News Portal

पाँचकटिया प्रहरीचौकीको भग्नावशेषबाट प्रत्यक्ष प्रसारण

जाजरकोट– टालेगाउँ यात्रा :

१६९० पटक

‘ऊः त्यो रमाका हिमाल । २०५७ सालमा जनयुद्धका महान् सहिदहरू रतिलाल रावल मानबहादुर ओली मानबहादुर रावल, लक्ष्मण खड्का, लालबहादुर रानामगर, कालीबहादुर बुढा, कालीबहादुर परियार, हिरे ओली, गगनबहादुर शाहीलगायत योद्धाका नाउँमा रहेको नाउँ हो । यसअघि यो हिमालको नाउँ च्याखुरे थियो । त्यो कुशे, त्यो पूर्वउत्तरतिरको सिज र त्योचाहिँ बडालेक… ।’ महान् जनयुद्धको ऐतिहासिक पाँचकटिया मोर्चाको विजय किल्लामा उभिएर कमरेड पूर्णबहादुर सिंहले उत्तर, पूर्वउत्तर र पश्चिम–उत्तरतिर आँैल्याउँदै मोतीदन्तभन्दा चम्किला मुहार बनाएर चम्किरहेका हिमशृङ्खला देखाउँदै भन्नुभयो– त्योचाहिँ पाथीभरा हिमाल । अहिले हिउँ परिसकेको रहेनछ । परेको पनि पग्लिएछ । एकदुई दिन पानी प¥यो भने पाथीभराको शिर सेताम्मे हुन्छ कुशे र सिजझैँ ।

हामी जाजरकोट पाँचकटियाको प्रहरीचौकीको भग्नावशेषमा उभिएर महान् जनयुद्धका महान् सहिदहरूको त्याग शौर्य र बलिदानको समीक्षा गरिरहेका छौँ । हाम्रो यात्राको नेतृत्व गरिरहनुभएको छ नेकपाका युवा नेता पार्टी केन्द्रीय सदस्य एवम् दोलखा–सिन्धुपाल्चोक इन्चार्ज पूर्णबहादुर सिंहले । सन्दर्भ छ– बितु सिंह–बिन्दासरा सिंह स्मृति प्रतिष्ठान घोषणा, प्रतिष्ठानको आयोजनामा छात्रवृत्ति घोषणा तथा हस्तान्तरण कार्यक्रम र सहिद परिवार सम्मानको । जनयुद्धमा बलिदानका हिसाबले रोल्पा र रुकुमपछि तेस्रो उचाइ हासिल गरेको जिल्ला हो जाजरकोट । साढे तीन सयभन्दा बढी सहिदहरूको बलिदानी बेहोरेको छ यस जिल्लाले ।

यात्राको तेस्रो दिन हो आज । पहिलो दिन अर्थात् मङ्सिर १६ गते बिहीबर काठमाडौँबाट सुरु भएको यात्रा दाङ लमहीनजिक मन्त्र होटेलमा आएर विश्राम गरेथ्यौँ । दोस्रो दिन शुक्रबार पूर्णजीको ससुराली अर्थात् जनयुद्धकी घाइते कलाकार योद्धा कमरेड उषा सिंह (राना) को माइतीघर भरी नगरपालिका–१ खलंगा– स्याँला– राउतगाउँ– पिपेको बसाइ अत्यन्त स्मरणीय र रोचक रह्यो । २०६० साल माघ ९ गते जाजारकोट साल्मामा शाही अमेरिकी सेनाले प्रहार गरेको एम सिक्स्टिनको गोली बायाँ हातमा बोकेर निरन्तर सङ्घर्षमा होमिएकी कमरेड उषाको जन्मस्थलवरिपरिको वातावरण अध्यापि एउटा शक्तिशाली किल्लाझैँ लाग्छ । घरनजिकै निरन्तर बगिरहेको भेरी नदीले जनगणतन्त्र कोरियाको राजधानी प्योङयाङमा बगिरहेको देदोङ नदीको स्मरण गराइरहेको थियो । स्थानीय हाइड्रोको विद्युत् उत्पादन केन्द्रीय प्रसारण लाइनमा जोडेपछि पिपेमा मात्र नभएर खलङ्गा क्षेत्रमै बेला न कुबेला बत्ती गइरहँदो रहेछ । यतिबेला पनि त्यस्तै भएको थियो । बिहानदेखि गएको बत्ती आएको थिएन । पूर्णजीका सालीहरू अर्थात् कमरेड उषाका बहिनीहरू पद्मी, तुलसी र छोरी दीपाले बनाएको स्वादिष्ट खाना हामीले दाउराको उज्यालोमै खायौँ रमाउँदै । २०५६ साल माघ ८ गतेको पिपे एम्बुस अत्यन्त सफल र चर्चित एम्बुस थियो यस क्षेत्रको । उक्त एम्बुसमा जनमुक्ति सेनाका प्लाटुन भीसी क. लालबहादुर राना ‘विनोद’ को गौरवपूर्ण बलिदान भएको थियो भने सत्ता पक्षका केही प्रहरीको मृत्यु भएको थियो । सफल मोर्चा मानिएको उक्त एम्बुसपछि कयौँ थ्रिनट थ्रि राइफल त्यसका गोली र पेस्तोलहरू हातलागेको थियो । हो, यसै ऐतिहासिक भूमिमा हामीले भेरीको सुसाइसँगै रात बितायौँ ।

