News Portal

जुवा खेलि रहेको अवस्थामा जाजरकोटमा ढाई लाख नगद सहित १४ जना पक्राउ

११३८ पटक

जुवा खेलि रहेको अबस्थामा ढाईलाख नगद सहित १४ जना प्रक्राउ परेका छन् । जिल्ला सदरमुकाम खलंगाको एक घरमा जुवा खेलिरहेको अबस्थामा प्रहरीले आईतबार बिहान साढी ३ बजे ढाई लाख नगद सहित १४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा शिक्षक, कर्मचारी, जनप्रतिनीधि र राजनैतिक दलका नेता रहेका छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटले दिएको जानकारी अनुसार २ लाख ५२ हजार १२० नगद, २ गड्डी तास सहित १४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भेरी नगरपालिका–५ का दल बहादुर घर्ती, ४ का प्रचण्ड शाह, ८ का जीवन खत्री, ४ का प्रभात केसी, ६ का शशि वुढा, ४ का सन्तोष श्रेष्ठ, ४ कै निराजन भडेल रहेका छन् । त्यसैगरी छेडागाड नगरपालिका–१३ का कर्ण बहादुर खड्का, ५ का प्रकाशमान सिंह, १० का पशुराम गिरी पक्राउ परेका छन् । कुशे गाउँपालिका–९ का दिकपाल आरसी पक्राउ परेका छन् भने, रुकुमपश्चिम चौरजहारी नगरपालिका–६ का बिकास विक र ३ का बालकृष्ण बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ । विशेष सुचनाको आधारमा प्रहरी निरिक्षक शिव कुमार क्षेत्रीको कमाण्डमा गएको १५ जनाको प्रहरी टोलीले भेरी नगरपालिका–४ गैरीखाली स्थित सन्तोष श्रेष्ठको घरबाट जुवा खेलिरहेको अबस्थामा उक्त व्यक्तिहरुलाई प्रक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका भेरी नगरपालिका–६ का शशि बुढा वडा अध्यक्ष र नेपाली कांग्रेस भेरी नगर सभापति हुन् । त्यसैगरी छेडागाड–१३ कर्ण बहादुर खड्का नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य हुन् । भेरी नगरपालिका–५ का दल बहादुर घर्ती भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हुन् । भेरी–४ का प्रचण्ड शाह वडा सचिव हुन् । कुशे गाउँपालिका–८ का दिकपाल आरसी र छेडागाड–१० का पशुराम गिरी शिक्षक हुन् ।

पक्राउ परेका १४ जनाको साथमा विभिन्न कम्पनीका १३ वटा मोबाईल सेट बरामत भएको प्रहरीले जनाएको छ । जुवाको खेलमा खेलाडीहरुले मोबाईल बैकिंक सेवाको प्रयोग गरेको हुन सक्ने प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरीले थप अनुसन्धान गरी म्याद थपको प्रक्रियालाई अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ ।

प्रतिकृया दिनुहोस्