News Portal

हत्याको आशंकामा एक महिला सहित ७ जना पक्राउ

डिजिटल संचार संवाददाता२०८१ माघ २०
१४ पटक

जाजरकोट
जुनीचाँदे गाउँपालिकामा एक युवा मृत अवस्थामा फेला परेका छन । जुनीचाँदे गाउँपालिका–६, मैप बस्ने ३० वर्षीय राम बहादुर शाहीको शव फेला परेको हो ।

शाही विहिवार जुनीचाँदे गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड तथा चौथो अध्यक्षकप हेर्न जुनीचाँदे–५ स्थित शिवपुरी मावि पुगेका थिए । दुई दिनसम्म पनि घर नफर्किएपछि खोजतलास गर्दा शुक्रवार राती उनको शव स्थानीय काड्य खोला नजिक फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले बताए । घटनास्थलको अवस्था हेर्दा शाहीको हत्या भएको अनुमान गर्न सकिन्छ । हामीले अनुसन्धान गरिरहेका छौ प्रहरी प्रमुख पाण्डेले भने, ‘खेलकुद कार्यक्रम हेर्न गएका शाहीले आगो ताप्ने क्रममा स्थानीय युवाहरुसँग विवाद भएको देखिन्छ । त्यो विवाद नै घटनाको कारण हुन सक्ने प्रहरीको अनुमान छ । घटनास्थलमा रगत जस्तो देखिने रातो पदार्थ भेटिएको छ । उनको टाउको र कानमा चोट लागेको देखिन्छ ।’

शुक्रवार इलाका प्रहरी कार्यालय गर्खाकोटबाट प्रहरी नायब निरीक्षक पूर्ण बहादुर रानाको टोली घटनास्थल पुगेको थियो । घटनास्थल थप शंकास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक दिनेश तिमिल्सिनाको कमाण्डमा थप टोली खटिएको छ । मृतक शाहीको शब शनिबार प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा पोस्टमार्टम गरिएको छ ।

मृतक शाहीका आफन्तले उनको हत्या भएको आरोप लगाएका छन । उनीहरूले निष्पक्ष छानबिनको माग गरेका छन । अनुसन्धानका लागि प्रहरीले एक महिला र ६ पुरुषसहित ७ जनालाई पक्राउ गरेको छ । नियन्त्रणमा रहेकाहरुसंग आवश्यक सोधपुछ भइरहेको प्रहरीको भनाइ छ ।

पीडित पक्ष किटानी जाहेरी दर्ता गर्ने तयारीमा रहेको प्रहरीले जनाएको छ । जाहेरी दर्ता भएपछि, आइतवार अदालतबाट अनुसन्धानका लागि म्याद लिएपछि घटनाको बारे सार्वजनिक गरिने डिएस्पी पाण्डेले बताए ।

प्रतिकृया दिनुहोस्