News Portal

छेडागाडमा अपाङ्गता समन्वय समितिका पदाधिकारीलाइ अभिमुखिकरण

१६८ पटक

जाजरकोट
जाजरकोटको छेडागाड नगरपालिकामा पालिका स्तरीय अपाङ्गता समन्वय समितिका पदाधिकारी तथा कार्यपालिका सदस्यहरुलाइ अभिमुुखिकरण गरिएको छ । ३३ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको अबसरमा छेडागाड नगरपालिकामा अपाङ्गता समन्वय समितिका पदाधिकारीलाइ अभिमुखिकरण गरिएको हो ।

सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटले संचालन गरेको सहयात्रा–तेस्रो परियोजनाको सहयोग र छेडागाड नगरपालिकाको समन्वयमा पालिका स्तरीय अपाङ्गता समन्वय समितिका पदाधिकारी तथा कार्यपालिका सदस्यहरुलाइ दुइ दिने अभिमुुखिकरण गरिएको सेभ द चिल्ड्रेन जाजरकोट परियोजना संयोजक बाले विश्वकर्माले जानकारी दिए । नगरपालिकाका उप–प्रमुख, वडा अध्यक्ष, शाखा प्रमुख, वडा सचिव र कार्यपालिका सदस्यहरुलाइ अभिमुखिकरण गरिएको संयोजक विकले बताए ।

३२ बर्षदेखि अपाङ्गताका क्षेत्रमा काम गर्दै आएका बिष्णु प्रसाद शर्माले सहजीकरण गरेको अभिमुखिकरणले अपाङ्गता भएका व्यक्तिहरुलाइ वडा र पालिका स्तरबाट सेवा प्रवाह गर्न सहजता पैदा गर्ने पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटका परियोजना संयोजक पुष्पराज खतिवडाले बताए । अपाङ्गता सम्बन्धि वडा कार्यालयबाट गरिने विभिन्न सिफारिस, पालिका स्तरबाट वितरण गरिने सामाजिक सुरक्षा भत्ता र अपाङ्गता परिचय पत्रको श्रेणी विभाजन (वर्गिकरण) गर्न अभिमुखिकरणले सहजता पैदा गर्ने विश्वास व्यक्त गर्दै संयोजक खतिवडाले अपाङ्गता प्रकार, अपाङ्गता सम्बन्धि बनेका राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनका बिषयमा अभिमुखिकरणले सहभागीहरुलाइ बोध गराएको बताए ।

समाजमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकारलाइ सुनिश्चित गर्नुको अलावा उनीहरुप्रति गरिने व्यवहार र हेर्ने दृष्टिकोणनै गलत भएको अभिमुखिकरणका सहजकर्ता शर्माले भनाइ राखेका थिए । समाजमा हेर्ने दृष्टिकोण र गरिने व्यवहारमा परवर्तन ल्याउनुको साथै अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्न पालिका स्तरीय अपाङ्गता समन्वय समितिका पदाधिकारी तथा कार्यपालिका सदस्यहरुलाइ अभिमुुखिकरण कार्यक्रमको आयोजना गरिएको सहजकर्ता शर्माको भनाइ रहेको छ ।

बुधबारदेखि सुरु गरिएको अभिमुखिकरण कार्यक्रम बिहिबारसम्म चलेको थियो । कार्यक्रममा ३० जना सहभागी रहेको पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटले जनाएको छ ।

प्रतिकृया दिनुहोस्