Hamro Sanchar

नलगाडको खानटाकुरामा २ हजार वाट प्रसारण क्षमता भएको सामुदायिक रेडियो संचालनको अन्तिम तयारीमा

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/१०/१२ गते
जाजरकोट

नलगाड नगरपालिका–४ खानटाकुरामा दुई हजार वाट प्रसारण क्षमता भएको सामुदायिक रेडियो संचालनको अन्तिम तयारीमा पुगेको छ । संचारको दृष्टीले दुर्गम मानिएको नलगाड नगरपालिकालाई राष्ट्रिय सुचना, संचार र समाचारसंग जोड्न खानटाकुरामा २ हजार वाट प्रसारण क्षमता भएको सामुदायिक रेडियो संचालनमा आउने लागेको हो । सामुदायिक रेडियो नलगाड एफएम जनादेश संचार केन्द्रले संचालनमा ल्याउन लागेको छ ।

सामुदायिक रेडियो नलगाड एफएम संचालन गर्न चाहिने सबै कानुनी प्रकृयालाई पुरा गरीसकेको जनादेश संचार केन्द्रका अध्यक्ष लोकेन्द्र विक्रम शाहीले जानकारी दिएका छन् । रेडियो संचालन गर्न थोरै प्राविधिक कामहरु बाँकी रहेको जानकारी दिदै अध्यक्ष शाहीले तत्कालै प्राविधिक कामहरु सम्पन्न गरेर आगामी फागुन महिनाको दोस्रो वा तेस्रो साताबाट सामुदायिक रेडियो संचालनमा ल्याउने तयारी भईरहेको बताए । अध्यक्ष शाहीकानुसार उक्त सामुदायिक रेडियो संचालन गर्न नलगाड नगरपालिकाले जनादेश संचार केन्द्रलाई २८ लाख ५० हजार अनुदान दिएको छ ।

४१७ मेघावाट विद्युत उत्पादन भएको नलगाड हाईड्रो पावर, भारतको रुपैडियाबाट तिव्वतको मोरिम तेन्जे जोड्ने त्रिदेशिय राजमार्ग भेरी करिडोर जस्ता राष्ट्रिय गौरवका आयोजनाहरु भएको नलगाड नगरपालिकालाई सुचना संचारका दृष्टीले अब धेरै पछि पर्न दिन नहुने नलगाड नगरपालिकाका प्रमुख टेक बहादुर रावलको भनाई रहेको छ । पाली, कल्पतको कार्तिके मौरीको महले राष्ट्रिय स्तरमै जिल्लाको फरक पहिचान दिन सफल भएको बताउदै नगरप्रमुख रावलले नलगाडको पूर्वाधार विकास, आर्थिक, सामाजिक र संस्थागत विकासका क्षेत्रमा भएका प्रगतिहरुले राष्ट्रिय स्तरको समाचारमा स्थान पाउन नसकेको बताए । राष्ट्रिय स्तरका मिडियाहरुमा नलगाड नगरपालिकाका नागरिकहरु भोग्नु परेको आर्थिक, सामाजिक सवालहरुलाई स्थान पाउन नसकेको बताउदै नगर प्रमुख रावलले आर्थिक हिसावले पछाडी परेका नागरिकहरुलाई सामाजिक न्याय दिनुको साथै बालबालिकाहरुको सर्वाङ्गिण विकास, युवाहरुलाई रोजगार र जेष्ठ नागरिकहरुलाई सम्मान गर्न नगरपालिकाबाट नियमित रुपमा प्रवाह गरिने सार्वजनिक सेवाका बारेमा जनतालाई सु–सुचित गर्न नगरपालिकाले सामुदायिक रेडियो संचालनमा ल्याउन लागेको बताए । वातावरण संरक्षण तथा जलवायु अनुकुलन, विपद व्यवस्थापन, सामाजिक रुपान्तरण, आर्थिक विकास, शिक्षा–स्वास्थ्यको सुधार, कृषि उद्यमशिलता सम्बन्धि उक्त सामुदायिक रेडियो नलगाड एफएमले नगरबासीलाई सु–सुचित गर्नेमा नगर प्रमुख रावलले विश्वास व्यक्त गरेका छन् । निकट भविश्यमै संचालनमा आउन थालेको सामुदायिक रेडियोले सबैलाई पारदर्शी, जवाफदेही बन्न उत्प्रेरित गर्नुको साथै सुशासन कायम गर्न मद्दत पुर्याउनेमा आफु विश्वस्त भएको नगर प्रमुख रावलले बताए ।

