News Portal

दीगो आयोजनाको नमुनामा खलंगाका मेसिनरी वाल

१४५२ पटक

जिल्ला सदरमुकाम खलंगा शहरीकरण तर्फ उन्मुख भईरहेको छ । खडक, खानेपानी, विद्युत संगसंगै नीजि तथा सरकारी भवन निर्माणका कामहरु अगाडी बढिरहेका छन् ।

ढलनिकास, फोहरमैला व्यवस्थापन सम्बन्धि स्वभाविक रुपमा छलफल, बहस हुने गरेका छन् । निर्माण भईरहेका पूर्वाधार विकास आयोजनाहरु दीगो र टिकाउ हुनुपर्ने आम चाहाना प्रकट हुदै आएका छन् । तर, जिल्ला सदरमुकाम खलंगामा निर्माण गरिएका मेसिनरी वालहरुले भने, मानव चाहानालाई माथ गरेका छन् ।

खलंगाको बागलुङ्ग होटल नजिकै निर्माण गरिएको मेसिनरी वाल बर्षदिन पुग्न नपाउदै भत्किएको थियो । उक्त वालको पुर्ननिर्माण कार्य अझै पनि भएको छैन् । त्यसैगरी यसैबर्ष त्रिभुवन माध्यामिक विद्यालय खलंगाको कम्पाउण्ड वाल लगाउदा–लगाउदै भत्किएको थियो । भत्किएको कम्पाउण्ड वाल पुर्ननिर्माण कार्य सम्पन्न भएपछि मात्र नगरपालिकाले रकम भुक्तानी दिने भनेपछि वाल पुर्ननिर्माण गरिएको छ ।

त्यसैगरी निर्माण गरेको एक महिना वित्न नपाउदै गयराती नुरानो साँझा खण्डको मेसिनरी वाल भत्किएको छ । ठाँटीदेखि गैरीखाली जोड्ने सडकको नुरानो साँझा खण्डमा ६ मिटर लम्बाई रहेको मेसिनरी वाल भत्किएको छ भने, अरु ५० मिटर मेसिनरी वाल भत्किने अबस्थामा पुगेको छ । नुरानो साँझा खण्डको मेसिनरी वाल भत्किएपछि जाजरकोट–डोल्पा सडक अबरुद्ध भएको थियो । अबरुद्ध सडकलाई भेरी नगरपालिकाको व्याग लोडरले खोल्ने काम गरेको छ । अहिले सहज रुपमा यातायात संचालनमा आएका छन् ।

कर्णाली प्रदेश सरकार अन्तरगत भौतिक पूर्वाधार विकास कार्यालय, जाजरकोट मार्फत निर्माण गरिएको उक्त मेसिनरी वाल भत्किएको हो । उक्त सडक खण्डको मेसिनरी वाल निर्माणको लागि कार्यालयले खोलेको ७५ लाखको ठेक्कामा घटीघटाईमा अनमोल निर्माण सेवाले भ्याट सहित ४० लाखमा सम्झौता गरेको थियो ।

ठेक्का लिनका लागि प्राविधिक लागत स्टामेट भन्दा झण्डै ५० प्रतिशत घटीघटाईमा ठेक्का सम्झौता गरेर गुणस्तरिय काम नगरेको स्थानिय नागरिकहरुको भनाई रहेको छ । यस बिषयमा प्रतिक्रिया बुझ्न हामीले अनमोल निर्माण सेवाका प्रतिनीधि अमर बहादुर शाहीसंग टेलिफोन सम्पर्क गरेका थियौं । शाहीले फोन उठाएनन् ।

कम्जोर प्राविधिक स्टामेट, गुणस्तर हिन निर्माण कम्पनीको काम, सरोकारवाला निकायको चरम लाहप्रवाहीले निर्माण गरेको एक महिना नपुग्दै मेसिनरी वाल भत्किन पुगेको पत्रकार जनक केसीको भनाई रहेको छ । उपयुक्त ढलनिकासको व्यवस्थापन नभएको हुदा उक्त मेसिनरी वाल भत्किएको भौतिक पूर्वाधार विकास कार्यालय, जाजरकोट प्रमुख प्रवीण कार्कीको भनाई रहेको छ । ढल निकासको व्यवस्थापन नगर्दासम्म त्यहाँ फेरी निर्माण गरिने मेसिनरी वाललाई दीगो तथा टिकाउ गराउन नसकिने प्रमुख कार्कीको भनाई रहेको छ । मेसिनरी वाल भत्किनुमा मुख्य कारण ढल निकास नहुनु नै रहेको वताउदै प्रमुख कार्कीले कमजोर भुगोल पनि सहायक कारण रहेको बताए । भुक्तानी लिएको एक बर्ष भित्रै भत्किएका वाल तथा संरचना सम्बन्धित निर्माण कम्पनीले नै निर्माण गर्नुपर्ने बताउदै प्रमुख कार्कीले अनमोल निर्माण सेवाका प्रतिनीधिलाई तत्काल निर्माण गर्न लगाईने बताए ।

उक्त ठेक्कालाई निर्जीवन बीमा कम्पनीमा बीमा गरेको जानकारी दिदै अनमोल निर्माण सेवाका अर्का प्रतिनीधि अर्जुन पुनले बीमा कम्पनीको सहयोगमा उक्त मेसिनरी वाल पुर्ननिर्माण गरिने बताए । बीमा कम्पनीको नियम अनुसार कम्पनीले दावी भुक्तानी दिने प्रतिनीधि चागु नारायण बिष्ठको भनाई रहेको छ ।

प्रतिकृया दिनुहोस्