Hamro Sanchar

पाँचतारा युवा संरक्षक मञ्चको सामाजिक लेखा परीक्षण

प्रकाशित : २०८१/५/२३ गते

जाजरकोट
पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटले सामाजिक लेखा परीक्षण गरेको छ । सनिबार जिल्ला सदरमुकाम खलंगामा पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटले सामाजिक लेखा परीक्षण गरेको हो ।

आर्थिक बर्ष २०८०÷०८१ मा संचालन गरिएका कार्यक्रम र खर्च बजेटको जानकारी गर्न पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटले सामाजिक लेखा परीक्षण गरेको थियो । सामाजिक लेखा परीक्षणबाट गुनासो सुनुवाइ गर्नुको साथै रचनात्मक सुझाव संकलन गर्न सामाजिक लेखा परीक्षण गरिएको पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटका अध्यक्ष छवी पन्तले भनाइ राखेका थिए । संस्थालाइ पारदर्शी र जवाफदेही बनाउनुको साथै सहभागीतामुलक समावेशिताको लेखाजोखा गर्न सामाजिक परीक्षणले मद्दत पुग्नेमा अध्यक्ष पन्तले विश्वास व्यक्त गरेका थिए ।

२०५३ सालमा जाजरकोट जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटले समाबेशी गुणस्तरीय शिक्षा, बाल संरक्षण, बाल अधिकार शासन र सौहर्दपूर्ण वातावरण निर्माण, सामुदायिक स्वास्थ्य र पोषण, स्वच्छ खानेपानी तथा सरसफाइ, जिविकोपार्जन, युवा शसक्तिकरण तथा व्यावसायिक सीप विकास, जलवायु परिवर्तन न्युनीकरण, विपद् व्यवस्थापन तथा मानवीय सहयोग, क्षमता विकास, वकालत तथा पैरवीको क्षेत्रमा काम गर्दै आएको पाँचतारा युवा संरक्षक मञ्चका कार्यक्रम निर्देशक टेक बहादु सुनारले भनाइ राखेका थिए । १४५ जना साधारण सदस्यमा ३७ प्रतिशत, ११ सदस्य कार्यसमितिमा ४५ प्रतिशत महिला सहभागिता रहेको कार्यक्रम निर्देशक सुनारले बताए । कार्यसमितिमा १ जना अपाङ्गता भएका व्यक्तिको सहभागिता रहेको जानकारी दिदै कार्यक्रम निर्देशक सुनारले ५ उपसमिति, ४ जना सम्पर्क व्यक्ति, १ जना कानुनी सल्लाहकार, ११ वटा नीति, ४ वटा निर्देशिका, रणनैतिक योजना २०७९–२०८४ रहेको बताएका थिए । सामाजिक लेखा परीक्षण कार्यक्रममा कार्यक्रम निर्देशक सुनारले पाँचतारा युवा संरक्षक मञ्चमा हाल ७६ जना पूर्णकालिन र ११३ जना आंशिक कर्मचारी कार्यरत रहेको बताएका थिए ।

वल्र्डभिजन इन्टरनेशनल, टाइवान र अष्ट्रेलियाको आर्थिक सहयोगमा पाँचतारा युवा संरक्षक मञ्चले समावेशी गुणस्तरीय शिक्षा र बाल स्पोन्सरसिप परियोजना, सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा सहयात्रा–तेस्रो परियोजना, आपतकालिन पुर्नउत्थान विपद् न्युनीकरण परियोजना र जलवायु उत्थानशिल परियोजना संचालन गरिरहेको कार्यक्रम निर्देशक सुनारले बताए । ह्याण्डीक्याप इन्टरनेशनलको आर्थिक सहयोगमा पहुँच अभिवृद्धि परियोजना, ओएचडव्लुको आर्थिक सहयोगमा मातृत्व तथा नवजात शिशुको स्वास्थ्य सेवा सवलीकरण परियोजना संचालन भइ रहेको कार्यक्रम निर्देशक सुनारले बताए । पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटले हाल संचालन गरेका सबै परियोजनाहरुले कुल बजेट २६ करोड भन्दा बढि बजेट खर्च गरेको कार्यक्रम निर्देशक सुनारले बताएका थिए ।

