Hamro Sanchar

लघु जलविद्युत आयोजनाप्रति मन्त्री सिंहको चासो

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/११/९ गते
सुर्खेत

कर्णाली प्रदेशका १० वटै जिल्लामा रहेका लघु जलविद्युत आयोजनाप्रति जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले चासो बढाएका छन् । लामो समयसम्म निर्माण कार्य सम्पन्न हुन नसकेका साना लगानीका लघु जलविद्युत योजनाहरुप्रति मन्त्री सिंहले चासो बढाएका हुन् ।

सोमबार मन्त्रालयमा भएको एक छलफलमा मन्त्री सिंहले वैकल्पिक उर्जाप्रर्वद्धन केन्द्रलाई प्रदेशका १० वटै जिल्लाका लघु जलविद्युत आयोजनाहरुको लगत रिर्पोट मन्त्रालयमा पेश गर्न निर्देशन दिएका छन् ।

लामो समयसम्म निर्माण कार्य सम्पन्न हुन नसकेका, निर्माण भएरपनि दिगो टिकाउ हुन नसक्ने समस्या देखा परेको बताउदै मन्त्री सिंहले लघु जलविद्युत आयोजनामा देखा परेका समस्या समाधान गर्न तत्काल १० वटै जिल्लाबाट आयोजनाको लगत संकलन गर्नुपर्ने भनाई राखेका थिए ।

कर्णाली प्रदेशका सबै जिल्लामा रहेका लघु जलविद्युत आयोजनाको यथार्थ चित्रको अध्ययन गर्न आफुले उक्त निर्देशन दिएको मन्त्री सिंहले बताए । कुन जिल्लामा कति वट लघु जलविद्युत आयोजना अलपत्र परेका छन ? वा संचालन रहेका कति छन ? निर्माणाधिन अबस्थामा कति आयोजना रहेका छन भन्ने बिषमा आफुलाई जान्न मन लागेको बताउदै मन्त्री सिंहले एक हप्ता भित्र उक्त विवरण मन्त्रालयमा बुझाउन आग्रह गरेका छन् ।

सोमबार नै मन्त्रालयमा मन्त्री सिंहले जगदुल्ला जलविद्युत आयोजना बारेमा छलफल चलाएका थिए । आयोजनाका निमित्त प्रमुख सञ्जय सापकोटाले मन्त्री सिंहलाई आयोजनाको प्रगती विवरणका विषयमा जानकारी गराएका थिए । १० वटै जिल्लाका विद्युत प्राधिकरण प्रमुख र खानेपानी तथा उर्जा विकास कार्यालयका प्रमुखसँगको छलफलमा मन्त्री सिंहले भाग लिएको प्रमुख स्वकीय सचिव हेमन्त केसीले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्