News Portal

अष्ट्रीयाका जेष्ठ नागरिकको सहयोग

बिपन्न ५० घरपरिवारले पाए खाद्य सामाग्री

५९८ पटक

भेरी नगरपालिका–१ का विपन्न ५० घर परिवारले खाद्यन्न पाएका छन् । अष्ट्रीयाका जेष्ठ नागरिकको आर्थिक सहयोगमा भेरी–१ का विपन्न ५० घर परिवारले खाद्यन्न पाएका हुन् ।

फ्रिजी लाईट अष्ट्रीया, गैर नाफामुलक संस्था मार्फत अष्ट्रीयाका जेष्ठ नागरिकको आर्थिक सहयोगमा सनिबार ५० विपन्न घर परिवारलाई खाद्यन्न बितरण गरिएको छ । विश्वव्यापी कोरोना भाइरस संक्रमणको प्रभावबाट प्रभावित ५० घरपरिवारलाई खाद्यन्न वितरण गरिएको हो । प्रतिपरिवार २५ किलो मसिनो चामल, १ किलो दाल, १ किलो नुन, १ पोका स्वाईवीन सहितको खाद्य सामाग्री वितरण गरिएको थियो । कोरोना भाईरसको संक्रमणलाई रोकथाम, नियन्त्रण तथा उपचार गर्न नेपाल सरकारले गरेको निषेधाज्ञाबाट प्रभावित भएका, ज्याला मजुरी गरेर जीवन निर्वाह गर्दै आएका ५० घर परिवारलाई उक्त खाद्य सामाग्री वितरण गरिएको थियो । अष्ट्रीयाका ७६ बर्षिय जेष्ठ नागरिक फ्रिची ग्राहीस र उनको ८६ बर्षिय श्रीमति क्रिष्टीने यारोसको आर्थिक सहयोगमा फ्रिजी लाईट अष्ट्रीयाका नेपाल प्रतिनीधि सोलुखुम्बुका छिरिङ्ग लामा सेर्पा र उनको श्रीमति डा. सुवेक्षादेव श्रेष्ठ सनिबार भेरी–१ पिपेमा पुगेका थिए ।

मानव जातिलाई स्वास्थ्य सुरक्षाको चुनौति दिई रहेको कोरोना भाईरसको संक्रमणले नेपालको अर्थतन्त्रलाई धारासाही बनाएको भेरी नगरपालिका–१ का वडा अध्यक्ष दीपक रानाले भनाई राखेका थिए । विश्वव्यापी कोरोना भाइरसकै कारण रेमिट्यान्सबाट चलेको नेपालको श्रमशक्तिलाई कोरिया र मलेसिया जस्ता देशहरुले रोजगारी दिन नसक्ने अध्यक्ष रानाले बताएका थिए । घरमा स्वास्नीलाई घाँस, दाउरा र मेलपात पठाएर तास, लुडो, चेस र क्यारेमबोर्ड खेलेर दिन विताउने तरिकाले आर्थिक उपलब्धी हासिल गर्न नसक्ने बताउदै वडा अध्यक्ष रानाले आज भन्दा बीस बर्ष पहिले नेपाल जस्तै गरिब दक्षिण कोरियाले बीस बर्षपछि बिश्वकै आठौं धनि राष्ट्रको सुचीमा सुचीकृत हुन पुगेको भनाई राखेका थिए । दक्षिण कोरियाका नागरिकहरुले गर्ने परिश्रम, मेहन र पौरख भिन्नै खालको भएको बताउदै अध्यक्ष रानाले रोजगारीको लागि कोरिया पुगेका कतिपय नेपालीहरुले कोरियनसंग काम गर्न नसकेर सुसाईट गरेका समाचारहरु पनि आफुले पढेको बताए ।

सरकारी तथा गैरसरकारी निकायको अनुदान, राहत र सहयोगमा मात्र परनिर्भर नभएर अब आफै आत्मनिर्भर बन्नका लागि परिश्रम गर्नुको साथै व्यसायिक रुपमा बाख्रा, कुखुरा पालन, बेमौसमी तरकारी खेती लगाएतका उद्ययमतिर लाग्नुपर्ने अध्यक्ष रानाले भनाई राखेका थिए । कारोना भाईरसको संक्रमणले सृजना गरेको जटिल अबस्थामा वडाका विपन्न नागरिकहरुका लागि खाद्यन्न सहयोग गर्ने फ्रिजी लाईट अष्ट्रीया, अष्ट्रीयाका फ्रिची ग्राहीस र क्रिष्टीने यारोसप्रति आभार प्रकट गर्दै अध्यक्ष रानाले सहयोग गर्न पिपेमा पुगेका छिरिङ्ग लामा सेर्पा, डा. सुवेक्षादेव श्रेष्ठलाई हार्दिक धन्यवाद दिएका थिए ।

गैर नाफामुलक संस्था फ्रिजी लाईट अष्ट्रीयाले शिक्षा र स्वास्थ्यका श्रेत्रमा सुन् २०१५ देखि नेपालमा काम गर्दै आएको छिरिङ्गलामा सेर्पाले जानकारी दिए । प्रत्येक बर्ष नेपालका विभिन्न जिल्लामा निशुल्क स्वास्थ्य शिवीर संचालन गर्नुको साथै विद्यालय भवन निर्माण, विद्यालयमा अध्ययनरत बाल बालिकाहरुलाई जेकेट, झोला लगाएतका विभिन्न शैक्षिक सामाग्री वितरण गर्दै आएको फ्रिजी लाईट अष्ट्रीयाले यस बर्ष नेपालका ३० जिल्लामा १५ सय घर परिवारलाई खाद्यन्न वितरण गरेको जानकारी दिए । कोरोना भाईरसको संक्रमणबाट प्रभावित एकल महिला तथा पुरुष, अपाङ्ग असक्त, आर्थिक हिसावले विपन्न नागरिकलाई खाद्यन्न वितरण गरेको जानकारी दिदै सेर्पाले कर्णाली प्रदेशको दैलेख, सुर्खेत, सल्यान, जाजरकोट र रुकुमपश्चिम गरी पाँच जिल्लाका २५० घरपरिवारलाई खाद्यन्न वितरण गरेको बताए ।

प्रतिकृया दिनुहोस्