Hamro Sanchar

नेकपा एमालेबाट नलगाड नगरपालिकाको मेयरका आकाँक्षी नेताहरु

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/११/९ गते
जाजरकोट

सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसंगै जिल्लामा दिनानुदिन चुनावी माहोल तातिदै गएको छ । पार्टीका नेताहरुले पालिकाका अध्यक्ष तथा मेयरको उमेरदवारमा आकाँक्षा प्रकट गर्न थालेका छन् । उमेरदवारको आकाँक्षा प्रकट गर्नेमा नेकपा एमालेबाट नलगाड नगरपालिकाको मेयरका आँकाक्षी उमेरदवारहरु रहेका छन् । मेयरको उमेदवारमा आकाँक्षा प्रकट गर्नेहरुमा नवराज सिंह, धर्म बहादुर शाही, नवेन्द्र नेपाली, सुनिता बोहरा र धन बहादुर रावल रहेका छन् ।

नेकपा एमालेबाट नलगाड नगरपालिकाको मेयरमा दावी गरेका नेताहरुको छोटो परिचय यस प्रकार रहेको छ :–

नवराज सिंह, सम्पर्क नम्बरः–९८४८१८८१८२
नवराज सिंह नलगाड नगरपालिका–९ का स्थायी बासिन्दा हुन् । २०४८ सालको बैसाखमा नेकपा एमाले पार्टीको संगठित सदस्यता प्राप्त गरेका सिंह २०४७ सालमा रग्दा गाउँ पार्टी सक्रिय दलको सचिवको भुमिका पुरा गरेका थिए । २०४८ सालमा इलाका पार्टी सक्रिय दलको सचिवको जिम्मेवारी प्राप्त गरेका सिंह २०४९ सालमा जिल्ला कमिटी सदस्य भएका थिए । २०५१ सालमा जिल्ला कमिटीको उप–सचिवको जिम्मेवारी प्राप्त गरेका सिंह २०५३ सालमा सम्पन्न प्रथम जिल्ला अबिधेशनबाट जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका थिए भने, २०५४ सालमा जिल्ला कमिटीको उप–सचिवमा मनोनित भएका थिए । २०५६ सालमा जिल्ला कमिटी सचिवमा निर्वाचित भएका सिंह २०६६ सालमा सम्पन्न चौथो जिल्ला अधिवेशनमा जिल्ला कमिटी सचिवमा निर्वाचित भएका थिए । अखिल नेपाल किसान संघ जिल्ला अध्यक्ष, निर्वाचन क्षेत्र नं. १ को सचिव, पार्टी स्कुल विभाग र अन्य विभिन्न विभागहरुको जिम्मेवारी समाली सकेका सिंह पार्टीको आठौं र नवौं राष्ट्रिय महाधिबेशन प्रतिनीधि भएका थिए भने, २०५५ सालमा सम्पन्न स्थानीय निर्वाचनमा जिल्ला विकास समिति सदस्यमा निर्वाचित भएका थिए । आईए पास गरेका सिंह सुर्योदय मासिक पत्रिकाको प्रधान सम्पादकको जिम्मेवारी समालेका थिए । सुर्यकिरण युवाकेन्द्र अध्यक्ष, लेकबेशी सहकारी संस्थाको संस्थापक अध्यक्ष, भेरीगंगा यातायात व्यवसायी संघको अध्यक्षको जिम्मेवारी समालेका सिंहले भुमी सम्बन्धि समस्या समाधान आयोग जिल्ला अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेका थिए । नेकपा एमाले जाजरकोटको पाँचौ जिल्ला अधिवेशनमा उपाध्यक्षका प्रत्यासी सिंह जाजरकोट एमाले वृतमा विचार, राजनीति र संगठनको अनुभवले पाको नेताहरुको सुचीमा पर्दछन् । पार्टीले आफुलाई टिकट दिएमा नेकपा एमालेको तर्फबाट नलगाड नगरपालिकाको मेयर पदमा चुनाव लड्न आफु तयार रहेको सिंहले बताएका छन् ।

