Hamro Sanchar

नेकपा एमालेबाट भेरी नगरपालिकाको मेयरका आकाँक्षी नेताहरु

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/११/७ गते
जाजरकोट

आगामी बैसाख ३० गते सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि उक्त निर्वाचनमा सक्रिय भाग लिन नेकपा एमाले जाजरकोटका नेताहरुले राजनीतिक सक्रियता बढाएका छन् । नेताहरुले भेरी नगरपालिकाको मेयरको टिकट पाएमा चुनाव लड्न तयार रहेको भन्दै आ–आफ्नो नाम मिडिया अनलाईन डिजिटल संचारसंग सार्वजनिक गरेका छन् । नेकपा एमालेको तर्फवाट भेरी नगरपालिकाको आगामी निर्वाचनमा मेयरको उमेरदवारीमा नाम सार्वजनिक गर्नेहरुमा गोपाल बटाला, हेरम्ब बहादुर शाह, नगेन्द्र शाह र विश्व विक्रम शाह रहेका छन् । पार्टी विभाजनको असरले नेकपा एमाले पार्टीका तर्फबाट चुनाव लड्न कसैले पनि असहताको महसुस गरेमा नेकपा एमालेको तर्फबाट भेरी नगरपालिकाको मेयरको चुनाव लड्न आफु तयार रहेको भेरी नगरपालिकाका बहालवाला मेयर चन्द्र प्रकाश घर्तीले बताएका छन् ।

नेकपा एमालेको तर्फबाट भेरी नगरपालिकाको मेयरमा चुनाव लड्ने आकाँक्षा राखेका नेताहरुको छोटो राजनीतिक परिचय यस प्रकारको रहेको छः–

चन्द्र प्रकाश घर्ती (सिपी), सम्पर्क नम्बरः– ९८५११ ३५५९५
चन्द्र प्रकाश घर्ती (सिपी) भेरी नगरपालिका–६ का स्थायी बासिन्दा हुन् । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको राजनीतिबाट घर्ती सक्रिय राजनीतिमा प्रवेश गरेका हुन् । इकाई कमिटीबाट राजनीतिक जीवनको सुरुवात गरेका घर्ती केन्द्रिय समितिको विदेश विभाग प्रमुखको जिम्मेवारी समालेका थिए । खेलकुद क्षेत्रबाट निकै अगाडी बढेका नेकपा एमालेका युवा नेता घर्ती नेपाल गोजुरीयो कराँते दो संघको केन्द्रिय अध्यक्षको जिम्मेवारी समालेका छन् । एशियन कराँते महासंघको रेफ्री (Judge A) घर्ती युवा खेलाडी र विद्यार्थीहरुको माझमा लोकप्रिय छन् । एसएलसी परीक्षामा जिल्ला प्रथम भएका घर्ती आईएसी र बीएसी अमृत साईन्स क्याम्पसबाट गरेका हुन् भने, त्रिभुवन विश्वविद्यालय कृतिपुरबाट अर्थशास्त्रमा मास्टर्स गरेका छन् । नेकपा एमाले, जाजरकोटको चौथो जिल्ला अधिवेशनबाट सचिव पदमा निर्वाचित भएका घर्ती नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकता पश्चात बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कर्णाली प्रदेश कमिटी सदस्य भएका थिए । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिबेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित भएका घर्ती हाल नेकपा एमाले जाजरकोट जिल्लाको सह–ईन्चार्जको जिम्मेवारी समालेका छन् । आफु मेयरको टिकटको दौडमा नरहेको बताउदै घर्तीले चुनाव लड्नैपर्ने त्यस्तै खालको विशेष अबस्था आएमा आफु पछाडी नहट्ने बताएका छन् । पार्टी जिम्मेवारीको हिसावले आफु अहिले अरुलाई नगरपालिकाको मेयरको टिकट वितरण गर्ने स्थानमा पुगेको बताउदै आएका नगर प्रमुख घर्तीले जनता र पार्टी दुवैबाट अनुमोदन हुनु नै आफ्नो महत्वपूर्ण राजनीतिक उपलब्धी भएको भनाई राखेका छन् । २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा चुनावी परीक्षामा राखेपछि जनताले आफुलाई भेरी नगरपालिकाको मेयरमा अनुमोदन गरेको प्रसंगलाई जोड्दै नगर प्रमुख घर्तीले चितवनमा सम्पन्न पार्टीको १० महाधिवेशनबाट पार्टीले केन्द्रिय सदस्यमा अनुमोदन गरीसकेको बताए ।