चार वर्षदेखि तय हुँदै, थन्किँदै गरेको कमरेड पूर्णबहादुर सिंहको जन्मगाउँ टालेगाउँको यात्रा गर्ने कार्यक्रम यस वर्ष बल्ल पूरा हुँदै थियो । दुई वर्ष केपी वली–प्रचण्ड सरकारले पार्टीमाथि लगाएको प्रतिबन्ध, बारम्बार पूर्णजीको गिरफ्तारी र त्यसपछि कोरोना भाइरसको कहरले निम्त्याएको बन्दाबन्दी । यस्तै कारणले पनि हाम्रो जाजरकोट यात्रा सफल हुन सकिरहेको थिएन । चार वर्षपछि बल्ल सार्थक बनेको छ ।

यात्राका सातैजना यात्री एकापसमा पूरै खुल्दै गएका छौँ । आमा बिन्दासरा सिंहको सातौँ र बुबा बितु सिंहको पाँचौँ स्मृति दिवसका अवसरमा जन्मथलो कुशे–२ टालेगाउँस्थित आफूले कक्षा पाँचसम्म र सहिद तुफानले पनि अध्ययन गरेको जनकल्याण आधारभूत विद्यालयमा अध्ययनरतमध्ये विद्यालय प्रथम जेहेनदार गरी २ जना छात्रछात्रालाई पाँचपाँच हजार छात्रवृत्ति रकमसहित शैक्षिक सामग्री, जनयुद्धका टालेगाउँका पाँच सहिद कमरेड ललितबहादुर सिंह ‘मण्डल’, खड्गबहादुर चलाउने ‘तेज’, गोपालबहादुर सिंह ‘तुफान’, कृष्णबहादुर सिंह ‘अपार’ र शिवबहादुर सिंह ‘सङ्ग्राम’ का परिवारका सदस्यहरूको अभिनन्दन, विद्यालयमा अध्ययनरत १८१ विद्यार्थीलाई कापी–कलम तथा शैक्षिक सामग्रीका साथै विद्यालयलाई पाठ्यपुस्तक हस्तान्तरण गर्ने कार्यक्रमको नेतृत्व गरिरहनुभएको छ पूर्णबहादुर सिंह । अतिथिका रूपमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समितिको सचिव र पार्टीको केन्द्रीय प्रकाशन गृहको सम्पादकको हैसियतसमेत जोडेर कमरेड पूर्णको आमन्त्रणमा अतिथि र सहयात्रीका रूपमा सहभागी छु म । त्यस्तै महासङ्घका कार्यालय सदस्यसमेत रहेका अखिल नेपाल ललितकला सङ्घका संयोजक अग्निराज पौडेल ‘अराप’, पूर्वविद्यार्थी नेता एवम् नेकपा सिन्धुपाल्चोक विशेष समितिका सदस्य मुकुन्द श्रेष्ठ र विद्यार्थी नेता एवम् स्रष्टा उषाकिरण ‘आजाद’ हुनुहुन्छ । धादिङ चरौँदीमा जन्मेहुर्केर २० वर्षसम्म वैदेशिक रोजगारको अनुभव समेटिसकेका हाल थानकोट निवासी गाडीचालक एवम् मालिक अनिल पोखरेल आज तेस्रो दिनको यात्रासम्म सहयोद्धा एवम् पुराना साथीजस्तै घुलमिल भैसक्नुभएको छ ।

