Hamro Sanchar

भेरी नगरपालिकाको मेयरमा नेपाली काँग्रेसबाट ६ जना आकांंक्षी

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/११/३ गते
जाजरकोट

नेपाल सरकारकाले आगामी बैसाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरे पश्चात जाजरकोटमा चुनावी सरगर्मी बढ्न थालेको छ । जिल्लामा क्रियाशिल राजनितिक दलका नेता तथा कार्यकर्ताहरुले पालिका अध्यक्ष तथा मेयरको टिकटको दावी गर्न थालेका छन् । भेरी नगरपालिकाको मेयरमा नेपाली काँग्रेसबाट ६ जनाले दावी गरेका छन् । नेपाली काँग्रेसबाट भेरी नगरपालिकाको मेयरको उमेरदवारमा सनत कुमार कार्की, तेज विक्रम शाह, पुष्पराज बस्नेत, जनक केसी, लिला बहादुर शाह र कमल बहादुर चन्दले दावी गरेका छन् ।

नेपाली काँग्रेसबाट भेरी नगरपालिकाको मेयरको उमेरदवारमा दावी गरेका उक्त ६ जनाको छोटो राजनितिक परिचय यस प्रकार रहेको छ :–

जनक केसी, सम्पर्क नम्बरः– ९८५१२२९३७९
साढे दुइ दशक अघिदेखि नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ मार्फत राजनीतिमा प्रवेश गरेका केसीले आगामी स्थानीय तहको निर्वाचनमा काँग्रेसको तर्फवाट भेरी नगरपालिकाको मेयर पदमा आफनो उम्मेदवारीको आकांक्षा देखाएका छन् । सानै देखि राजनीतिमा गहिरो रुची राख्ने गरेका वताउने केसी काँग्रेसको आन्तरिक राजनीति र अन्य दलका युवा तथा तल्लो तहका जनताका माझ निकै लोकप्रिय युवा नेतृत्वका रुपमा चिनिन्छन् । राजनीति प्रतिको गहिरो रुचि, डेढ दशक लामो शिक्षण तथा पत्रकारीताको अनुभव संगाल्दै समाज सेवाको क्षेत्रमा समेत सक्रिय केसीले तीन वर्ष अघि नै भेरी नरपालिकाको मेयरका लागि आफनो आकांक्षा रहेको वताएका थिए । त्रिभुवन विश्व विद्यालयवाट अंग्रेजी विषयमा स्नात्तकोत्तर अर्थात एम.एड. गरेका केसी नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, मानवअधिकार तथा शान्ति समाज जाजरकोट र भेरी ज्ञानोदय क्याम्पस जाजरकोटको स्वतन्त्र विद्यार्थी युनियनका पुर्व सभापति हुन । पार्टीको आन्तरिक संगठन निर्माण, प्रशिक्षण तथा अन्य निर्णय प्रक्रियामा प्रभावशाली भुमिका निर्वाह गरिरहेका केसी भेरी नगरपालिका वडा नम्वर ३ स्याँलाका स्थायी वासिन्दा हुन् । अहिले नेपाली काँग्रेस जाजरकोटको जिल्ला समिति सदस्य तथा काँग्रेस निकट वौद्धिक व्यक्तिहरुको सँस्था सामाजिक लोकतन्त्र अध्ययन केन्द्र जाजरकोटको संयोजक समेत रहेका केसी राजनीति र यसका नेतृत्वका प्रति जनताको माया र भरोसालाइ प्रेमपुर्ण वनाउन नयाँ ढंगले काम गर्न नेतृत्वले उदाहरणीय कामहरु जनताका माझ प्रस्तुत गर्न हिम्मत गर्नुपर्छ भन्ने सोचेर पार्टीले विश्वास गरेमा आफु भेरी नगर सरकारको नेतृत्वका लागि जनताको अदालतमा जाँचिन तयार रहेको वताए । केसी नगरपालिका मात्रै नभएर जिल्ला भरिकै युवाहरु र तल्लो तहका जनताको माझ परिचित भएको हुनाले शसक्त आंकाक्षी मध्ये पर्छन् ।