गोपाल बटाला, सम्पर्क नम्बरः–९८६८०१९७९४
२०४६ सालपछि नेपालमा भएको राजनीतिक परिवर्तनसंगै तत्कालिन संयुक्त जनमोर्चाको राजनीतिबाट प्रभावित भएका गोपाल बटाला २०४७ सालमा नेकपा एमाले पार्टी सदस्यता लिएर सक्रिय राजनीतिमा प्रवेश गरेका थिए । नेकपा एमाले जाजरकोटको पहिलो जिल्ला अबिधेशननबाट चौथो जिल्ला अबिधेशननसम्म जिल्ला कमिटी सदस्यको भुमिकामा रहेर पार्टी कामको जिम्मेवारीलाई पुरा गरेका बटाला २०५४ सालमा सम्पन्न स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेबाट तत्कालिन जगतिपुर गाविस अध्यक्षको निर्वाचनमा विजय हासिल गरेका थिए । २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट भेरी नगरपालिका–१३ को वडाअध्यक्षको निर्वाचन जितेका वटाला तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच पार्टी एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश कमिटी सदस्य थिए । तत्कालिन नेकपा भित्रको आन्तरिक बिवादले समानन्तर कमिटी बनिरहेकोवेला नेकपा जाजरकोट संयोजकको भुमिका निर्वाह गरेका बटाला हालै सम्पन्न नेकपा एमाले जाजरकोटको पाँचौ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका छन् । लामो समयसम्म पार्टी संगठनमा रहेर काम गरेको राजनीतिक अनुभव र दुई कार्यकाल जनप्रतिनीधि भएर जिम्मेवारी पुरा गरेको सत्ताको अनुभवले आफुलाई निकै पाको बनाई सकेको बताउदै बटालाले आगामी निर्वाचनमा पार्टीले भेरी नगरपालिकाको मेयरको टिकट आफुलाई दिएमा चुनाव लड्न तयार रहेको बताएका छन् । बटाला भेरी नगरपालिका–१३ कुदुका स्थायी बासिन्दा हुन् ।

