प्रेमि, प्रेमिकालाई फकाउन किन नहोस वा मानिस जन्मदा र मर्दा पनि जस्तो सुकै समयमा प्रयोगमा आउने बहुमुखि गुण भएको फल को रुपमा लिने गर्छु । म आफैले कहिले कसो कोशेलीको रुपमा धेरै जनाबाट धेरै पटक यो फल प्राप्त गरेको छु । ब्यक्तिको तिक्ष्ण बुद्धिका लागि पनि सुन्तला उपयोगि हो भनिन्छ । यस ठाउँमा त संयोग भनौं कि के भनौं सुन्तलाका पकेट क्षेत्र जतातिर छन त्यतै तिर बसोबास गर्ने धेरै जसो मानिसहरु उद्धयमि, परिश्रमी र पढाइ, लेखाइ तथा रोजगारीमा बढी संलग्न भएको देख्दछु ।

हाम्रो समाजमा सुन्तला फल जस्तै बहुमुखि गुण भएका ब्यक्ति, परिवार, पार्टी, कार्यालय, विद्यालय र समुदाय भएको भए यो दुनियाँ कस्तो हुन्थ्यो होला ? अहिलेको आँकडामा बार्षिक करिब सहत्तरी हजार खर्च गर्न नसक्ने मानिसलाई गरिबीको रेखामुनीको नागरिक भनिएको छ । तर हामीले चाह्यौं भने यो बराबरको रकम जुटाउन दस वटा सुन्तलाका बिरुवा र त्यसबाट उत्पादित फल भए पुग्थ्यो होला ? गरिबी अझै घट्थ्यो होला ! अहिले राजनीतिमा यो वाद त्यो वाद भनिरहेका छौं । गजवको खेती गरेर सुन्तला तिरै सबै क्षेत्रका मानिसहरुलाई आकर्षित गर्न पाए कस्तो हुन्थ्यो होला ! अब उसो भए सुन्तला वाद भन्दै यस्कै उत्पादन र परिकारहरुमा ब्यापकता ल्याइ धरै मानिसहरुलाई जोडि ठुलो बजार ओगट्न पाएको भए कति राजनैतिक बादहरु समेट्न सकिन्थे होला !

हामी वादका पछि उहिल्यै देखि लागिरहेका मान्छे हौं । वादका पछि लाग्ने मानिस र यो फलबीचका गुणहरु पनि कति मिल्दाजुल्दा ? फुल्ने, फल्ने, सुगन्ध दिने, लहलहाउदो छहारी दिने, पहेंलो रंग दिने, अलिकति प्रतिकुल समय भए ओइलाउने, जिग्रीङ्ग हुने, अनि अलि ढंग नजानि नजिक जान खोजे तीखा काँडाले घोच्ने ! ठ्याक्कै मानिसमा जस्तै गुणहरु फलफूलका पनि । जन्मियो, हुर्कियो, घरजम गर्यो, बिरुवाले फल दिए जस्तै गरी नयाँ संन्तान दियो, जान्ने बुझ्ने भइसके पछि सबैलाई सुरक्षा गर्ने छहारी दियो । राम्रो काम गरेर समाजमा बिरुवा जस्तै सुःगन्ध फैलायो, फुल्ने, फल्ने र कहिलै काँहि आइलाग्ने माथि तिखा काँडाले घोचेर जाइलाग्ने तर्साउने, भगाउने । कतिपय गुण मिल्दै जाँदा बिरुवालाई नै चुनाव चिन्हको रुपमा प्रयोग गर्न सकिने ठाउँमा पुग्यौं हामी । यति भइसके पछि मानिस र सुन्तलाको बीचका गुणहरु मिल्दा जुल्दा छन भन्नै पर्यो । तर अहिलेका पुस्ताहरुमा घर, परिवार, पार्टी, कार्यालय, विद्यालय, समुदाय, साथी, भाइहरुमा धेरै जसो सुन्तला जस्तै तीखा काँडाले घोच्ने गुण छ तर त्यस्तै आकर्षक रंग, सुगन्घ र मिठो तथा रसिलो फल दिन सक्ने गुण देख्न सकिदैन । यो फल जतिकै गुण भैदिएको भए समाज कस्तो हुन्थ्यो होला ? मिठा, रसिला यस्ता फलकै सहायताले धेरैलाई आकर्षित गर्न सकिन्थ्यो होला । अब यस्ता बहुगुणी फलको उत्पादन गर्दै युवा पुस्तालाई यहि सुन्तला वाद तिर लगाउनु पर्छ । देशै भरि सुन्तलावाद हुनुपर्छ भन्ने होइन । जहाँ जे फल्छ, जे हुन्छ त्यहि वादमा लागौं त्यसैको सहाराले राजनितिक वादलाई जोडौं ।

शुरु मै भनिएको छ । राष्ट्र निर्माणको जग असल आमा, असल आमा निर्माणको जग खानपान अनि खानपान भित्र फलफूल र अन्न पात हुन । जुन खानामा रसिला, रंगिन र हरित गुणले युक्त बिशेष्ता हुन्छन तीनै ले नै जिवनलाई स्वस्थ बनाउने हुन । तर भर्खर सन्तानको जन्म दिएर सुत्केरी भइ बसेकि आमाले आफ्नो भोक मेटाउन बिरुवामाथि चडेर यस्तै मिठा फल खाना खोज्दा लागु लाग्छ, सुक्छ, देविदेवता बेखुसी हुन्छन भन्ने बिचारबाट ग्रसित समाजमा आमा स्वस्थ कसरी होलिन ? अब यस्ता विचार परिबर्तन गरेर अत्यधिक उत्पादन र उपभोगमा जोड्नु पर्ने भएको छ । अबको पुस्ताले आफूले बोकेको वादलाई यस्तै उत्पादन वाद तिर लगाउनु छ । धेरै साथी, धेरैमित्र शभेच्छुक, शुभ चिन्तक बढाउनु छ र अर्काको बारी तथा बगौंचालाई हानी नोकशानी नपुर्याइ उत्पादन वाद तिर लगाउनु छ त्यसैमा रोजगारी, शान्ति र सकरात्मक सोच फष्टाउन सक्छ । बाँकि पाठकमा !

(लेखकः गिरी कुशे गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा थर्पू भार्म जाजरकोट कार्यरत छन् ।)


Tagged
प्रतिकृया दिनुहोस्