Hamro Sanchar

पुन्म (पुन्म्याल) नायकको घर र मौलो

भवानी शाही प्रकाशित : २०७८/६/५ गते
जाजरकोट

दलवीर पुन र नीमबहादुर शाहीको सहयोगमा शब्द संकलन र तस्वीर ट :– भवानी शाही

तत्कालिन जाजरकोटी राजाको पालाका भिउसका जिम्मुवाल, सात्तियाँका डिठ्ठा जस्तै पुन्मका नायक पनि चर्चित थिए । जाजरकोटी राजाकै पालादेखि सिल्पाचौरका मगरहरुको चर्चा पनि कम छैन ।

विक्रम सम्बत १९६० सालमा निर्माण गरिएको नायकको (घर) दरबार तत्कालिन पुन्म गाविस–१, हालको भेरी नगरपालिका–७ पुन्ममा रहेको छ । भुर, पन्म, कार्कीगाउँका रैतीको श्रमदानमा बनाईएको यो (घर) दरबार हाल पनि जस्ताको त्यस्तै छ ।

दरबार बनाउने वेलाका नायक खुम्बु शाही हुन् । खुम्बु शाहीपछिका लालबहादुर शाही, डिलबहादुर शाही, गँगाबहादुर शाही र टोपबहादुर शाही हालसम्म पुन्ममा हुदै आएका नायक हुन् ।

हाल पुन्मको चौरगाउँ, गैरीगाउँ, ओखरा, लामाघरपट्टी विभाजित शाही परिवार सबै पुन्म्याल नायकका दरसन्तान अथवा एकाघरका भाई भारदार हुन् ।

नायकको राज्य टिकाउन तथा रक्षा गर्न प्रत्येक बर्ष खड्गलाई पुजा गर्ने चलन रहि आएको छ । रामनवमीको कालारात्रीमा लाग्ने मेलामा राँगाको बली दिएर नायकको मौलो र उक्त खड्ग पुजा गर्ने प्रचलन अहिले पनि कायमै छ । तत्कालिन नायक शुम्बु शाहीले दिनमा राँगाको वली चढाउनुको साथै राती मौलाको जात्रा लगाउन सुरु गरेका हुन् ।

उक्त मौलाको जात्रामा हाल पुन्म, भुर र कार्कीगाउँका नागरिकहरु सहभागी हुने गर्दछन् । बली चढाउने राँगालाई फुलमाला लगाएर, बाजागाँजा सहित जात्राभरी गाउँ–गाउँमा घुमाएर नायकको (घर) दरबारमा रहेको मौलामा ल्याएर बली दिने गरिन्छ । बली चढाएको राँगाको मासु त्यहाँका दलित समुदायलाई दिने गरिन्छ ।

प्रतिकृया दिनुहोस्