News Portal

टिमुरका बिरुवा बितरणमा नाफाको व्यापार

१२७४ पटक

टिमुर खेतीप्रति जिल्लाका किसानहरुको आकर्षण बढेको छ । केही बर्ष यता प्रत्येक बर्ष एक लाख भन्दा बढि टिमुरका बिरुवा रोपन गर्न समुह, सहकारी र फर्महरुलाई वितरण गर्ने गरिएको छ । बहुँउपयोगी टिमुर खेतीबाट प्रत्येक बर्ष आर्थिक लाभ हासिल गर्न सकिने भएको हुदा टिमुर खेतीप्रति किसानहरुको आकर्षण बढेको हो ।

मसलादार खानाका परिकार र विभिन्न औषधिहरुमा प्रयोग हुदै आएको टिमुरले सजिलै विश्व बजार पाएपछि टिमुरको व्यापार पनि बर्षेनी बढ्दो क्रममा रहेको छ । छिट्टै आर्थिक लाभसंग जोड्न सकिने भएको हुदा टिमुर खेतीप्रति किसानहरुलाई आर्कर्षित गर्न तिनै तहका सरकार लगाएत अन्य विभिन्न निकायहरु लागि परेका छन् । जनतामा रहेको गरिबीलाई घटाउनुको साथै बेरोजगारी समस्यालाई समाधान गर्न सरकार र जनप्रतिनीधिहरुका लागि टिमुर खेती एक माध्याम बनेको छ । जडिबुटीजन्य बनस्पतीको हव बनाउन जिल्लामा हाईटेक नसरीहरुको परिकल्पनासंगै बजेट सहितका योजनाहरु पनि नआएका होईनन् । बजेट सहित जिल्लामा पटक–पटक आएका हाईटेक नसरीका योजनाहरुको कार्यान्वयनको अबस्था कस्तो भई रहेको छ ?, किसानहरुले कति लाभ हासिल गरिरहेका छन् ? भन्ने बिषयमा सर्बपक्षिय अध्ययन, अनुगमन तथा मुल्याङ्कण हुन भने बाँकी नै छ ।

नागरिकहरुमा रहेको गरिबी र बेरोजगारीको सवालसंग जोडेर गर्न थालिएको टिमुर खेती प्रबद्र्धनमा कृषि बिकास कार्यालय, पहाडी साना किसानका लागि अनुकुलन आयोजना (ASHA), डिभिजन वन कार्यालयको मात्र तथ्याङ्कलाई हेर्दा आर्थिक बर्ष २०७७÷०७८ मा जिल्लाका विभिन्न ठाउँका किसानहरुलाई ६७ हजार भन्दा बढि टिमुरका बिरुवाहरु बितरण गरेको पाईएको छ । जिल्लाका सात वटै स्थानीय तह र कृषि बिकास कार्यालय मार्फत कर्णाली प्रदेश सरकारले संचालन गरेको मुख्यमन्त्री रोजगार कार्यक्रमबाट बितरण गरिका टिमुरका बिरुवाहरुको तथ्याङ्क अझै पनि संकलन हुन सकेको छैन् । जडिवुटीजन्य बर्षे बनस्पतीका रुपमा रहेको टिमुर गत आव ०७७÷०७८ मा जिल्ला भरी एक लाख भन्दा बढि विरुवा बितरण भएका छन् भन्दा कुनै हवाई कल्पना र अनुमान नभएर बस्तुसंगत नै हुन्छ ।

जिल्लाका किसानहरुलाई वितरण गरिएका एक लाख भन्दा बढि टिमुरका बिरुवाहरु कहाँबाट कसरी खरिद गरिएको छ ? भुक्तानीको लागि कहाँको नसरीको बील प्रयोग गरिएको छ भन्ने कुरालाई अध्ययनको बिषय बनाउन जरुरी छ । नेपाल सरकार तथा प्रदेश सरकारको अनुदानमा बनाईएका हाईटेक नसरीहरुले जिल्लामा चाहिएका टिमुरका बिरुवाहरु उत्पादन गर्न नसकेका हुन ? वा सकेर पनि खरिद गर्ने निकायले उक्त नसरीबाट बिरुवा खरिद गर्न ईच्छुक नभएका हुन ? यसलाई अनुसन्धानको बिषय बनाउन जरुरी छ ।