हेरम्ब बहादुर शाह, सम्पर्क नम्बरः– ९८६८०१९०१९
भेरी नगरपालिका–३ पिपलडाँडाका स्थायी बासिन्दा हेरेम्ब बहादुर शाह २०३८ सालमा महेन्द्र रत्न क्याम्पस ताहाचल, काठमाडौंमा अध्ययनरत विद्यार्थी कालदेखिनै अनेरास्ववियु (पाँचौं) को राजनीतिबाट प्रभावित भएका थिए । उक्त क्मयाम्सबाटै अनेस्ववियु (पाँचौ) को सदस्यता लिएका शाह २०४३ सालमा प्राथमिक विद्यालयको स्थायी शिक्षक भएर त्रिभुवन माध्यामिक विद्यालय खलंगामा पोष्टिङ्ग भएका थिए । २०४४ सालमा पृथ्वीनारायण क्याम्पस कास्की पोखरामा उच्च शिक्षाको अध्ययन गरेका शाहले त्यहाँ पनि अनेरास्ववियु (पाँचौं) को सदस्य भएर सक्रिय राजनीति गरेका थिए । २०४६ सालमा विज्ञान र स्वास्थ्य बिषयमा स्नातक गरेका शाह २०४६ सालमै विज्ञान विषयमा मावि स्थायी शिक्षक भई त्रिभुवन मावि खलंगामा पोष्टिङ्ग भएका थिए भने, २०४६ सालमै तत्कालिन नेकपा (माले) को संस्थापक जिल्ला कमिटी सदस्य भएका थिए । २०४७ सालमा नेकपा एमालेको जिल्ला कमिटी सदस्य भएका शाह २०४९ देखि २०५७ सालसम्म नेपाल राष्ट्रिय शिक्षक संगठन, जाजरकोट जिल्ला कमिटी अध्यक्षको जिम्मेवारी समाल्नुको साथै जिल्ला शिक्षा समिति सदस्य भएर काम गरेका थिए । २०५९ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रिय सदस्य भएका शाह २०५७ देखि २०६३ सालसम्म नेकपा एमाले जाजरकोट जिल्ला सल्लाहकार समितिको सभापतीको जिम्मेवारी समालेका थिए । २०६३ देखि २०६९ सालसम्म मावि द्धितिय श्रेणीको शिक्षकमा कार्यरत शाह २०७० देखि २०७६ साल फागुनसम्म मावि प्रथम श्रेणीको शिक्षक भएर त्रिभुवन मावि खलंगाको प्रधानाध्यापकको जिम्मेवारी पुरा गरेका थिए । २०७५ देदि २०७७ सालसम्म शिक्षक महासंघ, जाजरकोट जिल्ला अध्यक्षको भुमिका पुरा गरेका शाह २०७६ साल फागुन २ गतेदेखि शिक्षण पेशाबाट अनिवार्य अबकाश भएका थिए । २०७७ सालदेखि नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा रहेर सक्रिय राजनीति गरिरहेका शाह शिक्षण पेश र राजनीतिक पार्टी संगठनको लामो अनुभव संगाली सकेका छन् । नेकपा एमालेको तर्फबाट भेरी नगरपालिकामा पार्टीले मेयरको टिक दिएमा आफु चुनाव लड्न तयार रहेको शाहले बताएका छन् ।

नगेन्द्र शाह, सम्पर्क नम्बरः–९८५८०२२६६६
२०४६ सालको जनआन्दोलनबाट राजनितिप्रति प्रभावित भएका नगेन्द्र शाह नेकपा एमालेबाट आगामी निर्वाचनमा भेरी नगरपालिकाको मेयरका बलियो दावेदार हुन् । २०४७ सालमा नेकपा एमालेको पार्टी सदस्यता प्राप्त गरेका शाहले २०४७ मै सम्पन्न नेकपा एमाले निकट अनेरास्ववियु (एकता पाँचौं) को प्रथम जिल्ला सम्मेलनबाट जिल्ला कमिटी सदस्य निर्वाचित भएका थिए । २०४७ सालमै सम्पन्न अनेरास्ववियु (एकता पाँचौं) को १० औं राष्ट्रिय सम्मेलनको प्रतिनीधि भएका शाहले २०४८ देखि २०५० सालसम्म महेन्द्र बहुँमुखी क्याम्पस नेपालगञ्जमा अनेस्ववियुको ईकाई कमिटीमा रहेर संगठनको काम गरेका थिए । २०५२ सालमा नेकपा एमाले निकट जनसाँस्कृतिक मञ्च जाजरकोट अध्यक्ष भएका शाह २०५४ सालमा सम्पन्न अनेरास्ववियुको तेस्रो जिल्ला सम्मेलनबाट अध्यक्षमा निर्वाचित भएका थिए । २०५६ सालमा सम्पन्न भएको अनेरास्ववियु जाजरकोटको चौथो जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा निर्वाचित भएका शाह १४ औं राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषद सदस्यमा निर्वाचित भएका थिए । २०५७ सालमा सम्पन्न नेकपा एमाले जाजरकोटको जिल्ला अबिधेशनबाट जिल्ला सदस्यमा निर्वाचित भएका शाहसंग पार्टीको जिल्ला सचिवालय सदस्य, प्रचार विभाग प्रमुखको जिम्मेवारी समालिसकेको अनुभव छ । जिल्ला सदरमुकाममा भएका विभिन्न आन्दोलनहरुको नेतृत्व समाल्दै आएका शाह पार्टीको ९ औं राष्ट्रिय महाधिवेशन प्रतिनीधि भएका थिए । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको पार्टी एकीकरण पश्चात बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश कमिटी सदस्य बनेका शाहको औचारिक शिक्षा स्नातकोउत्तर रहेको छ । भेरी नगरपालिका–४ का स्थायी बासिन्दा शाहले विगत द्धन्दकालिन समयमा पार्टी संगठन निर्माणको शिलशिलामा जिल्लाका विभिन्न गाउँबस्तीहरुमा पुग्ने गरेका थिए । विचार, राजनीति र आर्थिक हिसाबले अब्बल रहेको बताउदै शाहले आगामी निर्वाचनमा नेकपा एमालेबाट भेरी नगरपालिकाको मेयरको बलियो उमेरदवार आफुनै भएको दावी गरेका छन् । आगामी निर्वाचनमा पार्टीले आफुलाई टिकट दिएमा भेरी नगरपालिकाको मेयरको चुनाव जितेरै देखाउने शाहले दावी गरेका छन् ।