कमरेड उषा खासै धेरै बोलिरहनुभएको छैन । २ जना ससाना नानीबाबुलाई साथी निशाको भरमा काठमाडौँमा छोडेर हिँडेकाले पनि हुनसक्छ उहाँ अलि न्यास्रिएझैँ लागिरहेछ । हिजो साँझ पिपेस्थित माइतीघरमा देखिएको उहाँको क्रियाशीलता र चाञ्चल्य आमालाई छोडेर रिम्नातिर लागेदेखि नै अलि मत्थर हँुदै गएको अनुभूति भएको हो । आज बिहान पिपेबाट रिम्नास्थित सहिद स्मृति भवन, सहिद पार्क, सानो भेरी र ठूलो भेरीको सङ्गमस्थित पक्की पुल तरेर रुकुमको गरायला टेक्दासम्म त उहाँ पनि सहयात्रीकै स्तरमा जोसिइरहनुभएको थियो तर सहिद मण्डलकी बहिनी हरिकलासँगको भेट र जाजरकोट दरबार अवलोकन गरी कोटखोला हुँदै रिसाङ–तातोपानी दार्नेटा–बाहुनथानातिर उकालो लागेर मोबाइलको टावर बन्द हुनासाथ काठमाडौँमा बसेका छोराछोरी सम्झिएर उहाँ सुर्ताउन थालेको आभास भइरहेको थियो ।

हो, हामी पाँचकटियामा छौँ । पाँचकटिया प्रहरीचौकी पुग्नासाथ अनिलजीलाई गाडी रोक्न लगाएर चौकीको भग्नावशेष (हाल पुनर्निर्मित) लाई पृष्ठभाग पारी तस्बिर खिचाइमाग्छु म । तस्बिर खिचेको देख्नासाथ गाडी रोकेर सोधपुछ गर्न थाल्छन् प्रहरी जवानहरू । सायद २० वर्षअघि इप्रका पाँचकटिया खरानी भएको र त्यसपछि देशैभरका चौकीहरू सदरमुकाम केन्द्रीकृत भएको पुरानो सत्ताको पराजयको कथा उसले पनि सुनेको हुनुपर्छ । पैतालाले जाजरकोट नटेकेको भए पनि जनयुद्धभर युद्धपत्रकारिता गर्दा संवाददाता, सम्पादक वा प्रकाशकका रूपमा युद्धभूमिका सामग्री जनतामा पस्किएको पर्याप्त अनुभूति छ मसँग । जनादेश, महिमा, जनआह्वान, नौलो बिहानी, जनदिशा, प्रभातकालीन, ज्वाला, छापामार डायरीहरूलगायत प्रकाशनका माध्यमबाट देशभरका युद्धका ताजा खबर, विचार र संस्मरणहरू पस्किने क्रममा जनयुद्धका आधारक्षेत्र रोल्पा, रुकुम, सिन्धुली हुँदै जाजरकोटका पाँचकटिया हुँदै लहँसम्मका रिपोर्टहरू प्रस्तुत गरेको अनुभव छ । खारा, जुम्ला–खलङ्गा, दुनैहरू पनि यही क्रममा परिचित भएका हुन् र बेथान, दोरम्बा, सालु–देउराली, गज्र्याङ, चुचुरेहरू पनि मुटुको केन्द्रमा बसेका हुन् । दुस्मनका किल्लाहरू कब्जा गर्दा, प्रतिक्रियावादी अखडाहरूमा भीषण हमला लगायत पाँचवटा छापामार डायरी शृङ्खलाहरूमा आधारक्षेत्र लगायत देशैभरका महत्वपूर्ण मोर्चामा योद्धाहरूले लेखेका छापामार डायरीहरू प्रकाशित गर्न पाएकाले लडाइँ, बलिदान, विजय–पराजय, हाँसो, रोदन, आँसु, खुसी, जोखिम र ऊर्जाका पलहरू सँगालेको अनुभूति छ । ती सबै क्षेत्रका खासखास साहित्य र रिपोर्टका माध्यमबाट परिचित बनेका ऐतिहासिक मोर्चास्थलमा प्रत्यक्ष उपस्थित हुन पाउँदाको अनुभूति बेग्लै हुँदो रहेछ, बेग्लै रोमाञ्चक–रोमाञ्चक र सनसनीपूर्ण हुँदो रहेछ । अरू सहयात्री पनि उत्तिकै रोमाञ्चित बनिरहनुभएको होला भन्ने अनुमान गर्छु । सहयात्रीहरूको मुहार–भाव पढ्छु । यसैगरी अघि बढ्छ यात्रा ।