नगरपालिकाको आर्थिक सहयोगमा तत्कालै संचालनमा आउन लागेको सामुदायिक रेडियो नलगाड एफएमले नलगाड नगरपालिकालाई कर्णाली प्रदेशका ७९ वटै पालिकासंग जोड्न मद्दत गर्ने नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर सिंहको भनाई रहेको छ । सुचना, संचारबाट पछाडी परेको पालिकालाई सुचना संचारको पहुँचमा पुर्याउन नलगाड नगरपालिकाले सामुदायिक रेडियो संचालनमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत सिंहले बताए । रेडियो संचालन पश्चात नेपालको संविधानले व्यवस्था गरेको सुचनाको हकलाई कार्यान्वयन गर्न सहज हुने प्रमुख प्रशासकीय अधिकृत सिंहको भनाई रहेको छ । नगरपालिकाको आर्थिक सहयोगमा संचालन गरिने सामुदायिक रेहियोले आवाज विहिनहरुको आवाज बन्नुको साथै नगरबासीलाई सामाजिक न्यायको पहुँमा पुर्याउने अधिकृत सिंहले विश्वास व्यक्त गरेका छन् ।

९६ थोप्लो ९ मेगाहर्ज फ्रिक्वेन्सी रहेको सामुदायिक रेडियो नलगाड एफएमको मुख्य (नारा) स्लोगन “बिस्तार गरौं अभिमत, विवेक, सम्पदा र सुविचारः गणतान्त्रिक शासन, नागरिक सशक्तिकरणका लागि सूचना र संचार । –विकास र समृद्धिको संबाहक रेडियो नलगाड ९६.९ मेगाहर्ज ।” रहेको छ । रेडियो उपकरण खरिद, ढुवानी, जडान र भौतिक संरचना निर्माण गर्न झण्डै ४८ लाख लागत लाग्ने अनुमान गरिएको जनादेश संचार केन्द्रका अध्यक्ष तथा रेडियो संचालक शाहीले बताएका छन् । रेडियोको भवन निर्माणका लागि संघ र प्रदेश सरकारसंग प्रस्ताव पेश गर्ने जानकारी दिदै अध्यक्ष शाहीले खानटाकुरामा संचालन गरिने २ हजार वाट प्रसारण क्षमताको रेडियो कर्णाली प्रदेशका सबै जिल्ला, लम्बिनी र ७ नम्बर प्रदेशका अधिकांश जिल्लाका नागरिकहरुले सुन्न सक्ने बताएका छन् ।

जनादेश संचार केन्द्रका अध्यक्ष तथा सामुदायिक रेडियो नलगाड एफएमका संचालक शाही प्रेस सेन्टर नेपाल, जाजरकोटका अध्यक्ष हुन् । शाही विगत १० बर्षे जनयुद्ध कालदेखि नै जनादेश साप्ताहिकमा रिर्पोटिङ्ग गर्दै आएका पत्रकार हुन् । जनादेश साप्ताहिकमा लामो समयसम्म रिर्पोटिङ्ग गरेका शाहीले सामुदायिक रेडियो नलगाड एफएम संचालन गर्ने संस्थाको नाम पनि जनादेश संचार केन्द्र राखेका छन् । जनादेश संचार केन्द्रलाई संचार उद्योगमा विकास गर्न सवै पेशागत पत्रकार संगठनहरु, नेपाल पत्रकार महासंघसंग सहकार्य गर्नुको साथै तीनै तहका सरकारका सवै विषयगत कार्यालयको सहयोग आबश्यक रहेको अध्यक्ष शाहीले बताए । साथै उनले नीजि क्षेत्रमा रहेका ठुला–मझौला र साना उद्योग व्यवसायि र व्यापारीहरुसंगको सम्बन्धलाई पनि सुमधुर बनाईने बताएका छन् ।

पर्या–पर्यटनको प्रचुर सम्भावना बोकेको बारेकोट गाउँपालिकाको सम्पूर्ण दृष्य अवलोकन गर्न सकिने सुन्दर ठाउँ खानटाकुरामा संचालन गरिने २ हजार वाट प्रसारण क्षमताको रेडियो र नलगाड नगरपालिकाले निर्माण गरेको शहिद पार्क आकर्षणका स्रोत बन्ने विश्वास गरिएको छ । अब बनाईने २ सय ८० मिटर उचाई र ६ किलोमिटर लम्बाई रहेको नलगाड हाईड्रोपावरको जलासयले खानटुकाराको सान् र पहिचान बेग्लै बन्ने विश्वास गरिएको छ ।

प्रतिकृया दिनुहोस्