Hamro Sanchar

सामुदायिक रेडियो नलगाड एफएमको निर्माण कार्य आजदेखि सुरु

नगर प्रमुख रावलद्धारा शिलन्यास

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/११/२ गते
जाजरकोट

सामुदायिक रेडियो नलगाड एफएमको टावर, स्टुडियो निर्माण तथा सामाग्री जडान लगाएतको निर्माण कार्य सुरु भएको छ । सोमबार औपचारिक कार्यक्रमको आयोजना गरेर नगर प्रमुख टेक बहादुर रावलले शिलन्यास गरेका छन् । टावरको फाउण्डेसनमा नगर प्रमुख रावलले विधिवत रुपमा शिलन्यास गरेका थिए ।

शिलन्यास पश्चात रेडियोको टावर र स्टुडियो निर्माण तथा अर्थिङ्ग लगाएतका अन्य सामाग्री जडानको कामलाई युद्ध स्तरमा सम्पन्न गर्न नगर प्रमुख रावलले जनादेश संचार केन्द्रका अध्यक्ष लोकेन्द्र विक्रम शाहीलाई निर्देशन दिएका छन् । नलगाड नगरपालिका–४ खानटाकुरामा २ हजार वाट प्रसारण क्षमता भएको सामुदायिक रेडियो नलगाड एफएमको टावर, स्टुडियो निर्माण तथा सम्पूर्ण सामाग्री जडान गर्ने जिम्मा काठमाडौंको गंगासागर मिडिया प्रालीलाई दिएको जनादेश संचार केन्द्रका अध्यक्ष शाहीले जानकारी दिएका छन् ।

अबको दुई दिनभित्रै गंगासागर मिडिया प्रालीका प्राविधिकहरुले स्टुडियोमा जिप्सन जडान गरीसक्ने बताउदै अध्यक्ष शाहीले ५ गतेदेखि टावर जडान गर्ने प्राविधिकले काम सुरु गर्ने बताए । टावर जडानको काम सम्पन्न गर्न ४–५ दिनको समय लाग्ने छ अध्यक्ष शाहीले भने–‘टावर निर्माण तथा अर्थिङ्ग जडान पश्चात रेडियोको अन्य सामाग्री जडान गर्ने प्राविधिकहरुले काम सुरु गर्ने छन्, त्यो काम पनि २–३ दिनमै सम्पन्न हुनेछ । त्यसपछि हामीले रेडियोको परीक्षण प्रसारण सुरु गर्नेछौं ।’

यि सबै काम सम्पन्न गर्नका लागि न्युनतम तीन हप्ताको समय लाग्ने बताउदै अध्यक्ष शाहीले सक्भर यहि फागुन महिनाको अन्तिम साता, नभए चैत महिनाको पहिलो सातादेखि रेडियोको परीक्षण प्रसारण सुरु गर्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस्