Hamro Sanchar

नेकपा (माओवादी केन्द्र) बाट भेरी नगरपालिकाको मेयरका आकाँक्षी नेताहरु

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/११/६ गते
जाजरकोट

देशका ७५३ स्थानीय तहको निर्वाचन एकै चरणमा सम्पन्न गर्न सरकारले आगामी बैसाख ३० गतेको मिति घोषणा गरेपछि जिल्लामा चुनावी माहोल बढ्न थालेको छ । जिल्लामा क्रियाशिल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगाएतका राजनीतिक पार्टीहरुले चुनावी कार्यक्रमलाई अगाडी बढाउन थालेका छन् । पार्टीको चुनावी प्रचारलाई घनीभुत बनाउनुको साथै भोटरहरुलाई आ–आफ्नो पार्टी तर्फ आकर्षित गर्न जिल्लाका क्रियाशिल राजनीतिक पार्टीहरुले संगठन निर्माण, गठन तथा पुर्नगठन, बैठक, भेला, सम्मेलन र प्रशिक्षण जस्ता कार्यक्रमलाई अगाडी बढाउन थालेका छन् ।

गाउँ–गाउँमा मतदाताहरुको नामावली हेर्ने तथा अध्ययन गर्ने कार्यलाई अगाडी बढाएका राजनीतिक पार्टीहरुले जिल्लाका सात वटै पालिकाका अध्यक्ष तथा मेयरको उमेरदवार छनौट गर्न थालेका छन् । त्यसैगरी नेकपा (माओवादी केन्द्र) का तर्फबाट भेरी नगरपालिकामा मेयरको टिकटका लागि पार्टीको नगर, जिल्ला र प्रदेश कमिटीमा लभिङ्ग गर्नुको साथै मिडिया अनलाईन डिडिटल संचार मार्फत नेताहरुले नाम सार्वजनिक गरेका छन् । नाम सार्वजनिक गर्ने नेताहरुमा गगन खड्का (जीवन), ढकवीर राना (शान्त), पूर्णदेव शर्मा (नवराज) र ईमाश्वर देवकोटा रहेका छन् ।

नेकपा (माओवादी केन्द्र) बाट भेरी नगरपालिकाको मेयरका आकाँक्षी नेताहरुको छोटो राजनीतिक परिचय यस प्रकार रहेको छः–

गगन खड्का (जीवन), सम्पर्क नम्बरः– ९८५८००१४१५
गगन खड्का (जीवन) भेरी नगरपालिका–१ रिम्नका स्थायी बासिन्दा हुन् । उनले २०४१ सालमा तत्कालिन नेकपा (माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को इकाई कमिटी अध्यक्ष भएर सक्रिय राजनीति सुरु गरेका थिए । तत्कालिन बमकाण्डपछि सम्पर्क बिच्छेद भएको राजनीतिलाई खड्काले २०४७ सालको मंसिरमा दण्डपानी न्यौपानेबाट पार्टी सदस्यता प्राप्त गरेर जोडेका थिए । संयुक्त जनमोर्चाको माध्यामबाट तत्कालिन नेकपा (माओवादी) ले संचालन गरेको ग्रामिण वर्गसंघर्षका विभिन्न कारवाहीमा सहभागी भएका खड्का जनयुद्धको तयारीमा सक्रिय रुपमा सहभागी भएका थिए । खड्का जाजरकोट जिल्लाबाट जनयुद्ध थालनीका पहलकर्तामा पर्दछन् । जनयुद्ध थालनीको वेला जनसुरक्षा दलको कमाण्डर भएका खड्का पार्टीको एरिया कमिटी सदस्य हुदै जिल्ला कमिटी सदस्य भएर एरिया ईन्चार्जको जिम्मेवारी समालेका थिए । कमाण्ड इन्चार्जको जिम्मेवारी समाल्दै आएका खड्का २०५७ सालमा जिल्ला कमिटीको सेक्रेटरी भएका थिए । २०५८ सालमा क्षेत्रीय व्युरो सदस्य भएर जिल्ला इन्चार्जको जिम्मेवारी समालेका खड्का २०५९ सालमा भेरी कर्णाली क्षेत्रीय व्युरो अन्तरगत नमुना जिल्ला इन्चार्जको जिम्मेवारी समाल्नुको साथै तत्कालिन नेकपा (माओवादी) को आधार इलाका निर्माणमा महत्वपूर्ण भुमिका पुरा गरेका थिए । २०६४ सालमा बाँके जिल्लाको सह–इन्चार्जको जिम्मेवारी समालेका खड्काले निरन्तर रुपमा जिल्लाको नेतृत्व समाल्दै आएका थिए । नेकपा (माओवादी) पार्टी विभाजन हुदा बैद्य माओवादी हुदै विप्लवको नेतृत्वमा बनेको नेकपामा पुगेका खड्काले २०७४ सालमा ३६ जिल्लाका पार्टी कार्यकर्ताको काठमाडौंमा भेलागरी नेकपा (माओवादी) गठनगरी त्यसको संयोजक बनेका थिए । विप्लव नेकपाबाट आक्रमणमा परेका खड्काले २०७४ सालको भाद्रमा नेकपा (माओवादी केन्द्र) संग पार्टी एकता गरेका थिए । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच पार्टी एकीकरण भएर बनेको नेकपाको कर्णाली प्रदेश कमिटी सदस्य खड्का हाल नेकपा (माओवादी केन्द्र) को कर्णाली प्रदेश कमिटी सदस्य तथा जाजरकोट जिल्ला इन्चार्जको जिम्मेवारी समाली रहेका छन् । लामो समयसम्म पार्टी साँगठनिक अनुभव हासिल गरिसकेका खड्का विचार, सिद्धान्त र कार्ययोजनाका हिसावले परिपक्क नेतामा पर्दछन् ।

