Hamro Sanchar

किनाराको साँक्षी होईन बारेकोट स्वयं फिराद हो

गणेश सिंह (प्रवेश) प्रकाशित : २०७८/११/७ गते
जाजरकोट

अतितलाई सम्झिदा अहिले पनि शरीर थरथरी काँपिरहन्छ । प्रतिशोधको भाव जागृत हुन्छ । लालाबालासंग घरमा सुतिरहेको अबस्थामा एका–एक बन्दुकधारी पुलिसले अपहरणगरी हत्या गरेको घटनालाई सम्झिनु होस ती नाबालक, जीवन संगिनी र बुढा आमा–बाबालाई कस्तो भयो होला । घट्ट गएको बा जिउदो आयन, गुवाल गएकी बहिनी बाँचिनन्, स्कुल गएकी छोरी बलात्कारबाट अछुतो रहन सकिनन्, नुन ल्याउन हाट गएको छोराको लास भेटिएन, साथमा सुतेको श्रीमान बिहान भेटिएनन् । सेतै फुलेकी मेरी आमाको छाती रक्तमुछेल भएको छ, बुढेसकालका मेरा बा लाई थला पारिएको छ । गोठमा हुलेका बाख्राहरु बेखबर छन् । बिहानी उज्यालोको संकेत गर्ने भाले गायब भएको छ । दाउरा, घाँस जान मुस्किल छ । किनकि जंगल गएको मान्छे फिर्ता हुनेमा शंका छ । पिसाब त घर भित्रै गर्नु पर्ने बाहिर निक्लिए ज्यान लिने आदेश छ । यस्तो अबस्थामा ज्याला मजदुरी गरेर दैनिकी चलाउनेहरुको हालत र अबस्था कस्तो भयो होला । तपाईं भन्नुहोस उ घर फिर्ता भयो होला कि, भएन होला ? यस्तै–यस्तै बाध्यता र जटिलतालाई बिगतमा झेल्दै आएको बोरेकोट एउटा दरो (क्षेत्र) हो ।

लामो समयसम्म बिश्राम लिएको मेरो कलमले किन फेरी बारेकोट नै लेख्यो ? पाठक वर्गको मनमा जिज्ञासा जाग्नु स्वभाविक हो । म दाबीका साथ भन्छु, बारेकोट मेरो जन्म थलो हो । बारेकोटमा मेरो नाभी गाँडिएको छ । बारेकोटले खेलेको भुमिकामा देखिने गुण र दोषको हिस्सेदार पनि हुँ म । तथर्स मैले भोगेका, जानेका र बुझेका बिषयबस्तुमा रहेर बारेकोटका बिषयम लेख्न पाउनु मेरो जन्मसिद्ध अधिकार छ जस्तो लागेर केही लेख्ने प्रयास गर्दैछु ।

बारेकोटले विभिन्न समयमा भोग्दै आएका दुःख र कष्टहरुसंग एकाकार हुने, साथसहयोग गर्ने, दुखेको घउमा मलमपट्टी लगाउने सामन्य कामदेखि नेतृत्व दायिक भुमिका कुशलतापुर्बक निर्बाह गरेको मेरो दाबी पनि छ । तसर्थ आज बारेकोटलाई जसरी विभिन्न कोण र जोडबाट बिश्लेषण गर्ने गरिन्छ, त्यसमा दुइ वटा अति देखा परेका छन् । दुई प्रकारका मनोगत बिश्लेषणले बारेकोटलाई चित्रण गरेको पाइन्छ ।

केही सिमित ब्यक्तिहरु अझै पनि बारेकोटलाई आफ्नो स्वार्थ अथवा ईशरामा चल्छ वा चलाउन सकिन्छ भन्ने सोचाई राख्नु एउटा अति हो भने, हिजो २०४८ सालको तत्कालिन संयुक्त जनमोर्चा र त्यसपछिको १० बर्षे जनयुद्ध कालिन जनाधार नै हालसम्म कायम छ भन्ने निष्कर्ष निकाल्नु अर्को अति हो । कुनै लगानी तथा महेनत बीना आफ्नो प्रभाब कायम गरी राख्न खोज्ने एक खालको मनो बिज्ञानले बारेकोटमा काम गरिरहेको पाइछ ।

पहिलो–अति उच्च जातिय अहंकारवाद तथा दलाल सामान्ती नोकरशाही पुँजीपती वर्गको प्रतिनिधित्व गर्ने राजनैतिक विशेषता बोकेका, अर्ध लोकतान्त्रिक चरित्र भएका केही सिमित ब्यक्तिहरु, खासगरी नेपाली कांग्रेस र नेकपा एमालेका स्थानीय नेताहरु मार्फत प्रकट भएको पाइन्छ भने, आफू र आफ्नो बाहेक अरुले गरेका सबै काम कारबाहीलाई भ्रम मात्र देख्ने प्रवृती नै उक्त पार्टीहरुमा रहेको छ ।

मलाई एउटा के अनौठो लाग्छ भने, हिजो हाम्रा बाउबाजेको पालाको बारेकोटलाई हाम्रो पालमा आईपुग्दा पनि बाउबाजेकै पालाको सोचाई र बुझाई राख्नु गलत हुन्छ । आज भन्दा साढी दुई दशक पुरानो अबस्था (मानव चेतना) र अहिलेको परिबर्तनको गतिलाई मापन गरियो भने, दिन एक गुणा रात चौगुणाले विकास भएको तथ्यलाई सबैले स्वीकार गर्नै पर्दछ । झण्डै १ शताब्दीपछिको बारेकोटलाई १ शाताब्दी अघिकै बारेकोटका रुपमा बुझ्न र प्रयोग गर्न खोज्नु नै सबैभन्दा ठुलो भुल हुन्छ । नेपालमा विगत १० बर्षसम्म चलेको जनयुद्धले उच्च स्तरको मानव चेतनाको विकास गराएको हो, भन्ने सत्यतालाई कसैले बोल्लेको छैन् ।