पुष्पराज बस्नेत, सम्पर्क नम्बरः–९८५१०३२२९६
नेपाली काँग्रेसको विद्यार्थी राजनितिबाट सक्रिय राजनितिमा प्रवेश गरेका पुष्पराज बस्नेतले २०६३ सालदेखि २०६६ सालसम्म नेपाल बिद्यार्थी संघ ईन्जिनियरिङ्ग अध्ययन संस्थानमा सक्रिय राजनीतिक गर्दै आएका थिए । पश्चिमाञ्चल क्याम्पस पोखराको सचिवबाट सभापतिसम्म बन्न सफल भएका बस्नेतले २०६५ सालमा सम्पन्न स्ववियु निर्वाचनमा नेपाल बिद्यार्थी संघको तर्फबाट सचिव पदको उम्मेदवार बनेका थिए । २०७१ देखि २०७३ सालसम्म नेपाल बिद्यार्थी संघको प्राविधिक बिद्यार्थी परिषद (FOTS) को केन्द्रिय अध्यक्षको जिम्मेवारी समालेका बस्नेतले २०७३ देखि २०७६ सालसम्म नेपाल बिद्यार्थी संघको केन्द्रिय सदस्य थिए । केन्द्रिय राजनीतिसंग निकै नजिक रहेर काम गरिरहेका बस्नेत हाल नेपाली काँग्रेको १४ औं केन्द्रिय महाधिवेशन प्रतिनीधि तथा नेपाली काँगेस जाजरकोटका प्रभावशाली युवा नेतामा पर्दछन । एक दशकदेखि ईन्जिनियरिङ्ग पेशामा रहेका बस्नेत पार्टीले टिकट दिएमा भेरी नगरपालिकाको मेयर पदको उमेरदवार भएर चुनाव लड्न तयार रहेको बताएका छन् । नेपाली काँग्रेसको १४ राष्ट्रिय महाधिबेशनले युवाहरुलाई आकर्षित गरेको बताउदै बस्नेतले आगामी निर्वाचनमा पुराना नेताहरु साईट लागेर युवाहरुलाई अगाडी बढाउने महाधिवेशनको स्प्रीडलाई पार्टीले पकड्नु पर्ने भनाई राखेका छन् । पार्टी र सत्ता संचालनमा नयाँ भिजन भएका युवाहरुले अबसर पाउनुपर्ने बस्नेतले धारणा राख्दै आएका छन् ।

सनत कुमार कार्की, सम्पर्क नम्बरः– ९८४८०८३३९३
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फवाट भेरी नगरपालिकाको मेयर पदमा उम्मेदवार वनेर निकटतम प्रतिद्धन्दी रहेका कार्कीले यस पटक पनि आफुले उक्त पदमा आफनो आकांक्षा देखाएका छन् । ऐतिहासिक जनहान्दोलन २०४६ को सफलता लगत्तै शिक्षण पेशा छोडेर काँग्रेसको राजनीतिमा होमिएका कार्की नेपाली काँग्रेस जाजरकोटको राजनीतिमा हाल सवै भन्दा अग्रज नेताको रुपमा रहेका छन् । कार्की अहिले नेपाली काँगेसको कर्णाली प्रदेश समितिका उपसभापति हुन् । कार्की यस अघि नेपाल रेडक्रस सोसाइटी जाजरकोट शाखाको जिल्ला सभापति, रेडक्रसकै केन्द्रिय सदस्य, नेपाली काँग्रेस जाजरकोटको पुर्वसभापति र पुर्व जिल्ला विकास समिति जाजरकोटको सभापति पदका उम्मेदवार भइसकेका छन् । भेरी नगरपालिका वडा नम्वर ४ काजीवाराका स्थायी वासिन्दा कार्की काँग्रेसमा धेरै अवसर नपाएको नेता मध्य पर्छन । गत निर्वाचनमा पार्टीले वेहोरेको हारलाइ विजयमा परिणत गरेर भेरी नगरपालिकाको समृद्धिका लागि काँग्रेसको नेतृत्वमा अभियान थाल्ने कामका लागि पार्टीले फेरी विश्वास गरेमा मेयर पदका लागि उम्मेदवार वन्न तयार रहेको कार्कीको भनाइ छ । युवा र वृद्धवृद्धा सवैका माझ परिचित कार्की भेरी नगरपालिकाको मेयर पदका लागि नेपाली काँग्रेसका वलिया आकांक्षी हुन् ।