आधार इलाकामा रहेर लामो समयसम्म पार्टी काम गरेको अनुभवलाई आगामी दिनमा सत्ता संचालनको प्रक्रियामा प्रयोग गर्ने बताउदै खड्काले पार्टीले टिकट दिएमा भेरी नगरपालिकाको मेयरको चुनाव लड्न आफु तयार रहेको बताए । बास्तविक सामाजवादी मोडेलको सत्ता संचालन गर्न पार्टीले भेरी नगरपालिकाको मेयरको टिकट आफुलाई दिनुपर्ने नेता खड्काले भनाई राख्दै आएका छन् ।

ढकवीर राना (शान्त), सम्पर्क नम्बरः–९८१०९८४३५५
ढकवीर राना (शान्त) भेरी नगरपालिका–१ मैदेका स्थायी बासिन्दा हुन् । २०४७ साल माघ १० गते तत्कालिन नेकपा (मशाल) को पार्टी सदस्यता प्राप्त गरेका राना २०४९ सालमा सम्पन्न स्थानीय निकायको निर्वाचनमा संयुक्त जनमोर्चाबाट तत्कालिन खलंगा गाविस–८ का वडा अध्यक्ष निर्वाचित भएका थिए । २०५१ सालमा तत्कालिन नेकपा (माओवादी) को गाउँ कमिटी सदस्य भएका राना २०५२ सालमा ईलाका कमिटी सदस्य भएका थिए । २०५४ सालमा नेकपा (माओवादी) को एरिया कमिटी सेक्रेटरी भएका राना २०५५ सालमा जिल्ला कमिटी सदस्य भएका थिए । २०५८ सालमा नेकपा (माओवादी) भेरी कर्णाली उपव्युरो कार्यालय सचिवको जिम्मेवारी समालेका राना २०५९ सालमा जाजरकोट जिल्लाको सेक्रेटरी भएका थिए । २०६० सालमा भेरी कर्णाली उपव्युरो सदस्यको जिम्मेवारी समालेका राना २०६२ सालमा जनमुक्ति सेना नेपालको छैटौं सैन्य डिभिजन व्युरो सदस्य भएका थिए ।

