News Portal

अपाङ्ग बालबालिकाहरुको पुर्नस्थापना सम्बन्धी छेडागाडमा दुई दिने निशुल्क स्वास्थ्य शिवीर सम्पन्न

१००० पटक

छेडागाड नगरपालिकाले अपाङ्ग बालबालिकाहरुको पुर्नस्थापना सम्बन्धी दुई दिने निशुल्क स्वास्थ्य शिवीर संचालन गरेको छ । अपाङ्ग बालबालिकाहरुको पहिचान गर्न छेडागाड नगरपालिकाले नगर अस्पतालमा दुई दिने निशुल्क स्वास्थ्य शिवीर संचालन गरेको हो । सेभ द चिल्ड्रेन र पाँच तारा युवा संरक्षण मञ्च, जाजरकोटद्धारा संचालित सहयात्रा र अबसर परियोजनाको आर्थिक तथा लड्बुद्ध एजुकेशनल एकेडेमी मेडिकल कलेज कोहलपुरको प्राविधिक सहयोगमा नगरपालिकाले उक्त निशुल्क स्वास्थ्य शिवीर संचालन गरेको थियो ।

बिहिबारदेखि सुक्रबारसम्म संचालन गरिएको निशुल्क स्वास्थ्य शिबीरमा २ सय ६५ जनाको निशुल्क स्वास्थ्य परिक्षण गरिएको पाँचतारा युवा संरक्षण मञ्च, जाजरकोटद्धारा संचालित सहयात्रा र अबसर परियोजनाका व्यवस्थापक ईन्द्र विश्वकर्माले जानकारी दिए । व्यबस्थापक विश्वकर्माले दिएको जानकारी अनुसार उक्त शिवीरबाट १८ बर्ष भन्दा कम उमेरका ७२ जना अपाङ्ग बालबालिकाहरुको पहिचान गरिएको छ । पहिचान गरिएका अपाङ्ग बालबालिकाहरु मध्ये मस्तिष्क पक्षघात भएका २४ जना, कान नसुन्ने १८ जना, बोल्न समस्या भएका (भकभकाउने) ८ जना, जलेर अपाङ्ग भएका ७ जना, तालुफाटेका ३ जना र अन्य १२ जना अपाङ्ग बालबालिका रहेका छन् परियोजना व्यवस्थापक विश्वकर्माले भने–‘पहिचान गरिएका ७२ जना अपाङ्ग बालबालिकाहरु मध्ये ३० जना अपाङ्ग बालबालिकालाई सहयात्रा र अबसर परियोजनाले टेक्ने लठ्ठी, कानमा लगाउने डिभाईस लगाएतका ४४ प्रकारका सामाग्रीहरु निशुल्क बितरण गर्ने कार्यक्रम तय गरेको छ भने, बाँकी ४२ जना अपाङ्ग बालबालिकाहरुलाई लड्बुद्ध एजुकेशनल एकेडेमी मेडिकल कलेज कोहलपुरको कोडिनेशनमा परियोजनाले नै निशुल्क उपचार गर्ने भएको छ ।’

उक्त शिवीरमा डा. विश्वनाथ शर्माको नेतृत्वमा बिभिन्न थ्रेरापिष्ट डा. मोहमद कलाम, डा. रामकुमार थारु, डा. कमला कार्की, डा. कल्पना बस्याल लगाएतको टोली सहभागी भएको थियो ।

बालमैत्री नगरपालिका घोषणा गर्ने लक्ष्य राखेर छेडागाड नगरपालिकाले बालमैत्री नीति तथा रणनीति निर्माण गरेर अगाडी बढिरहेको छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महतराले जानकारी दिए । समुदाय स्तरमा रहेका अपाङ्ग बालबालिकाहरुको पहिचान गर्नुको साथै उनीहरुको उचित तरिकाले व्यवस्थापन गर्नु, निशुल्क उपचार गर्नुले बालमैत्री नीति तथा रणनीतिको एउटा सुचक पुरा भएको नगरप्रमुख महतराले बताए । जनताको घर नजिकको सरकार नगरपालिकाले जनतालाई दैनिक सर्भिस डेलिभरी गर्नुपर्ने बताउदै प्रमुख महतराले नगरका जनतालाई सर्भिस डेलिभरी गर्न नगरपालिकाले अपाङ्ग बालबालिकाहरुको पुर्नस्थापना सम्बन्धी निशुल्क स्वास्थ्य शिवीर संचालन गरेको जानकारी दिएका छन् ।

स्थानीय तह भनेको स्वायत्तता प्राप्त जनताको घर नजिकको सरकार भएको बताउदै पाँचतारा युवा संरक्षण मञ्च जाजरकोटका कार्यकारी निर्देशक छवी पन्तले जनताको आर्थिक तथा सामाजिक विकासका लागि विभिन्न दातृनिकायसंग समन्वय तथा सहकार्य गर्ने कौशलता स्थानीय तहसंग हुनुपर्ने भनाई राखेका थिए । स्थानीय तहको कौशलता र बिज्ञताले थुप्रै दातृनिकायको सहयोगलाई भित्र्याउन सकिने बताउदै कार्यकारी निर्देशक पन्तले जनप्रतिनीधिहरुको कार्यकुलतालाई हेरेर थुप्रै दातृ निकायहरु सहयोग गर्न तयार रहेको बताए ।

प्रतिकृया दिनुहोस्