समय कटाउन सबै सहयात्रीसँग कुनै न कुनै ‘मसला’ छन् । आआफूले जानेसुनेका उखान, हास्व्यङ्ग्यका तुक्काहरू पस्किरहनुभएको छ साथीहरू । २४ घन्टामा ४२ सेकेन्ड मानिसको मस्तिष्कमा शून्य वा पागलपन देखिने र मानिसहरूले त्यसको अभिव्यक्ति गरिरहने पूर्णजीको टुक्काले अरू सबै हास्य र टुक्काहरूलाई पछि पारेको छ । गाडीले हर्न बजाउँदा पनि बाटो काटिरहनेहरू वा लापर्बाहीपूर्वक सडकमा वरपर गरिरहने मानिस, सडकै ढाकेर बसेका कुकुर, गाईगोरु सबैमा पागलपन सवार भएको व्यङ्ग्यले अलि बाक्लै स्थान पाएको छ । ‘उपियाँ सिद्धान्त’ पनि स्थापित बनेकै छ ।

यात्राको तेस्रो दिन साँझ पाँचकटिया कटेर दम्दालाका सुन्तला खाँदै र मालुमेला– कमरेड केबी मल्लको गाउँ ढिमेको पुछार हुँदै खुर्पाखोला कटेर बाटुलेबजार पुगेका छौँ । सहिद कमरेड ललितबहादुर सिंह ‘मण्डल’ का बाबा कुमार सिंह, आमा, दिदी मायादेवी र उहाँका छोराछोरीहरूसँग भेट्नासाथ हामी आत्मीयता पाइहाल्छौँ । त्यसो त प्रचण्ड–बाबुरामहरूलाई जनयुद्धको इतिहास मेट्न हतारो भए पनि आधार क्षेत्रहरूमा सहिद र योद्धाहरूको पार्टीनाम नै स्थापित बनेको कुराले मलाई आनन्दित र गौरवान्वित बनाउँछ । कुन क्षेत्रबाट को सहिद बन्नुभएको थियो भन्ने कुरा पूर्णजीलाई कण्ठस्थ नै छ । त्यसैले उहाँ हरेक गाउँसँग सहिदहरूको बलिदानको कथा र गाथा जोडेर पस्किरहनुभएको छ ।