२०६२ सालमा नेकपा (माओवादी) को भेरी कर्णाली क्षेत्रीय व्युरो सदस्य भएका राना २०६५ सालमा नेकपा (माओवादी), जाजरकोटको जिल्ला सेक्रेटरी भएका थिए । २०६९ सालमा नेकपा (माओवादी), जाजरकोट अध्यक्ष भएका राना २०७० सालमा नेकपा (क्रान्तिकारी माओवादी) को केन्द्रिय सदस्य भएका थिए । २०७३ सालमा नेकपा (माओवादी केन्द्र) को पोलिटव्युरो सदस्यसंगै जिल्ला अध्यक्ष भएका राना २०७५ सालमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष तथा कर्णाली प्रदेश कमिटी सदस्य भएका थिए । २०७७ सालको माघमा नेकपा विघटन भएपश्चात कर्णाली प्रदेश कमिटी सदस्यसंगै जिल्ला अध्यक्षको जिम्मेवारी समाल्दै आएका राना हाल नेकपा (माओवादी केन्द्र) को कर्णाली प्रदेश कमिटी सदस्यसंगै जिल्ला समन्वय समितिको संयोजकको जिम्मेवारी समाल्दै आएका छन् । राना २०७४ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट भेरी नगरपालिकाको मेयरका प्रत्यासी हुन् । वडाअध्यक्ष देखि नगरपालिकाको मेयरसम्मको चुनावी अनुभव हासिल गरीसकेका रानाले पटक–पटक गरी ६ पटक जिल्ला पार्टीको नेतृत्व समालि सकेका छन् । पार्टी सेल कमिटीको सदस्यदेखि पार्टी केन्द्रको पोलिटव्युरो सदस्यसम्मको साँगठनिक अनुभव हासिल गरी सकेका रानाले २०४८ सालको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको निर्वाचनमा विजय हासिल गरेर सत्ता संचालनको अनुभव पनि हासिल गरीसकेका छन् । विचार, राजनीति, संगठन र सत्ता संचालनको लामो अनुभव हासिल गरीसकेका रानाले पार्टीले टिकट दिएमा आफु भेरी नगरपालिकाको मेयरको चुनाव लड्न तयार रहेको बताएका छन् ।

पूर्णदेव शर्मा, सम्पर्क नम्बरः–९८४४८१३५३६
पूर्णदेव शर्मा (नवराज) भेरी नगरपालिका–९ पोखराका स्थायी बासिन्दा हुन् । २०४८ सालदेखि नै विद्यार्थी आन्दोलनबाट प्रभावित भएका शर्मा तत्कालिन नेकपा (माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को संगठित सदस्य भएर सक्रिय राजनीति सुरु गरेका थिए । २०४८ देखि २०५२ सालसम्म योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) र विद्यार्थी संगठनको एरिया कमिटी सदस्यमा रहेर काम गरेका शर्मा २०५४ सालमा पार्टीको एरिया कमिटी सदस्य भएका थिए । २०५६ सालमा पार्टीको एरिया कमिटी सेक्रेटरी भएका शर्मा २०५७ सालमा पार्टी जिल्ला कमिटी सदस्य भएका थिए । २०६० सालमा पार्टीको जिल्ला सेक्रेटरी भएका शर्मा २०६१ सालमा तत्कालिन जनमुक्ति सेना नेपालको बटालियन कमिसारको जिम्मेवारी समालेका थिए । २०६४ सालमा योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) नेपाल, जाजरकोट अध्यक्ष भएका शर्मा पार्टीको राज्य कमिटी सदस्य थिए । २०७० सालमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत माओवादी, जाजरकोट अध्यक्ष भएका शर्मा २०७३ सालमा नेकपा (माओवादी केन्द्र) को केन्द्रिय सदस्य भएका थिए । २०६४ सालमै प्रदेश कमिटी सदस्य भएका शर्मा हालपनि प्रदेश कमिटी सदस्य छन् । तर्क संगत कुरा गर्ने नेता शर्मा अध्ययनशिल छन् । लामो राजनीतिक इतिहाससंगै पार्टीको महत्वपूर्ण जिम्मेवारी र भुमिका पुरा गर्दै आएका नेता शर्मा पार्टीले टिकट दिएमा आफु भेरी नगरपालिकाको मेयरको चुनाव लड्न तयार रहेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) मा नेताहरुको ठुलै पंत्ति रहेको बताउदै नेता शर्माले प्रदेश र केन्द्रको राजनीति गर्नलाई अहिले नै आफ्नो नम्बर नलाग्ने भएको हुदा नगरपालिकाको राजनीति गर्नलाई मेयरको टिकटमा आफ्नो दावी रहेको बताएका छन् ।

