Hamro Sanchar

करेन्टको जोखिममा पढ्न बाध्य छन् खातीजेवाका बिद्यार्थी

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/१/१० गते
जाजरकोट

छेडागाड नगरपालिका–४ खातीजेवा स्थित बीरेन्द्र आधारभुत बिद्यालयका बिद्यार्थीहरु करेन्टको उच्च जोखिममा रहेर कक्षा कोठामा पढ्न बाध्य भएका छन् । प्रयाप्त कक्षा कोठाको अभावमा करेन्टको उच्च जोखिममा रहेर बालबालिकाहरु कक्षा कोठामा पढ्न बाध्य भएका हुन् ।

कक्षा कोठाको अभावले बीरेन्द्र आधरभुत बिद्यालयमा कक्षा ४ र ५ का बिद्यार्थीहरु सोलार सेटको ब्याट्री स्टोर बनाईको, कम्प्युटर, प्रिन्टर र ईन्टरनेटको राउटर जडान गरिएको कोठामै बसेर पढ्न बाध्य भएका छन् । सोलार सेटको ब्याट्रीबाट कम्प्युटर, प्रिन्ट र ईन्टरनेटको राउटर चलाउन ईन्भटरबाट डिसीलाई एसी करेन्टमा बदलियको छ, त्यही कोठामा बसेर कक्षा ४ र ५ का बिद्यार्थीहरुले आफ्नो पाठ्यपुस्तकका पाठहरुलाई अध्ययन गरिरहेका छन् । सोलार ब्याट्रीलाई सितल, खुल्ला, उज्यालो अलगै छुट्टै ठाउँमा राख्नुपर्ने पशुपति सप्लायर्स, खलंगा, जाजरकोटका प्रोपराईटर दुर्गबहादुर श्रेष्ठले बताए । बिद्यार्थीको कक्षा कोठामा जडान गरिएका डिसी ब्याट्रीलाई एसीमा कन्भट गरेको करेन्ट लागेर शिक्षक र बिद्यार्थीलाई नै खतरा हुन सक्ने, बिद्यार्थीहरुले अचेत अबस्थामा फलामका टुक्राले छोएमा ब्याट्री पट्कन सक्ने, ब्याट्रीमा राखिएको एसिडले बालबालिकाहरुको शरिर र शरिरमा लगाएका कपडाहरु काट्न सक्ने जस्ता खतराहरु हुन सक्ने प्रोपराईटर श्रेष्ठको भनाई रहेको छ । पशुपति सप्लायर्स मार्फत श्रेष्ठले सौर्य उर्जा सम्बन्धिका सोलार सेट खरिद तथा विक्री वितरण गर्दै आएका छन् भने, सौर्य उर्जाका सोलार सेटहरु जडान गर्ने श्रेष्ठ आफै प्राविधिक पनि हुन् ।

बीरन्द्र आधारभुत बिद्यालय खातीजेवामा प्रारम्भिक बाल बिकास केन्द्र देखि कक्षा ८ सम्मको पढाई हुने गरेको बिद्यालय प्रधानाध्यापक हर्कबहादुर बुढाले जानकारी दिएका छन् । बाल बिकास केन्द्र बाहेक अन्य सबै कक्षामा अध्ययनरत १ सय ९७ जना बिद्यार्थी संख्या रहेको विद्यालयमा प्रावि स्थायी शिक्षक १, प्रावि राहत २, शिक्षा विकास तथा समुन्वय ईकाईको निमावि अनुदान १, नगर शिक्षा शाखाको निमावि एकमुष्ट अनुदान १ र विद्यालयको नीजि श्रोतबाट प्रावि २ जना शिक्षक गरि जम्मा ७ जना शिक्षकले कक्षा १ देखि कक्षा ८ सम्मका सबै बिषयहरुलाई पढाउनुपर्ने अबस्था रहेको प्रअ बुढाले बताए ।

कक्षा १ देखि कक्षा ८ सम्मका बिद्यार्थीहरुलाई पढाउने प्रयाप्त कक्षा कोठा र शिक्षक दरबन्दी अभावका कारण सोलार ब्याट्री जडान गरिएको कोठामै कक्षा ४ र ५ का बिद्यार्थीहरुलाई संगै राखेर बहुँकक्षा शिक्षण बिधीबाट पढाउनुपर्ने अबस्था रहेको प्रअ बुढाले जानकारी दिए । प्रअ बुढाले दिएको जानकारी अनुसार उक्त बिद्यालयमा कक्षा २ र ३ का बिद्यार्थीहरुलाई एउटै कोठामा राखेर पढाउने गरिएको छ भने, कक्षा ४ र ५ का बिद्यार्थीहरुलाई ब्याट्री जडान गरिएको कोठामा राखेर पढाउने गरिएको छ । अन्य कक्षाका बिद्यार्थीहरुलाई भने, अलग–अलग कोठामा राखेर पढाउने गरिएको छ ।

२०७४ साल भन्दा अगाडी नै निर्माण गरिएका उक्त विद्यालयका दुई–दुई कोठे तीन वटा भवन रहेका छन् । एउटा कोठामा बिद्यालयको कार्यालय रहेको छ भने, बाँकी रहेका पाँच वटा कोठामा कक्षा १ देखि कक्षा ८ सम्मका बिद्यार्थीहरुलाई राखेर पढाउनु पर्ने, बिद्यार्थीहरुले पढिरहेका कक्षा कोठामै सोलार सेटका व्याट्री, कम्प्युटर, प्रिन्टर, ईन्टरनेटको राउटर जडान गर्नुपर्ने बिद्यालयको आफ्नै छुट्टै खालको बाध्यता रहेको छ ।

प्रारम्भिक बाल बिकास केन्द्रको भवन सेभ द चिल्ड्रेन र पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटद्धारा संचालित अबसर परियोजना र नगरपालिकाको अनुदानमा निर्माण गरिएको भएता पनि उक्त बिद्यालयका अन्य भवन निर्माण, खेलमैदान तथा घेराबार लगाएतका भौतिक संरचना निर्माणमा हालसम्म नगरपालिकाले कुनै बजेट बिनियोजन गरेको छैन् प्रअ बुढाले भने–‘अबस्था र आबश्यकताका आधारमा नभएर राजनैतिक आस्था र पहुँचका आधारमा नगरपालिकाले बजेट बिनियोजन गर्ने गरेको छ ।’ नगरपालिका भित्रका कुनै–कुनै यस्ता बिद्यालयहरु पनि छन, जहाँ नगरपालिकाले प्रत्येक बर्ष भवन निर्माणको लागि बजेट बिनियाजन नगरेको कुनै बर्ष छैन् प्रअ बुढाले भने–‘भवन निर्माणका लागि प्रत्येक बर्ष नगरपालिकाले बजेट बिनियोजन गर्न नछुटाउने बिद्यालयहरुमा बाल मावि झाप्रा, रामुदय मावि जेवा, भाग्यदय मावि बडावन, जनविकास मावि सुवानाउली, कालिका मावि सोरारी र कालिका मावि सेराखरे हुन् ।’

शैक्षिक क्षेत्रमा नगरपालिकाले गरेको असन्तुलित बिकासका सन्दर्भमा हामीले छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महतराको धारणालाई फेसवुक म्यासेन्जरबाट बुझ्ने प्रयास गरेका थियौं । फेसबुक म्यासेन्जरबाट हामीले राखेको जिज्ञासालाई नगरप्रमुख महतराले राम्रोसंग अध्ययन त गरेका थिए तर, यस बिषयमा कुनै प्रतिक्रिया जनाएका छैनन् ।

प्रतिकृया दिनुहोस्