तेज विक्रम शाह, सम्पर्क नम्बरः– ९८६८११७७७७
नेपाली काँग्रेस जाजरकोटका सचिव तथा जिल्ला समन्वय समिति जाजरकोटका सदस्य शाह पनि काँग्रेसको तर्फवाट भेरी नगरपालिकाको मेयर पदका आंकाक्षी हुन् । २०७० सालको सुरुतिर नेकपा एमाले छोडेर काँग्रेसमा प्रवेश गरेका शाह निर्माण व्यावसायी संघ जाजरकोटको पुर्वअध्यक्ष, मानवअधिकार तथा शान्ति समाज जाजरकोटको पुर्वसभापति, मालिका सामुदायिक सेवा केन्द्र जाजरकोटको अध्यक्ष तथा नेपाली काँग्रेस जाजरकोटको पुर्वकोषाध्यक्ष हुन् । छोटै समयमा काँग्रेस जाजरकोटको राजनीतिमा सफलता हात पार्न सफल शाहले २०७४ सालको स्थानीय तहको चुनावमा काँग्रेसको तर्फवाट भेरी नगरपालिका वडा नम्वर ३ को वडा सदस्य निर्वाचित भएर जिल्ला समन्वय समितिको सदस्यमा समेत निर्वाचित भएका थिए । भेरी नगरपालिका वडा नम्वर ३ पिपलडाँडाका स्थायी वासिन्दा शाह पार्टीले विश्वास गरेर अगाामी निर्वाचनमा नगरपालिकाको मेयरमा आफनो आकांक्षा रहेको वताउछन् ।

लिला बहादुर शाह, सम्पर्क नम्बरः– ९८४४८८४२४५
नेपाली काँग्रेस जाजरकोटको प्रदेश सभा क समितिका सभापति तथा भेरी नगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष समेत रहेका शाहले पनि आगामी स्थानीय तहको निर्वाचनमा आफनो आकांक्षा रहेको वताएका छन् । भेरी नगरपालिका वडा नम्वर ३ थाप्लेचौरका स्थायी वासिन्दा शाह स्थानीय राजनीतिका परिपक्व खेलाडी मानिन्छन् । विभिन्न सामाजिक तथा शैक्षिक संघ सँस्थाहरुको नेतृत्वमा रहेर लामो समय काम गरेको अनुभव संगालेका शाह भेरी ज्ञानोदय क्याम्पस जाजरकोटको स्वतन्त्र विद्यार्थी युनियनको पुर्वसभापति समेत हुन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फवाट उम्मेदवार भइ भेरी नगरपालिका वडा नम्वर ३ को वडाध्यक्षमा निर्वाचित भएका शाहले वडा समिति चलाएको अनुभवलाइ पार्टीले विश्वास गरेमा नगर सरकार चलाउने आफनो आकांक्षा रहेको वताएका छन् । काँग्रेसमा शाह पनि वलिया आकांक्षी मध्य पर्छन् ।

कमल बहादुर चन्द, सम्पर्क नम्बरः– ९८४८०६४९२७
नेपाली काँग्रेसको कर्णाली प्रदेश सभाका प्रतिनिधि रहेका चन्द पनि काँग्रेसको तर्फवाट आगामी स्थानीय निर्वाचनमा भेरी नगरपालिकाको मेयर पदका आकांँक्षी हुन् । दोस्रो आन्दोलनको सफलतापछि २०६४ पछि राप्रपावाट नेपाली काँग्र्ेसमा प्रवेश गरेका चन्द पछिल्लो समय नेपाली काँग्रेसको राजनीतिमा निकै सक्रिय छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा समेत भेरी नगरपालिकाको मेयर पदमा दावी गरेका चन्दले यस पटक पार्टीले विश्वास गरे आफु चुनावी मैदानमा उत्रिन तयार रहेको वताएका छन् । भेरी नगरपालिका वडा नम्वर ५ सालटाकुराका स्थायी वासिन्दा चन्द यस अघि नेपाली काँग्रेसको महासमिति सदस्य थिए । शिक्षण र निजि व्यवसायमा सक्रिय चन्द स्थानीय युवा र जनताका माझ युवा नेताको रुपमा परिचित छन् ।

प्रतिकृया दिनुहोस्