ईमाश्वर देवकोटा (विराग), सम्पर्क नम्बरः–९८४८१९५१०३
ईमाश्वर देवकोटा (विराग) भेरी नगरपालिका–११ का स्थायी बासिनदा हुन् । न्याय, स्वतन्त्रता र समानता भन्ने नाराबाट कम्युनिष्ट राजनीतिमा प्रभावित भएका देवकोटा २०४९ सालमा नेकपा (माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मा संगठित भएर सक्रिय राजनीति सुरु गरेका थिए । २०५४ सालमा अखिल (क्रान्तिकारी) को एरिया समिति सचिव भएका देवकोटा २०५५ सालमा अखिल (क्रान्तिकारी) को एरिया अध्यक्ष भएका थिए भने, त्यसै बर्ष जिल्ला समिति सदस्य भएका थिए । २०५६ सालमा सम्पन्न अखिल (क्रान्तिकारी), जाजरकोट जिल्ला सम्मेलनबाट जिल्ला सचिवमा निर्वाचित भएका देवकोटा २०५७ सालमा सम्पन्न जिल्ला सम्मेलनबाट पुनः अखिल (क्रान्तिकारी) को जिल्ला सचिवमा निर्वाचित भएका थिए । २०५३ सालमा पार्टी सदस्य प्राप्त गरेका देवकोटा २०५४ सालमा पार्टीको एरिया समिति सदस्य भएर होलटाईम्बर भएका थिए । २०५८ सालको बैसाखमा पार्टीको एरिया समितिको सेक्रेटरी भएका देवकोटा २०५८ सालमै पार्टी जिल्ला कमिटी सदस्यमा मनोनित भएका थिए । २०५८ सालमा जिल्ला प्लाटुन कमिसार भएका देवकोटा २०६१ सालदेखि जनमुक्ति सेना नेपालको नियमित फर्मेशनमा जोडिएका थिए । २०६१ सालमै कम्पनी कमिसार भएका देवकोटा २०६१ सालमै पार्टीको उपक्षेत्रीय व्युरो सदस्य भएका थिए ।

२०६२ सालमा बटालियन कमिसार हुनुको साथै पार्टीको क्षेत्रीय व्युरो सदस्य भएका देवकोटा जाजरकोटको जगतिपुर, पाँचकाटिया, कैललीको सदरमुकाम धनगढी, पाण्डौन, कालिकोटको पिली, वुटुवल, मनकामना लगाएत दुर्जन भन्दा बढि लडाईमा सहभागी भएका छन् । जनमुक्ति सेनाको व्यारेकमा बटालियन कमाण्डरको जिम्मेवारी पुरा गरेर देवकोटाले सतवरिया स्मृती बिग्रेटको सह–कमाण्डरको भुमिका पुरा गरेका थिए । सेना समायोजनमा मेजर पोष्टमा समायोजन हुन सक्ने योग्यता भएता पनि सम्मानजनक सेना समायोजन हुन सकेन भनेर स्वईच्छीक अबगास लिएको देवकोटाले भनाई राखेका छन् । सेना समायोजन पश्चात स्वईच्छीक अवगास लिएका देवकोटा पार्टीको राज्यकमिटीको सचिवालय सदस्यमा रहेर पार्टी कामको जिम्मेवारीलाई पुरा गरेका थिए । नेकपा (माओवादी) पार्टी विभाजन भएको अबस्थामा बैद्य माओवादी, जाजरकोट जिल्ला सेक्रटरी र ईन्चार्ज भएका देवकोटा माओवादी पार्टीसंग पार्टी एकता गरेर नेकपा एकीकृत माओवादी केन्द्र बनेपछि पार्टी महाधिवेशन आयोजक समिति सदस्य भएका थिए । नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कर्णाली प्रदेश कमिटी सदस्य देवकोटा हाल नेकपा (माओवादी केन्द्र) को कर्णाली प्रदेश कमिटी सदस्य तथा भेरी नगर कमिटीको ईन्चार्जको जिम्मेवारी समालि रहेका छन् । विद्रोही र आक्रमक स्वभावका देवकोटा पनि नेकपा (माओवादी केन्द्र) को साँगठनिक राजनीतिक लामो अनुभव हासिल गरेका नेतामा पर्दछन् । देवकोटाले पनि पार्टीले टिकट दिएमा भेरी नगरपालिकाको मेयरको चुनाव लड्न आफु तयार रहेको जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्