News Portal

नलगाडको गेरेनीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाईते

२०२६ पटक

नलगाड नगरपालिका–५ को गेरेनीमा जीप दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको छ भने, ६ जना घाईते भएका छन् । खाराबाट कालिमाटी तर्फ आउदै गरेको भे १ ज ९८७ नम्बरको (फोर्स) जीप मंगलवार दिउसो साढी तीन बजेतिर दुघर्टना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो भने, ६ जना घाइते भएका छन् ।

बारेकोट गाँउपालिका–२ की ४२ बर्षिय शान्ती रोकाय र जुम्ला जिल्ला गोठीचौर गाउँपालिका–१ मणिसाँघुका ५५ बर्षिय मंगल महतराको घटाना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार दुर्घटनामा परी घाईते हुनेहरुमा बारेकोट गाउँपालिका–१ रामीडाँडाका अन्दाजी १५ बर्षिय रुपक बुढा, अन्दाजी ४७ बर्षिय परिमल बुढा, अन्दाजी ३३ बर्षिय मनबहादुर बुढा रहेका छन् । त्यसैगरी घाईते हुनेमा नलगाड नगरपालिका–१ का अन्दाजी ५७ बर्षिय गगन शाही, नलगाड–५ पोखराका अन्दाजी १६ बर्षिय सुनिल वली र अन्दाजी १४ बर्षिय नवराज वली रहेका छन् । घाईतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।

घाईते रुपक वुढाको छाँती र ढाडमा, परिमल वुढाको घुढा र टाउकोमा, मन बहादुर वुढाको टाउको र ढाडमा चोट लागेको भएता पनि तीनै जनाको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ । त्यसैगरी गगन शाहीको बायाँ खुट्टाको थाईमा काटिएको भएता पनि उनको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ । सुनिल वलीको दाँया हात भाँचिएको प्रहरीले जानकारी दिएको छ । वलीलाई प्राथमिक उपचार पश्चात थप उपचारको लागि रिफर गर्ने तयारी भैरहेको छ । नवराज वलीको अबस्था भने सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटना परी मृत्यु भएकी रोकायलाई जीपको झ्यालको सिसाले टाउको काटेको स्थानीय ईन्द्र प्रसाद शर्मा (प्रशान्त) ले जानकारी दिएका छन् । शर्माले दिएको जानकारी अनुसार मृतक महतरालाई गाडीको टायरले किचेको थियो ।

व्रेक फेल भएर अनियन्त्रित जीप सडकमै पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । चालक फरार भएको हुदा उक्त जीपमा कति जना सवार (यात्रु) थिए भन्ने पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीले चालकको खोजी कार्य गरिरहेको जनाईएको छ । घटना स्थल जिल्ला सदरमुका खलंगादेखि ५० किलोमिटरको दुरीमा रहेको छ । घटना स्थलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक शिव कुमार क्षेत्रीको कमाण्डमा ईलाका प्रहरी कार्यालय दल्ली र रिम्ना, प्रहरी चौकी सक्ला, लिम्साको प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्