माग अनुसार टिमुरका बिरुवा उत्पादन गर्नलाई हाईटेक नसरी मात्र नभएर लोटेक नसरीहरु नै जिल्लामा काफी छन् तर, उक्त नसरीबाट बिरुवाहरु खरिद भएको देखिदैन् । सरकारी दर रेटमा सल्यानको बागचौर ठेगाना रहेका नसरीका बीलहरुमा कतिपय कार्यालयले भुक्तानी दिने गरेको बुझिएको छ ।

छेडागाड नगरपालिका–१२ सिरुगारका भीम बहादुर खत्रीले नसरी स्थापना गरेको २५ बर्षभन्दा बढि भई सकेको छ । ६ रोपनी जग्गामा रहेको खत्री नसरीले बिशेषगरी टिमुरका बिरुवा उत्पादन गर्दै आएको छ । खत्री नसरीले उत्पादन गरेका ६० हजार टिमुरका बिरुवा बिक्री नभएर व्याडमै रुख बन्ने अबस्थामा पुगेका छन् । टिमुरका विरुवा उत्पादन गर्ने खत्री नसरी जस्तै जिल्लामा आधा दर्जन भन्दा बढि नसरीहरु रहेका छन् । आफ्नै कार्यालयले दिएको अनुदानबाट स्थापना तथा संचालनमा रहेका जिल्लाकै नसरीबाट टिमुरका बिरुवाहरु खरिद नगरेर सल्यान, सुर्खेतका नसरीबाट बिरुवा खरिद गर्नुको कारण र रहस्य बाहिर आउन अब ढिलाई भईसकेको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रको सुन्दर पक्षका रुपमा सु–शासनलाई लिने गरिएको छ । भ्रष्टाचार बिरुद्ध सुन्य सहनशिलताको नीति लिईने छ भनेर तीनै तहका सरकारले प्रस्तुत गरिने प्रत्येक नीति तथा कार्यक्रममा भन्ने गरिन्छ । तर, सरकारी अनुदानमा किसानहरुलाई बितरण गरिने बिरुवामै भ्रष्टाचारको चहलखेल गर्ने प्रयास गरेको देखिन्छ । प्रति विरुवा २५ रुपैयामा दिदा दिदै पनि छेडागाड नगरपालिका–१२ सिरुगारको खत्री नसरीबाट बिरुवा खरिद किन गरिदैन ? सल्यान बागचौर ठेगाना रहेको नसरीबाट प्रतिबिरुवा ४५ रुपैयाको बील प्रयोग गरेर पहाडी साना किसानका लागि अनुकुलन आयोजना (ASHA) जिल्ला आयोजना समन्वय इकाई, जाजरकोटले २६ हजार ६५० बिरुवाको बील भुक्तानी गरिएको रेन्जर सुजाता खड्काको भनाई रहेको छ । आशा आयोजनाले २६ हजार ६५० टिमुरका बिरुवा भेरी नगरपालिका, छेडागाड नगरपालिका र कुशे गाउँपालिकामा बिरण गरेको थियो ।

त्यसैगरी ढुवानी सहित प्रतिविरुवा ३५ रुपैयाको बीलमा डिभिजन वन कार्यालय, जाजरकोटले २४ हजार २०० टिमुरका बिरुवाको बील भुक्तानी दिएको बुझिएको छ । डिभिजन वन कार्यालयको अनुदानमा केही समुहले नलगाड नगरपालिका–३ कैना, बारेकोट गाउँपालिका–५ नायकबाडा र कुशे गाउँपालिका–५ दम्दालाको नसरीबाट टिमुरका बिरुवा खरिद गरिएको भएता पनि अधिकांश समुहले सल्यानको बागचौरकै नसरीको बील पेश गरेर भुक्तानी लिएको बुझिएको छ । डिभिजन वन कार्यालयको अनुदानमा २४ हजार २०० टिमुरका विरुवा शिवालय, बारेकोट, जुनीचाँदे, कुशे गाउँपालिका, छेडागाड र नलगाड नगरपालिकामा बितरण गरिएको थियो ।