जाजरकोट जिल्लाको नलगाड, भेरी र छेडागाड नगरपालिका, रुकुमपश्चिमको आठबीसकोट नगरपालिका र सानोभेरी गाउँपालिकामा विभिन्न कार्यक्रम संचालन गरिरहेको पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटले सामाजिक लेखा परीक्षण कार्यक्रममा आव २०८०÷०८१ मा संचालन गरिएका विभिन्न कार्यक्रमका कृयाकलाप र खर्च बजेटको अबस्थालाइ देखाउन चित्ररेखा प्रदर्शन गरिएको थियो । प्रदर्शन गरिएका चित्ररेखाहरुलाइ कार्यक्रम संयोजकहरुबाट व्याख्या गरिएको थियो भने, सहभागीहरुले विभिन्न सुझाव सहितको जिज्ञासा राखेका थिए ।

गत कातिक १७ गते रातिको भुकम्पीय विपद तथा आपतले नागरिकको दिनचर्यालाइ परिवर्तन गरिदिएको रुकुमपश्चिमको सानोभेरी गाउँपालिका अध्यक्ष बीर्ष बहादुर बिष्ठले भनाइ राखेका थिए । भुकम्प गए लगतै खोज, उद्धार, उपचार, राहत वितरणदेखि अस्थायी आबास निर्माणसम्म पाँचतारा युवा संरक्षक मञ्चले स्थानीय तहलाइ साथ दिएको बताउदै अध्यक्ष बिष्ठले पाँचतारा युवा संरक्षक मञ्चलाइ धन्यवाद दिएका थिए । भुकम्प जानुभन्दा पहिलेनै गाउँपालिकाको न्यायीक समितिको क्षमता विकास सम्बन्धिको कार्यक्रम संचालन गर्न पाँचताराले गाउँपालिकासंग सम्झौता गरिसकेको स्मरण गर्दै अध्यक्ष विष्ठले भुकम्प गए लगतै ५ लाखको स्थानीय विपद व्यवस्थापन कोष स्थापना गरेर ठुलो सहयोग गरेको भनाइ राखेका थिए । दीर्घकालिन रुपमा जनतालाइ खुशी बनाउने तरिकाको खोजी गर्नुको साथै संस्थागत विकासलाइ स्थानीय तहमा जोड्न संस्थाहरुबाट सिक्नुपर्ने धेरै विषयहरु रहेको भनाइ राखेका थिए ।

भुकम्पीय विपद् व्यवस्थापनले संघीयताको महत्व र आवश्यकतालाइ पुष्टी गरेको रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाका प्रमुख रवी केसीले भनाइ राखेका थिए । गत कातिक १७ गते राति गएको भुकम्पबाट ठुलो जनधनको क्षेति भएको बताउदै प्रमुख केसीले खोज, उद्धार तथा उपचार कार्य देशकै पहिलो नमुना बनेको बताए । जनताको घर नजिकको सरकार स्थानीय तहहरु नभएको भए नमुनाका रुपमा खोज, उद्धार तथा उपचारको काम सम्भव हुने थिएन प्रमुख केसीले भने, संघीयता चाहिदैन भन्ने आवाज पनि उठीरहेको छ, जनताप्रति जवाफदेही र उत्तरदायि घर नजिकका स्थानीय तहहरुनै हुन् । लाभग्राही कायम गर्न, अस्थायी आबास निर्माणको लागि पहिलो र दोस्रो किस्ता दिनका लागि अस्थायी आबास निर्माण अनुदान कार्यविधिले स्पष्ट गर्न नसकेको नगर प्रमुख केसीले भनाइ राखेका थिए । भुकम्पको पुर्ननिर्माणसम्म पाँचतारा लगाएतका अन्य संघ÷संस्थाहरुले स्थानीय तहलाइ साथ दिनुपर्ने बताउदै नगर प्रमुख केसीले कृषि उत्पादन लगाएतका आयआर्जनका कार्यक्रम ल्याउन आग्रह गरेका थिए ।