आजको हाम्रो बासस्थल बाटुलेस्थित सहिद मण्डलको घर नै हो । मण्डल कमरेड पूर्णका सहयोद्धा र बन्धु पनि हुनुहुन्थ्यो । सहिद मण्डलको परिवार कुशे १ टालेगाउँबाट यो बाटुले बजार दोभानमा बसाइँ सरेको हो । बाटुलेमै आइपुग्नुभएको छ कार्यक्रमका अन्य आयोजकहरू अर्थात् महान् जनयुद्धमा जनमुक्ति सेनाका योद्धासमेत रहेका र हाल शैक्षिक क्षेत्रमा योगदान पु¥याइरहेका कमरेड परमेश्वर शाह ‘सदन’ र सहिद मण्डलका बहिनीज्वाइँ शिक्षक केबी शाही । परमेश्वर कमरेड पूर्णका कान्छा बहिनीज्वाइँ पनि हुनुहुन्छ । उहाँहरू दुवैजना हाम्रा पूर्वपरिचित हुनुहुन्छ । कमरेड सदनले त सिर्जनानगरस्थित हित–जून युद्ध–कला सङ्ग्रहालयका लागि आफ्नो कम्ब्याट र जनयुद्धकालीन खुकुरी नै प्रदान गर्नुभएको छ । हामीसँगको भेटले उहाँहरू धेरै खुसी भएको पाउँछु म । वर्गीय मित्रताले हामीलाई भेट गराएको छ । रक्तिम परिवारको गीतको अंश गुनगुनाएको थिएँ मैले दिउँसो– पूर्व बग्ने सुनकोसी पश्चिम बग्ने भेरी, वर्गीय मायाले भेट भयो हाम्रो फेरि…।’ हो त्यस्तै भयो । बर्सांैपछि कमरेड सदन र केबीजीसँग भेट भयो । खुसी र अनुभूतिहरू साट्यौँ । सहिद परिवार र जनयुद्धका योद्धाहरूसँगको भेटले बाटुलेको चिसो वातावरण न्यानोन्यानो बन्दै जान्छ । सहिद मण्डलकी कान्छी भान्जी सुजाता एकै छिनमा झ्याम्मिइहाल्छिन् । सहिद–आमा र सहिद–दिदीले बनाएको मीठो खाना र सरुगाडका माछाको सुकुटी–सुपपछि भोलिको टालेगाउँ यात्राबारे छलफल गर्दै हामी निद्रा बोलाउनतिर लाग्छौँ ।

आज यात्राको चौथो दिन । आज त जसरी भए पनि टालेगाउँ अर्थात् हाम्रो यो यात्राको गन्तव्यमा पुग्नैपर्छ भन्नेमा आयोजकहरू चिन्तित हुनुहुन्छ । सरुगाड तरेर हामीले ल्याएको गाडी पारि जान नसक्ने निर्णयमा पुग्नुभएको छ अनिलजी । विकल्पहरूको खोजी सुरु भएको छ । अनिलजी र अग्नि दाइलाई सामानसहित त्यही गाडीबाट घुमाउरो बाटो हुँदै टालेगाउँ पठाउने र हामी सातजना (परमेश्वर र केबीसहित) हिँड्दै जाने विकल्प पनि आयो । विकल्पहरूको खोजी हुँदै–गर्दै जाँदा टालेगाउँतिरबाट यात्रु बोकेर बाटुले हुँदै थल बजारसम्म जाने एक मात्र डबल क्याप गाडी बाटुलेमै रोक्ने र त्यसका यात्रु हामी आएको गाडीमा थल पु¥याएर बाटुले फर्काई त्यहीँ राख्ने विकल्प उत्तम ठहरिन्छ । आयोजकलाई खर्चको भार भने बढ्ने भयो भन्ने चिन्ताले हामी पिरोलिन्छौँ तर सामानसहित गाडीमा टालेगाउँसम्मै पुग्न पाइने भयो भन्ने खुसी त छँदैछ । डबल क्यापका लागि सन्देश लिएर बिहानै भतिज विशाल बाटुलेबजारबाट टालेगाउँतिर हान्निइसेका छन् ।