कृषि बिकास कार्यालय, जाजरकोटले लक्षित वर्ग कार्यक्रम अन्गरगत नलगाड नगरपालिका–६ गर्छिनामा १५ हजार र छेडागाड नगरपालिका–१ मा १ हजार २५० गरी जम्मा १६ हजार २५० टिमुर टिमुरका बिरुवा बितरण गरेको छ । कृषि बिकास कार्यालयले पनि ढुवानी सहित प्रतिविरुवा ३५ रुपैयाको दरले भुक्तानी दिएको बुभिएको छ । कृषि बिकास कार्यालय मार्फत संचालित मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तरगत बितरण गरिएका टिमुर लगाएत अन्य प्रजातिका बिरुवाहरुको तथ्याङ्क संकलन भई नसकेको कार्यालय प्रमुख गणेश अधिकारीको भनाई रहेको छ ।

सल्यान बागचौरमा रहेको सभ्यता बहुँउदेश्य कृषि नसरीले २ बर्षे टिमुरका विरुवा ढुवानी सहित जाजरकोटमा प्रतिविरुवा १० रुपैयामा पुर्याउन सकिने प्रोपराईटर टिकाराम वलीको भनाई रहेको छ । १० रुपैयामा जाजरकोट आईपुग्ने टिमुरको प्रतिविरुवा ३५ देखि ४५ रुपैया कार्यालयबाट भुक्तानी भएपछि बिरुवाको व्यापारबाट बिचौलियाहरुले कति नाफा लिदा रहेछन् भन्ने कुरा प्रष्टै बुझ्न सकिन्छ ।

धेरै नाफा खानेगरी यहाँ टिमुरको विरुवाको मात्र व्यापार छैन, धेरै प्रजातिका बिरुवाहरु खरिद तथा बितरण हुने गरेको छ । कृषि विकास कार्यालयले हिउदे र बर्षे सिजनका विरुवाहरु बितरण गर्ने गरेको छ भने, डिभिजन वन कार्यालय र आशा आयोजनाले बर्षे विरुवाहरु बितरण गर्ने गरेको छ । मसला, बकाईनो, सिसौं, रिठा, मयुरपंखी, अमला, सितल चिनी लगाएतका प्रजातिका एक लाख विरुवा आफैले उत्पादन गरेर बितरण गरेको डिभिजन वन कार्यालयले टिमुर, भिम, अशोक, कपुर लगाएतका प्रजातिका बिरुवाहरु खरिद गरेर बितरण गर्ने गरेको छ ।

हिउदे फलफुलमा किवी, च्याङ्कलर (टर्की) ओखर, स्याउ, नास्पति, आरु प्रजातिका बिरुवाहरु वितरण गर्दै आएको कृषि विकास कार्यालयले बर्षे फलफुल अन्तरगत टिमुर, सुन्तला, कागति, आँप, लिची, एवोगाड लगाएतका प्रजातिका बिरुवाहरु बितरण गर्दै आएको छ ।

६ रोपनी जग्गामा २०५२ सालमा छेडागाड नगरपालिका–१२ सिरुगारमा नसरी स्थापना गरेका भीम बहादुर खत्रीले एक हेक्टर जग्गामा फलफुलको बगैचा निर्माण गरेका छन् । उनको नसरीमा ६० हजार टिमुरका बिरुवा रहेका छन् भने, २५ हजार सुन्तला, ८ हजार कागतिका बिरुवा रहेका छन् । लोटेककै भएता पनि खत्री नसरीले अनार, हलुवाबेद लगाएतका फलफुल र बकाईनो, ईपिललिपिल जस्ता डाँलेघाँसका बिरुवाहरु उत्पादन गर्ने गरेको छ ।

कानूनी प्रक्रिया मिलाउन समुहकै खरिद समितिद्धारा विरुवा खरिद गर्ने गरिएको भएतापनि स्वास्थकर बिरुवाको परीक्षणका नाममा समितिलाई प्राविधिकहरुले नसरी सिफारिस गर्ने गरिएको देखिन्छ । भुक्तानी लिनको लागि दर्ता नसरीको पेन बील हुनु पर्ने, घटी घटाईको कोटेशन दिनुपर्ने जस्ता कानुनी व्यवस्था मिलाइएको भएता पनि जिल्ला दर रेटमै भुक्तानी दिनुले नाफाको बिरुवा व्यापारलाई प्रष्ट पारेको छ ।

प्रतिकृया दिनुहोस्