धर्म बहादुर शाही, सम्पर्क नम्बरः–९८४८०९०२६०
धर्म बहादुर शाही नलगाड नगरपालिका–७ का स्थायी बासिन्दा हुन् । २०५० सालमा नेकपा एमालेको संगठित सदस्यता प्राप्त गरेका शाही पार्टीको जिल्ला कमिटी सदस्य हुदै हाल कर्णाली प्रदेश कमिटी सदस्यको जिम्मेवारी समालेका छन् । मिलनसार स्वभावका शाही नेकपा एमालेका सालिन नेताको सुचीमा पर्दछन् । पार्टीले टिकट दिएमा शाही यसपालिको निर्वाचनमा नेकपा एमालेको तर्फबाट नलगाड नगरपालिकामा मेयरको चुनाव लड्न तयार रहेको बताईएको छ ।

नवेन्द्र नेपाली, सम्पर्क नम्बरः–९८५८०६८७७७
नवेन्द्र नेपाली नलगाड नगरपालिका–८ का स्थायी बासिन्दा हुन् । २०४८ सालदेखि नै सक्रिय राजनीतिमा प्रवेश गरेका नेपाली पटक–पटक नेकपा एमाले जिल्ला कमिटी सदस्यको जिम्मेवारी समाल्दै आएका थिए । हाल नेकपा एमालेको कर्णाली प्रदेश कमिटी सदस्यको जिम्मेवारी समालेका नेपाली २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट नलगाड नगरपालिकाको मेयरका प्रत्यासी हुन् । २०७४ सालको निर्वाचनमा हेल्ली सकेका नेपालीले यसपालीको निर्वाचन पार्टीले आफुलाई नै टिकट दिने र आफुनै मेयरको चुनाव लड्ने तयारीमा रहेको भनाई राखेका छन् ।

सुनिता बोहरा, सम्पर्क नम्बरः–९८६६५२७८९५
सुनिता बोहरा नलगाड नगरपालिका–३ चावलेचौरकी स्थायी बासिन्दा हुन् । उद्योग बाणिज्य संघको जिल्ला कार्यसमिति सदस्यको जिम्मेवारी समालेपछि सक्रिय राजनीति सुरु गरेकी बोहरा छोटो समयमै नेकपा एमालेमा नयाँ उचाई हासिल गर्न सफल भएकी महिला नेतृ हुन् । २०६८ सालबाट सक्रिय राजनीतिमा प्रवेश गरेकी बोहरा नेकपा एमाले निकट अखिल महिला संघको केन्द्रिय सदस्यको जिम्मेवारी समालेकी छन् । पार्टीको पाँचौं जिल्ला अधिवेशनबाट जिल्ला सचिवालय सदस्यमा निर्वाचित भएकी बोहरा २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट नगलगाड नगरपालिकाको उप–मेयरकी प्रत्यासी हुन् । यसपालिको निर्वाचनमा आफ्नो नेकपा एमालेको तर्फबाट नलगाड नगरपालिकाको मेयरमा दावी रहेको जानकारी दिदै बोहराले पार्टीले टिकट दिएसम्म नगरपालिकाको मेयरको चुनाव लड्न आफु तयार रहेको बताएकी छन् ।

धन बहादुर रावल
धन बहादुर रावल नलगाड नगरपालिका–४ का स्थायी बासिन्दा हुन् । शिक्षण पेशाबाट व्यापारी पेशामा प्रवेश गरेका रावल नेकपा (माओवादी) राजनीतिबाट सक्रिय राजनीतिमा प्रवेश गरेका हुन् । उद्योग बाणिज्य संघको जिल्ला कमिटी सदस्य भएपछि अझ बढि राजनीतिमा सक्रिय भएका रावलले राष्ट्रिय प्रजातन्त्र पार्टीको सिङ्गो जिल्ला कमिटी नेकपा एमालेमा प्रवेश गरेको अबस्थामै एमालेमा प्रवेश गरेका थिए । उद्योग बाणिज्य संघ कालिमाटी शाखाको अध्यक्ष समेत रहेका रावल नेकपा एमालेको पाँचौं जिल्ला अधिवेशनबाट भुगोल खुल्ला सदस्यमा निर्वाचित जिल्ला कमिटी सदस्य हुन् । आर्थिक हिसावले अब्बल मानिने रावल यसपालिको निर्वाचनमा पार्टीले टिकट दिएमा नलगाड नगरपालिकाको मेयरको चुनाव लड्न तयार रहेको बताईएको छ ।

प्रतिकृया दिनुहोस्