News Portal

नेता सिंहद्वारा आमाबुवाको स्मृतिमा छात्रवृत्ति वितरण

७४० पटक

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक–दोलखा इन्चार्ज पूर्णबहादुर सिंह ‘प्रवीण’ ले जाजरकोटको एक विद्यालयमा छात्रवृति वितरण गरेका छन् । नेता सिंहले आमा बुवाको स्मृतिमा विद्यालयमा छात्रवृति बितरण गरेका गर्नुको साथै शहिद परिवारलाई दोसल्ला ओडाएर सम्मान गरेका हुन् ।

नेता सिंहले बुवा बितु सिंह र आमा बिन्दासरा सिंहको स्मृतिमा आमा बुवाको सम्मान स्वरुप ‘बितु सिंह–बिन्दासरा सिंह स्मृति प्रतिष्ठान’ र छात्रवृत्ति कोष स्थापना गरी आफू अध्ययनरत विद्यालयका दुई मेधावी छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरेका छन् । नेता सिंहको जन्मस्थल जाजरकोटको टालेगाउँ स्थित आफूले अध्ययन गरेका जनकल्याण आधारभूत विद्यालय कुशे–२, गुमथलेमा अध्ययनरत छात्रछात्रामध्ये कक्षा ३ मा अध्ययनरत जेहेन्दार छात्रा अम्बिका सिंह र कक्षा ७ मा अध्ययनरत विद्यालय प्रथम करिष्मा सिंहले यस वर्षको छात्रवृत्ति रकम जनही पाँच हजार नगद हस्तान्तरण गरेका छन् ।

यही मङ्सिर २० गते बिन्दासरा सिंहको निधनको सातौँ स्मृति दिवसमा मेधावी दुई छात्रा र स्थानीय लोकबाजा समूहलाई पनि संस्थाका संस्थापक पूर्णबहादुर सिंहले पाँचपाँच हजार नगद प्रदान गरेका थिए । जनकल्याण आधारभूत विद्यालय नेकपाका नेता सिंहका बुबा बितु सिंह र स्थानीय मानबहादुर सिंहको पहलमा २०४५ सालमा स्थापना भएको हो ।

प्रतिष्ठानका संस्थापक सिंह र उनकी जीवनसँगिनी उषा सिंहले टालेगाउँका खड्गबहादुर चलाउने ‘तेज’, गोपालबहादुर सिंह ‘तुफान’, कृष्णबहादुर सिंह ‘अपार’, शिवबहादुर सिंह ‘सङ्ग्राम’ र ललितबहादुर सिंह ‘मण्डल’ गरी पाँच सहिद परिवारका सदस्यलाई दोसल्ला ओढाएर सम्मान तथा अभिनन्दन गरेका थिए । उक्त कार्यक्रममा विद्यालयमा अध्ययनरत १८१ जना विद्यार्थीहरुलाई अभ्यासपुस्तिका, सिसाकलम, डट्पेनका साथै विद्यालयलाई पुस्तक लगायत शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा जाजरकोट जिल्ला इन्चार्ज सङ्गम आरसीले बुवाआमाको स्मृतिमा सिंहले नयाँ संस्कृति आरम्भ गरेको भन्दै बधाई तथा शुमकामना दिएका थिए । नेकपाको नयाँ कार्यदिशा एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवाद स्थापनाका लागि प्रगतिशील संयुक्त सरकार गठन गरी जनमतसङ्ग्रह गर्नुपर्ने उनको भनाइ रहेको थियो ।

प्रतिष्ठानका संस्थापक तथा नेकपा नेता सिंहले महान् जनयुद्धमा आफूहरुले सहिद बन्ने अवसर नपाए पनि बाँचेर एकीकृत जनक्रान्तिबाट वैज्ञानिक समाजवाद स्थापना गरी सहिदका सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । आफूले बुवाआमालाई देवत्वकरण गर्न खोजेको नभई सामाजिक–साँंस्कृतिक रुपान्तरणमा योगदान गर्ने अग्रजको सम्मान गरेर नयाँ संस्कृतिको आरम्भ गरेको भनाई राखेका थिए ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सचिव तथा रातो खबर प्रकाशन गृहका सम्पादक अशोक सुवेदीले परम्परागत तथा रूढीगत संस्कार र संस्कृति उल्ट्याउँदै नयाँ र समाजवादी संस्कृति आरम्भ गरेको भन्दै सिंहलाई बधाई ज्ञापन गरेका थिए । अग्रजको सम्मान गर्न वैज्ञानिक समाजवादी संस्कृतिले मात्र सक्ने भन्दै उनले बाँचुन्जेल दुःख दिने र मृत्युपछि किरियाकर्मको नाटक गर्ने अमानवीय संस्कृतिको अन्त्य गर्नुपर्ने भनाई राखेका थिए । कार्यक्रममा सहिद परिवारले नौलो बिहानी मासिकको सहिद र बलिदान विशेषाङ्क लोकार्पण गरेका थिए ।

नेकपा जाजरकोट कुशे गाउँ समितिका इन्चार्ज रेडियमको अध्यक्षता र प्रतिष्ठानका सदस्य परमेश्वर शाहले सञ्चालन गरेको कार्यक्रममा अखिल नेपाल जनसांस्कृतिक महासङ्घका कार्यालय सदस्य तथा अखिल नेपाल ललितकला संघका संयोजक अग्निराज पौडेल ‘अराप’ र विद्यार्थी नेता उषाकिरण आजादले कविता वाचन गरेका थिए भने, स्थानीय शिक्षक दीपककुमार सिंह, नेकपा सिन्धुपाल्चोक विशेष समितिका सदस्य मुकुन्द श्रेष्ठ लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा एकीकृत जनसांस्कृतिक परिवारका कलाकारले जनवादी सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

स्थानीय विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, सयौं स्थानीय नागरिकहरुको सहभागिता रहेको उक्त कार्यक्रममा नेकपा जाजरकोटको अभियान टोली र जिल्ला समितिका सदस्यहरूको सहभागिता रहेको थियो ।

प्रतिष्ठानले हरेक वर्ष मङ्सिर २० गते विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न कोष स्थापना गर्ने निर्णय गरेको छ । बिन्दासरा र बितु सिंहले छोरा पूर्णबहादुर सिंह र छोरी जल्दरा सिंहलाई टीका लगाएर विगत जनयुद्धमा लामबद्ध हुन प्रेरित गरेका थिए ।

प्रतिकृया दिनुहोस्