नभन्दै खुसी लिएर डबल क्याप आइपुग्छ टालेगाउँतिरबाट केही यात्रु बोकेर । कृष्णबहादुर सिंहको घरमा खाना तयार हुँदाहुँदै अनिलजी डबल क्यापका यात्रु लिएर थलबजारतिर लाग्नुहुन्छ । पूर्ण र मुकुन्दजी सरुगाडको चिसो पानीलाई चुनौती दिँदै पौडी खेल्न थाल्नुभएको छ । अग्नि दाइ र म सरुगाडको झोलुङ्गे पुलमाथि बसेर सुरुगाडको सङ्लो पानीका माछा हेर्दै न्यानो घाम तापिरहेका छौँ । पारिलो घाम ताप्दाताप्दै पुलको मुखैमा भेटिन्छिन् खुर्पे घर भएकी जनयुद्धकँ सहिद सङ्कल्प (रतिमान सार्की) की दिदी चन्द्रकली । राज्यले सहिदसमेत घोषणा नगरेको, सहिद परिवारको बेहाल भएको, सहिदहरूलाई प्रचण्ड–बाबुरामहरूले सत्तामा जाने भ¥याङ बनाएको उनको आक्रोश छ । खाराको लडाइँमा भाइ सहिद भएको आफूहरुले ६ महिनापछि मात्र थाहा पाएको भन्दै उनी भक्कानिइन् । खुर्पेका अरू २ सहिद रतन सिंह र धनबहादुर विकको परिवारको अवस्था पनि उस्तै नाजुक भएको सुनाइरहँदा जनयुद्धका गद्दारहरुप्रति दिगमिग लागिरह्यो । तपाईंका कुरा हामी सम्बन्धित ठाउँमा लगिदिन्छौँ भन्नुभन्दा अरू विकल्प हामीसँग थिएन ।

सबै सामान डबल क्यापमा राखिसकिएको छ । हामी खानाका लागि तयार छौँ । आज फेरि सरुगाडका सुकुटी माछाले स्वागत गरिरहेका छन् हामी पाहुनालाई । पाहुनाको स्वागत र सत्कारका लागि जाजरकोट अब्बल रहेछ । खाना खाएर हामी गाडी चढेर टालेगाउँ पुग्न हतारिन्छौँ । हिँडेरै जाँदा पनि २÷३ घन्टामा त सजिलै पुगिने बाटो हो टालेगाउँ– डोग्री । तर एकातिर शैक्षिक सामग्रीका गह्रौँ बोरा र अर्कातिर उकालो हिँड्न बानी नभएका वा बिर्सिएकाहरूका लागि डबल क्याप रिजर्भ गर्नु सहजजस्तो लाग्छ आयोजकलाई । रोलखोला, डेब्रा, टापुचौर, गैरीखेत, मान्नेढुङ्गा मावि हुँदै हामी बाह्रसाङ्ले पुग्छौँ र चिप्लो बाटोमा गाडीलाई हलुका बनाइदिन ओर्लिएर हिँड्दै–रमाउँदै गर्छौं ।