विश्व विक्रम शाह, सम्पर्क नम्बरः–९८५८०८६०४६
विश्व विक्रम शाह नेकपा एमाले जाजरकोटका छोटो समयमा धेरै चर्चा बटुल्न सफल युवा नेता हुन् । २०६२÷०६३ सालको विद्यार्थी आन्दोलनबाट सक्रिय राजनीतिमा प्रवेश गरेका शाहले जन्मजात राजनीतिलाई नजिकबाट अध्ययन गर्दै आएका छन् । पूर्वआपुर्ति सहायकमन्त्री स्वर्गिय तेजविक्रम शाहका नाती र पूर्वसाँसद गोविन्द विक्रम शाहका सुपुत्र विश्व विक्रम शाहले छोटै समयमा नयाँ राजनीतिक उचाई हासिल गर्न सफल भएका छन् । नेकपा एमालेको भेरी नगर कमिटी सदस्य हुदै हालै सम्पन्न पाँचौं जिल्ला अबिधेशनमा सबैभन्दा लोकप्रिय मत प्राप्त गरेर खुल्ला जिल्ला सदस्य पदमा विजय हासिल गरेका शाह नेकपा एमाले निकट राष्ट्रिय युवा संघको केन्द्रिय स्थायी कमिटी सदस्य तथा जाजरकोट जिल्लाको ईन्चार्ज हुन् । भेरी नगरपालिका–३ का स्थायी बासिन्दा शाहको औपचारिक शिक्षा व्यवस्थापन संकायको स्नातक रहेको छ । भेरी नगरपालिकाको नेकपा एमाले पार्टीलाई एक ढिक्का बनाएर नगरपालिकाको चुनाव जित्नको लागि आफु उपयुक्त पात्र भएको बताउदै शाहले पार्टीले टिकट दिएमा आफु भेरी नगरपालिकाको चुनाव लड्न तयार रहेको बताएका छन् । शाह डाँफे युवा क्लव र जाजरकोट च्याम्बर अफ कमर्शको अध्यक्ष पनि हुन् । २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट भेरी नगरपालिका वडा नम्बर ३ को वडा अध्यक्षका प्रत्यासी शाहले युवा उद्यम र नेतृत्व विकास, सामाजिक वकालत र न्याय, नीति निर्माण र वार्ता कौशल सम्बन्धि विभिन्न विद्यामा तालिम प्राप्त गरीसकेका छन् । साथै जिल्लामा विभिन्न समयमा विपदमा परेकाहरुको उद्धार, उपचार, पुर्नस्थापना जस्ता व्यवस्थापनमा नेतृत्वदायि भुमिका निर्वाह गर्नुको साथै विभिन्न अभियानहरुमा संलग्न हुदै आएका छन् ।

प्रतिकृया दिनुहोस्