यति छिटो मानव चेतानाको विकास गर्ने काम कसले गर्यो ? देशमा आज समाजवादको बहस चलिरहेको छ । देशमा समाजवाद निर्माण गर्ने बसहलाई हामीले २०५८÷०५९ सालमै जुनी कम्युनका माध्यामबाट व्यवहारिक अभ्यास गरिसकेका थियौं । विकास र आर्थिक समृद्धिको बिषयलाई हामीले त्यतिवेला नै कृषि सहकारी, उत्पादन समूह, श्रम सहकारी, आधुनिकीकरण कृषि उत्पादनको योजनालाई हामीले जनयुद्ध कालमै कार्यान्वयनमा ल्याएका थियौं । शैक्षिक विकासलाई मोडेलकै रुपमा विकास गर्न जुनी बालसंरक्षण केन्द्र सिर्के (लालकुन्ज) मा स्थापना मात्र हैन संचालनमा ल्याएका थियौं । स्वास्थ सेवालाई मोडेलमा विकास गर्न रिखे जनस्वास्थ्य मेडिकल रग्दामा संचालन गरेका थियौं । भौतिक पुर्वाधारको मोडेल दिन हामीले त्यतिवेला नै सुन्दर मार्ग दल्लीमा निर्माण गरेर (शहिद मार्ग रोल्पा बाहेक) समाजवादको अभ्यास गर्न बनेका मोडेल गाउँहरु, विभिन्न प्रशासनिक निकायको स्थापना र त्यसको प्रयोगबाट आज देशमा संघीयता सहितको गणतन्त्र आएको हो । संघीयता सहितको गणतन्त्र स्थापना गर्न किनाराको साँक्षी मात्र होईन बारेकोट स्वयं फिराद हो ।

दोस्रो अति भनेको अलिबढि यान्त्रिकतावादी छ । जडसुत्र, एकाङ्गी, मनोगत, अराजक र निराशावादी प्रवृत्ति देखा परेको छ । यस्ता खालका समस्याको समयमै समाधान गर्न सकिएन भने, बारेकोट मात्र होईन, सबै ठाउँहरु प्रतिकुल्तामा बदलिन सक्ने खतरा हुन्छ । आजको बस्तुगत सत्य के हो भने, गणतन्त्र प्राप्तीको लागि त्याग, समर्पण र बलिदानीको गौरवपुर्ण इतिहास बोकेको बारेकोट बिचारका दृष्टीकोणले माओवादी पार्टी कै प्रभाव कायम छ । राजनीतिमा कहिले काही नसोचेको परिणाम आउने गर्छ, त्यसको उदाहरण हो बारेकोट । बिगतमा संगठन र जनआधारका हिसाबले माओवादी पहिला,े एमाले दोस्रो र कांग्रेसको तेस्रो स्थान हो । यो अबस्था आजसम्म पनि कायम छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा परिस्थिति ठिक उल्टो बन्यो । पहिलो, दोस्रो र तेस्रोको स्थान बदलियो तेस्रो पहिलो भयो, पहिलो दोस्रो र दोस्रो तेस्रोमा झर्यो । यसको बस्तुनिष्ट समिक्षागरी सहि निष्कर्ष ननिकाली हामी अगाडि बढ्यौं भने, परिणाम अझै पनि राम्रो आउदैन । अर्को पटक हुने चुनावमा हामी एक तह तल घटुवा हुने खतरा छ । जनतामा भएको माओवादी बिचारलाई सही ढंगले नेतृत्व प्रदान गर्ने, तिनलाई संगठितगरी सही तरिकाबाट परिचालन गर्ने अथवा बिचार, संगठन र परिचालनमा सुदृढ र ब्यबस्थित गर्न सकियो भने, माओवादी पार्टीलाई पछार्न कसैले पनि सक्दैन । अब हाम्रा स्थानीय नेताहरु चनाखो हुनु पर्दछ । जागरण पैदा गर्नु पर्दछ । जनतामा पार्टी कमिटीमा नयाँ उद्देलन तथा उभार ल्याउनु पर्दछ । हरेक व्यक्तिमा माओवादी पार्टी प्रतिको जुन बिश्वास र भरोसा छ, त्यसलाइ मर्न दिनु हुदैन् । जनताको जीवन स्तरमा सुधार ल्याउने योजना बनाउनु पर्छ र बिरोधीहरुको भण्डाफोर गर्ने पार्टी भित्र भएका अन्तरघाती आत्मसमर्पणवादी प्रवृत्ति र पात्रहरुको पहिचानगरी बेलैमा सहि उपचार गर्न आबश्यक छ ।

यतिवेला चुनाव नजिकै आएको छ । हिजोभन्दा अलिकति मेहनत बढाउन आबश्यक छ । सबैले आत्मसमिक्षा गरेर अगाडी बढेमा अरुले दावी गरेको जस्तो बारेकोट हुन सक्दैन । बारेकोटले आफ्नो इतिहास बदल्न सक्दैन । यो आफ्नो परिवर्तन र समृद्धिको यात्रामा अघि बढ्न चहान्छ । जसको नेतृत्व माओवादी पार्टी बाहेक अन्य पार्टीबाट संभब छैन भन्ने कुराको हेक्का राम्रोसँग राखेको छ । बारेकोटको सत्य यही हो ।

(लेखकः सिंह नेकपा (माओवादी केन्द्र), नलगाड नगर कमिटी अध्यक्ष हुन् ।)

प्रतिकृया दिनुहोस्