News Portal

जेल जेल जस्तो लाग्दैनथ्यो

४९७ पटक

माओवादी भएकै कारणले हामीलाई राज्यविरुद्धको अपराधमा पुर्पक्षका लागि कारागार शाखा सुर्खेत पुर्याइएको थियो । गज्जब थिए ती दिनहरु ! राज्य बदल्न भनेर हिँडेका २०–२२ वर्षका युवाहरु आफ्नो जीवनका सर्वोत्तम समय गणतन्त्र, समाजवाद र साम्यवादको सपनामा समर्पित गरिरहेका । अग्ला पर्खाल भित्र राज्यको सुरक्षा घेराबन्दीमा ‘ख’ श्रेणीको रासन खाँदै महान जनयुद्ध र क्रान्ति पढिरहेका । खै कसरी आयो त्यो अदम्य साहस ? कसरी बन्यो त्यो महान योजना ? कसरी भेटियो औजार र सामग्रीहरु ? त्यत्रो सुरक्षा घेरा कसरी तोडियो ? आजभन्दा ठीक २० वर्षअघि नेपालको इतिहासमा सबै भन्दा ठुलो जेल ब्रेक अर्थात् सुर्खेत जेल ब्रेक ।

तत्कालीन जनमुक्ति सेनाका सर्वोच्च कमाण्डर तथा पार्टी अध्यक्ष कमरेड प्रचण्डसँग साक्षात्कार भएको थिएन । कमरेड प्रचण्डले नेतृत्व गरेको पार्टीका कार्यकर्ता हौं भन्ने विश्वास थियो हामीसँग । यत्ति थाहा थियो कि माक्र्सवाद गतिशील विज्ञान हो । त्यो जीवनमा लागू हुन्छ र लागू गर्नुपर्दछ । राज्यसत्ता परिवर्तन हुन्छ र गर्न सकिन्छ । हामीसँग त्यो महान विचार छ र कुशल नेतृत्व पनि छ । त्यसैले होला जेल जेल जस्तो लाग्दैनथ्यो । सबैजना आस्थाका बन्दीहरु आन्तरिक संघर्षका बाबजुद एकताबद्ध थियौं । साझा लक्ष्य र उद्देश्य प्रति दृढ र प्रतिबद्ध । क्रान्तिकारी आशा र विश्वासले भरिपूर्ण उर्जाशिल र सिर्जनशील ।

२०५८ साल माघ २ गते राति १५ जना गैह्र आस्थाका बन्दि सहित ३० जनाले सुर्खेत जेल ब्रेक गर्यौं । तत्कालीन राज्यसत्ता बिरुद्ध कठोर संघर्ष गरिरहेका योद्धाहरू, आम जनसमुदाय र परिवारमा हर्सोल्लास तथा विरोधीहरूको कित्तामा निराशा र पराजयको स्थिति श्रृजना गर्यौं । जेल ब्रेकका दुईजना हस्तिहरु पुष्पराज चौधरी (क. विशाल) र दल बहादुर पुन (क. बिद्रोही) लाई युद्धकै दौरान पुन गिरफ्तार गरेर हत्या गरियो । तीं महान् सहिदलाई सम्मानपूर्वक श्रद्धाञ्जली अर्पण गर्दै जेल ब्रेकको त्यो ऐतिहासिक दिनको विशेष स्मरण गर्दछु । साथै हार्दिक आभार क. दानसिंह सुनार जसले एकाविहानै फोन गरेर त्यो ऐतिहासिक दिनको स्मरण गराइदिनु भयो ।

प्रतिकृया दिनुहोस्