गत कातिक १७ गतेको भुकम्पले नलगाड नगरपालिकामा सबैभन्दा बढि जनधनको क्षेति गरेको बताउदै नलगाड नगरपालिकाका प्रमुख डम्बर बहादुर रावतले भुकम्पीय विपदको वेला नगरपालिकालाइ साथ दिएकोमा पाँचतारा युवा संरक्षक मञ्चलाइ धन्यवाद दिएका थिए । भुकम्प प्रतिकार्यमा पाँचतारा युवा संरक्षक मञ्चले तुलनात्मक रुपमा अन्य पालिका भन्दा बढि नलगाड नगरपालिकामा सहयोग गरेको बताउदै नगर प्रमुख रावतले पुर्ननिर्माणमा पनि पाँचतारा युवा संरक्षक मञ्चले साथ दिनेमा विश्वास व्यक्त गरेका थिए ।

विकास र समृद्धिको नारामा मात्र नभएर दुख र विपदको वेला संघ÷संस्थाहरुले स्थानीय तहहरुलाइ साथ दिने गरेको भेरी नगरपालिकाका उपप्रमुख सिता जैसीले भनाइ राखेकि थिइन् । भुकम्पको पुर्ननिर्माणसम्म पाँचतारा लगाएतका संघ÷संस्थाहरुले भेरी नगरपालिकालाइ साथ दिनेमा उपप्रमुख जैसीले विश्वास व्यक्त गरेकि थिइन् ।

विकास र समृद्धिको लागि समाजलाइ सहि मार्ग दर्शन गर्नुको साथै विपद् व्यवस्थापनमा सरकार, गैरसरकारी संस्था र नीजि क्षेत्र समन्वयात्मक रुपमा अगाडी बढ्नुपर्ने प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भनाइ राखेका थिए । गैरसरकारी संस्था र नीजि क्षेत्रले सरकारलाइ कहिलेसम्म साथ दिइ राख्ने भन्ने विषय पनि उठ्ने गरेको प्रजिअ अधिकारीले बताए । भुकम्पको प्राकम्पनबाट ढलेको सिंङ्गै जिल्लालाइ फेरी उठाउनुपर्ने जिम्मेवारी आएको बताउदै प्रजिअ अधिकारीले पुर्नििनर्माणमा आबश्यक पर्ने जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका थिए । गैरसरकारी संस्थाहरुले स्थानीय नागरिकहरुलाइ सिकर्मी, डकर्मी तालिम दिनुपर्नेमा प्रजिअ अधिकारीले जोड दिएका थिए ।

सरकारी तथा गैरसरकारी निकायबाट जिल्लामा ठुलो बजेट खर्च भएको बताउदै जिल्ला समन्वय समितिका प्रमुख काली बहादुर खत्रीले खर्च अनुसारको प्रगति हुन नसकेको बताए । सामाजिक लेखा परीक्षणका प्रमुख अतिथि समेत रहेका जिसस प्रमुख खत्रीले अनियमिततालाइ न्युनिकरण गर्नुपर्नेमा जोड दिएका दिए ।

उक्त सामाजिक लेखा परीक्षण कार्यक्रममा कर्णाली बाल समितिका सदस्य राजेन्द्र विक्रम शाह, नेपाल पत्रकार महासंघ जाजरकोट अध्यक्ष बाल कुमार शर्मा, गैरसरकारी संस्था, जाजरकोटका कावा अध्यक्ष सहदेब बस्नेतले सुझाव मुलक भनाइ राखेका थिए । पाँचतारा युवा संरक्षक मञ्चका उपाध्यक्ष आशा शाह कार्कीले स्वागत भाषण गरेको कार्यक्रमको संचालन पत्रकार बासुदेव शर्माले गरेका थिए ।


Tagged
प्रतिकृया दिनुहोस्