News Portal

लामो बाट हाल्ने जाजरकोटको मृत्यु संस्कार

११५५ पटक

मान्छे मृत्यु हुँदा ‘बाट’ भनिने कपडालाई शवसँगै दाहसंस्कारको लागि घरदेखि घाटसम्म लैजाने अनौठो चलन जाजरकोटका गाउँघरमा वर्षौदेखि चल्दै आएको छ । शवलाई घरबाट उठाएर अन्तिम संस्कारका लागि नदी तथा खोला किनारमा लैजाँदा सेतो, निलो, रातो र पहेलो रङ्गको कपडा कम्तीमा तीन थानदेखि अधिकतम एक सय थानसम्म प्रयोग गर्ने गरिदै आएको छ ।

नलगाड नगरपालिका–८ का दिपक सिंहले बाबुको अन्त्येष्टिमा ५० थान अथवा ६ सय मिटर लामो ‘बाट’ भनिने लामो कपडा प्रयोग गरेका थिए । बाबुको अन्त्येष्टिको लागि कपडा किन्न एक लाख रुपैयाँ खर्च भएको उनले बताए । त्यो पैसा सामाजिक काममा खर्च गरेको भए राम्रो हुन्थ्यो, तर बुवाकोे धोको पूरा गर्न लामो ‘बाट’ हाल्नु परेको सिंहले भनाई राखेका थिए । सोही ठाउँका पदम बहादुर खत्रीले आमाको मृत्यु हुदा ४० थान कपडा अथवा लामो बाट हालेर दाहसंस्कार गरेको बताए । सिंह र खत्री त केहि प्रतिनिधीमुलक पात्र मात्र हुन । अधिकांश जाजरकोटीले वर्षौदेखि आफन्तको अन्त्येष्टिमा लामो कपडा हाल्दै आएका छन । ‘बाट’ लाई अघि लगाएर शवलाई पछिपछि दाहसंस्कारको लागि लैजाने गरिएको नलगाड–५ का शान्त बहादुर खत्रीको भनाइ छ । खत्रीका अनुसार अन्त्येष्टिको लागि मनसान घाट तर्फ लैजाँदा बाटो देखाउन, छरछिमेक र अर्को गाउँका मानिसले पनि मृत्यु भएको कुरा जानकारी पाउन् भनेर लामो कपडालाई सङ्केतका रूपमा प्रयोग गरिने गरिएको छ ।

मृत्यु संस्कारमा धेरै लामो कपडा हाल्ने चलनले गाउँघरमा सामाजिक असमानतालाई बढवा दिएको छ । अन्त्येष्टिमा कपडाको प्रयोगकै आधारमा गाउँघरमा धनी र गरीब भनेर समाजले छुट्याउने गरेको ८५ बर्षिय कर्ण बहादुर रावलले बताए । इज्जत र प्रतिष्ठासँग जोडेर अरुलाई देखाउन साहुँसंग ऋण कारेर भएपनि लामो ‘बाट’ हाल्ने होडबाजी चल्दै आएको छ, रावलले भने । छोटो कपडा प्रयोग गर्दा गाउँलेहरुले नै कुरा काट्ने भएको हुदा सकि नसकि लामै ‘बाट’ प्रयोग गर्न बाध्य हुनु परेको उनको भनाइ रहेको छ ।

संस्कार जोगाउन दुई तीन मिटरको बाट हाल्दा पनि हुन्थ्यो होला बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले भने–‘देखासिकीकै लागि थानका थान कपडाको प्रयोग गर्ने चलनले गर्दा विपन्नलाई समस्या हुने गरेको छ, यस्तो चलनलाई निरुत्साहित गर्न गाउँका सबै एक हुनु पर्छ ।’ मृतकप्रति सम्मान दर्शाउन नजिकका आफन्त (छोरी, ज्वाइँ, बहिनी, दाजुभाई) ले पनि अनिवार्य रुपमा कपडा ल्याउने चलन रहेको अध्यक्ष शाहले बताए ।

आफन्तले कम्तीमा एक–एक थान हाल्दा पनि ‘बाट’ धेरै लामो हुने गरेको छ । बाँचुन्जेल राम्रोसँग खान लाउन नपाएपनि मृत्यु हुँदा भने लामो ‘बाट’ हाल्ने चलन धेरै रहेको छ । पहिले अहिलेको जस्तो खबर आदान प्रदान गर्ने सञ्चारका माध्यम (टेलिफोन, सामाजिक सञ्जाल) थिएन । त्यतिबेला धेरैलाई थाहा होस् भनेर लामोबाट हाल्नु स्वाभाविक भएपनि अब यसलाई कम गर्नुपर्छ, अध्यक्ष शाहको भनाइ छ । कतिपय बुढापाकाले अहिले पनि आफ्नो लागि आफैले धेरै थान कपडा किनेर राख्ने गरेका छन । जति लामो ‘बाट’ हालिन्छ उति छिटो स्वर्गमा पुगिन्छ भन्ने अन्धविश्वासले गर्दा बुढापाकाले आफ्नो लागि आफैले कपडा किनेर राख्ने गरेका हुन्छन । अरुलाई देखाउन थानका थान ‘बाट’ हालेर धेरै खर्च गर्नु भन्दा बरु मृतकको नाममा विद्यालय लगायतका संस्थामा अक्ष्यकोष स्थापना गरेर समस्यामा परेका दिन दुखीलाई सहयोग गर्दा आफन्तप्रति उचित सम्मान हुने नलगाड–८ का प्रेम केसीले बताए । यो परम्पराको अन्य गर्नै पर्ने केसीको भनाई रहेको छ ।

प्रतिकृया दिनुहोस्