गुमथलेस्थित बाटैमा टुप्लुकिन्छ जनकल्याण आधारभूत विद्यालय । नेकपा नाउँ गरेको केपी वली र पुष्पकमल दाहाल नेतृत्वको सरकारले नेकपामाथि प्रतिबन्ध लगाएको समयमा जनकल्याण आधारभूत विद्यालय गुमथलेमा कार्यक्रम सञ्चालन भइरहेको समयमा पार्टी नेता–कार्यकर्ताको सुराकी गर्न आएको प्रहरीलाई समातेर सम्झाइबुझाइ पठाएको घटना यस क्षेत्रमै शिक्षाप्रद र स्मरणीय छ । विद्यालयका विद्यार्थी र शिक्षक भोलिका पाहुना र गाडीलाई देखेर बराम लागेर हेरिरहेका छन् । हातमा डीएसएलआर बोकेका कमरेड मुकुन्दलाई तस्बिर खिच्न भ्याइनभ्याइ छ आज पनि । कवि उषाकिरण आजाद ठाउँठाउँमै कविताका टुक्काहरु जन्माइरहनुभएको छ । बाटुलेदेखि नै भोलि टालेगाउँमा आयोजना गरिँदै गरेको कार्यक्रमको ठूलो चर्चा छ । कुशे गाउँपालिका र टालेगाउँका लागि मात्र होइन, यो क्षेत्र र अझ यस जिल्लाकै लागि नयाँ र नमुना कार्यक्रम र अभियान हो यो । म त अझ यसलाई आन्दोलन नै बनाउनुपर्छ भन्ने मान्यता राख्छु । कसैले पनि जनयुद्धमा टीका र माला लगाएर आफूहरुलाई बिदा गर्ने बाबाआमाको सम्मान र स्मृतिमा छात्रछात्रा र सहिद परिवारदाई सम्मान र अभिनन्दन गर्ने विषय पुरानो संस्कार र संस्कृतिलाई चिहान बनाएर त्यसको भग्नावशेषमा नयाँ संस्कृति आरम्भ गर्ने विषय हो । यस किसिमको संस्कारलाई संस्कृतिका रूपमा विकास गर्नु अत्यावश्यक छ । त्यसैले संस्थापक पूर्णबहादुर सिंहदम्पती मात्र होइन, कार्यक्रममा सहभागी अतिथि, आयोजक सबै नौला लाग्छन् स्थानीयका लागि । आफूले ५ कक्षासम्म अध्ययन गरेको र आफ्ना बाबा बितु सिंहसमेतको पहलमा स्थापित विद्यालयमा जिल्ला पार्टी इन्चार्ज–सेक्रेटरी, जिल्ला पार्टी समिति र अभियान टोली, नेकपा कुशे गाउँ समिति, अखिल नेपाल जनसांस्कृतिक महासङ्घअन्तर्गत एकीकृत जनसांस्कृतिक परिवार जाजरकोट, स्थानीय जनसमुदाय, परिवारका सदस्यसहितको सहभागिता रहने कार्यक्रममा झन्डै पाँच सय मानिस सहभागी हुने अपेक्षा गरिएको छ । यसमा संस्थापक पूर्णजी पनि विश्वस्त भएको देखिरहेको छु । कसैगरी पानी परिहाल्यो भने हिउँ पर्ने सम्भावना पनि छ । हिउँ परेमा पाथीभराको नाङ्गो थाप्लो सेताम्मे देखिनेछ । टालेगाउँ महान् जनयुद्धका क्रममा अछाम मङ्गलसेनको युद्धको तयारीदेखि ऐतिहासिक पिली कारबाहीपछि पत्रकार सम्मेलन गरेको चर्चित ठाउँ पनि हो । त्यसैले यस स्थानमा क्रान्तिकारी जमघट अत्यावश्यक र अपरिहार्य देखिन्छ ।

चार वर्षपछि अर्थात् बाबा बितु सिंहको निधनपछि पहिलोपल्ट डोग्री पुग्नुभएको छ पूर्णबहादुर सिंह कमरेडहरूलाई लिएर । किशोरावस्थादेखि नै जनयुद्धमा लामबद्ध भएको, २०६० सालदेखि नै घरमा बस्न नपाएको, आफू कार्यक्षेत्रमै भएको अवस्थामा बाबा र आमा दुवैजनासँग बिछोड हुनुपरेको कमरेड पूर्णको राजनीतिक र पारिवारिक अवस्थाका बारेमा हामी विज्ञ छौँ । उहाँका बाबाआमाले भाइ रेडियम र बहिनी जल्दरालाई रातो टीका लगाएर महान् जनयुद्धमा लामबद्ध गराउनुभएको हो । यात्राभरि कमरेड पूर्णले हामीलाई आफू जनयुद्धमा लामबद्ध भएदेखि आफू संलग्न मोर्चा र आफ्ना कार्यक्षेत्रहरूका बारेमा पनि जानकारी गराइरहनुभएकाले हामी ती विषय र क्षेत्रहरूलाई स्मृतिपटलमा अङ्कित गरिरहेका छौँ । सुर्खेतको छिन्चुदेखि सल्यान, जाजरकोट, पश्चिम रुकुम हुँदै फेरि जाजरकोट खलङ््गा, चाइनाबगर (पहिलेको च्यान बगर) देखि टालेगाउँसम्मका भूगोलहरू हाम्रो मस्तिष्कमा विभिन्न कथा र बिम्ब बनेर सजिएका छन् । विद्यालयबाट पूर्णजीको घर देखिएको छ । हामी हातहातमा आआफ्ना झोलाझम्टा चेपेर घरतिर लम्किरहेका छौँ । हामी सबैजना उहाँको घरपरिवारका सदस्यसँग भेट्न आतुर छौँ ।
क्रमशः

प्रतिकृया दिनुहोस्